एक अर्ब बढी लगानीमा एम्बासेडोर होटल

काठमाडौं । सुरुमा भाडामा लगाउन तयार पारिएको काठमाडांैको लैनचौर, लाजिम्पाटस्थित चारकोठे बंगला अहिले आकर्षक चारतारे एम्बासेडोर होटल बनेको छ । स्थापना कालदेखि अहिलेसम्म निकै आरोह÷अवरोह पार गरी निरन्तर अघि बढिरहेको यस होटलले शुक्रबार आफ्नो तेस्रो पुनरागमन तथा ४२औं स्थापना दिवस मनायो ।

विभिन्न चरणमा भत्किएर अहिले तेस्रो चरणमा गरी यस्तो आकर्षक स्वरूपमा पुनरागमन भएर ४२औं स्थापना दिवस मनाउने क्रममा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले यस होटलको आकषर्ण देख्न पाउँदा आफूलाई निकै खुसी लागेको बताए । त्यतिबेला काठमाडांैका साँघुरा सडकलाई विस्तार गरी ट्राफिक जाम अन्त्य गर्नुको साथै सहरलाई सुन्दर बनाउने आकांक्षासहित गरेको आफ्नो निर्णयले होटल एम्बासेडोरलाई नोक्सानी पु¥याए पनि अहिले पुनर्संचनापछि झन् राम्रो स्वरूपमा देख्न पाएको भन्दै उनले यस कार्यलाई ‘क्रियटिभ डिस्टक्सन’को संज्ञा दिए । उनले आफ्नो निजी लगानीमा एउटा शाक्य परिवारले गरेको पर्यटकीय पूर्वाधारको विकासबाट मुलुकले धेरै लाभ लिन सक्नुपर्ने बताए ।

एसीई होटल्सका अध्यक्ष तथा नेपाल भ्रमण वर्ष २०११ का राष्ट्रिय संयोजक योगेन्द्र शाक्यले आफ्नो यस होटल स्थापनादेखि अहिले पुनरागमनको अवस्थामा आइपुग्दासम्म भोग्नुपरेका विविध समस्याका बारेमा जानकारी गराएका थिए । एसीई होटल्सका अध्यक्ष शाक्यका अनुसार सन् १९६३ मा निर्मित चार कोठाको आवासीय बंगलामा सन् १९६१ मा बेलायती महारानी एलिजाबेथ द्वितीयको पहिलो नेपाल भ्रमणका क्रममा बेल नामक एक जना बेलायती नागरिक बसेका थिए ।

त्यतिबेला आफ्ना बुबा वसन्तबहादुर शाक्यलाई भाडामा बसेका बेलायती  नागरिकसँग कुरा गर्नुप¥यो भने निकै अप्ठ्यारो हुन्थ्यो । जसका लागि त्यतिबेला आफू सेन्ट जेभियर्स स्कुलबाट आधुनिक शिक्षा अध्ययन गर्न थालिसकेकाले बुबाले आफ्नो सहायता लिने गरेका थिए ।

काठमाडौंको लैनचौरदेखि लाजिम्पाटतर्फको मुख्य सडकसँगै जोडिएको यस होटल एम्बासेडोर सेवा उद्योगको प्रतिष्ठित नाम एसीई होटल्सद्वारा सञ्चालित चारतारे सुविधा सम्पन्न बुटिक होटल हो । अहिले यस होटलले आफ्ना पाहुनालाई राम्रो वातावरण र सम्पूर्ण सहरी सुविधा उपलब्ध गराउँदै आएको छ । हाल यस होटलमा विभिन्न दर र सुविधाले सम्पन्न ७२ वटा कोठा, दुई उपहार पसल, एक सभाहल, दुईवटा मिटिङ हल र लामरी बेकरी पसल सञ्चालित छ ।
हाल यस होटलले सञ्चालन गर्ने कोतेत्सु रेस्टुरेन्ट जापनिज खाना मन पराउने उपभोक्ता माझ निकै लोकप्रिय बनिरहेको छ । त्यक्ति मात्र होइन, अहिले यस होटलले आफ्ना पाहुनालाई काठमाडौंको बसाइमा स्वास्थ्य अझ सबल बनिरहोस् भनेर योगा तथा मुटु सुरक्षाबारे सचेतना कक्षासमेत सञ्चालन गर्दै आएको छ ।

