भद्रकाली माविद्वारा एसईई २०८१ मा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान

रत्ननगर,१६— रत्ननगर नगरपालिका–१६ स्थित भद्रकाली माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा सफलता हासिल गरेका विद्यार्थीहरूलाई बधाई, नगद पुरस्कार र सम्मान प्रदान गर्दै विशेष कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालयले पछिल्लो समय गुणस्तरीय शिक्षा प्रदान गर्दै निरन्तर उत्कृष्ट नतिजा ल्याउँदै आएको छ। यस वर्षको एसईई परीक्षामा विद्यालयका नियमिततर्फ ७५ प्रतिशत विद्यार्थीहरू उत्तीर्ण भएका छन्। गत चैतमा सम्पन्न नगरस्तरीय BLE परीक्षामा समेत सो विद्यालय नगर प्रथम बन्न सफल भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि रत्ननगर–५ का वडाध्यक्ष एवम् सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईंले आर्थिक अभावका कारण रत्ननगरमा कोही पनि शिक्षाबाट वञ्चित हुन नपर्ने स्पष्ट पार्दै शिक्षामा राज्यले गरेको लगानीलाई प्रतिफलमा परिणत गर्न विद्यार्थी, अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापन समितिको उत्कृष्ट भूमिका रहेको बताए ।

त्यसैगरी रत्ननगर–१६ का वडाध्यक्ष हेमराज थापाले विद्यालयको शैक्षिक प्रगतिमा थप उचाइ ल्याउन सबै सरोकारवालाहरूको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै भद्रकाली माविलाई नमुना विद्यालयका रूपमा विकास गर्न वडाको तर्फबाट कुनै कसर बाँकी नराखिएको बताए । विद्यालयको भौतिक विकासको लागी संघिय सरकारले तिन करोड रुपियाँ बजेट विनियोजन गरेको उनले जानकारी दिए।

कार्यक्रममा शिक्षा अधिकृत रविना देउजा, नगर शिक्षा समिति सदस्य तथा पिठुवा सामुदायिक सिकाई केन्द्रका अध्यक्ष नेत्रप्रसाद घिमिरे, पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हरिकुमार श्रेष्ठ, एकीकृत कृषक साकोसका अध्यक्ष विष्णुप्रसाद अर्याल लगायत विशिष्ट व्यक्तित्वहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

विद्यालयका प्रधानाध्यापक चिरञ्जीवी खनालले विद्यालयले निरन्तर मेहनत गरिरहेको जनाउँदै विद्यार्थीहरूको सफलताका लागि दैनिक बिहान ६ बजेदेखि राति ९ बजेसम्म १५ घण्टा अध्यापन गराएर यो नतिजा प्राप्त गर्न सकिएको बताए। शिक्षक सुस्मिता पाण्डे भट्टले सञ्चालन गरेको कार्यक्रममा पूर्वविद्यार्थी डा. दिवाकर बोहरा तथा शतप्रतिशत उत्तीर्ण गराउन सफल विषयगत शिक्षकहरूलाई समेत सम्मान गरिएको थियो।

Previous articleरत्ननगरमा पहिलो पटक वडा स्तरको सार्वजनिक सुनुवाइ, वडा नं. १५ ले रच्यो ईतिहास
Next articleप्रधानमन्त्रीको स्पेन भ्रमण बारे भ्रामक तथा तथ्यहीन सामग्री प्रचार गरियो- परराष्ट्र मन्त्रालय
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।