हाल एसीई होटल्सअन्तर्गत क्लब हिमालयन र होटल एम्बासेडोर गरी दुईवटा होटल सञ्चालनमा रहेका छन् । अहिले होटल एम्बासेडोरमा मात्रै करिब सय करोड लगानी भएको सो कम्पनीले जनाएको छ ।
लगानी विस्तार गर्दै होटलले छिट्टै नयाँ हलहरू थप्ने योजना पनि बनाएको सो कम्पनीका अध्यक्ष योगन्द्र शाक्यले जानकारी दिए । यसबाहेक सीई कन्सट्रक्सनसँगको साझेदारीमा लुम्बिनी र नगरकोटमा नयाँ होटल हब सञ्चालन गर्ने समझदारीसमेत गरेको सो कम्पनीले जनाएको छ । होटल हब भनेको होटल मात्रै होइन त्यसमा अपार्टमेन्ट, सपिङ कम्प्लेक्स, मुभि स्टेसनहरू पनि समावेश गरिएका हुनेछन् ।

एम्बासेडोर होटलका संस्थापक वसन्तबहादुर शाक्यले ४२ वर्षअघि पश्चिमा शैलीको अत्याधुनिक सुविधासम्पन्न चारकोठे भवनबाट सुरुमा यस होटल सञ्चालन गरेका थिए । त्यतिबेला वसन्तबहादुर शाक्यले घर भाडामा लगाउने उद्देश्यले लैनचौरको जमिनमा पश्चिमा शैलीको चारकोठे बंगला बनाएका थिए । त्यसबेला सो बंगलामा व्यवस्थित शौचालय सहितका ठूला चारवटा कोठा थिए । इँटाको पर्खाल लगाएर घेरिएको सो बंगलामा सुन्दर बगैंचा र प्रशस्त जमिन पनि थियो ।

अत्याधुिनक सुविधासम्पन्न यस भवनमा पहिलोपटक बेल नामका बेलायती दूतावासका कर्मचारी भाडामा बसेका थिए । नेपालमा घर बनाएर छोटो समयका लागि भाडामा दिने युगको थालनी यहीँबाट भएको मानिन्छ । जसका कारण एम्बासेडोर होटलका संस्थापक वसन्तबहादुर शाक्य अहिलेको समृद्ध सेवा होटल उद्योगको पथ प्रदर्शक हुन् । बाँचेका भए अहिले वसन्तबहादुर ९२ वर्षका हुन्थे । उनले थालनी गरेको पर्यटकलाई स्वागत गर्ने विरासतको निरन्तरता छोरा योगन्द्र र नाति राहुललगायत तेस्रो पुस्तासम्म शाक्य परिवारले एसीई होटल्सको माध्यमबाट धानिरहेको छ ।

अहिलेसम्म निरन्तर लगानी विस्तार गरी अघि बढिरहेको होटल तथा सेवा उद्योगको अपार सम्भावना देखेपछि त्यतिबेला यस होटलका सञ्चालक योगेन्द्रका बुबा वसन्तबहादुर शाक्यले आफ्नो चारकोठे घरलाई १० कोठा विस्तार गरी सन् १९७८ मा एम्बासेडोर होटलका नाममा दर्ता गराएका थिए । औपचारिक रूपमा सेवामूलक उद्योगका रूपमा दर्ता भएसँगै सोही बेला मुख्य भवनको दुवैतर्फ थप संरचना पनि थप्दै लगिएको थियो । अहिले त्यही संरचनाभित्र यो आकर्षक पर्यटकीय होटल निर्माण भएको हो ।

The post एक अर्ब बढी लगानीमा एम्बासेडोर होटल appeared first on Rajdhani Daily News.

कोभिड लक्षण नदेखिए विदेशबाट आउनेले ‘होटल क्वारेन्टिन’ बस्न नपर्ने

Previous articleमुख्यमन्त्री भट्टद्वारा नारी दिवसकाे शुभकामना
Next articleपत्रकार विरेन्द्र साहका हत्यारा १२ वर्षपछि पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।