काठमाडौं । सरकारले वैशाख ३१ गतेसम्म लकडाउन लम्ब्याउने तयारी गरेको छ । पछिल्लोपटक थप गरेको लकडाउनको समयावधि सोमबार सकिँदैछ । आइतबार बस्ने मन्त्रिपरिषद् बैठकले वैशाख मसान्तसम्म लकडाउन लम्ब्याउने र कोरोना पूर्णतः नियन्त्रणमा लिन तयारी गरेको उच्चस्तरीय समन्वय समितिमा रहेका एक मन्त्रीले जानकारी दिए ।
मुख्य सचिवको नेतृत्वमा रहेको कार्यदलले सरकारलाई थप एक हप्ता लम्ब्याउन उपयुक्त हुने सुझाव दिएको थियो । एक हप्ताभित्र सङ्क्रमणको सम्पर्कमा पुगेकाहरूको पहिचान र परीक्षण (कन्ट्याक्ट ट्रेसिङ) गर्न कठिन हुने निष्कर्ष निकाल्दै लकडाउनको समयावधि लम्ब्याउने निष्कर्ष निकालिएको हो ।

“१५–१६ दिन लकडाउन लम्बिन्छ । तत्काल खोल्ने सम्भावना छैन,” एक मन्त्रीले भने । शनिबार बसको कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा हिमाली भेगमा लकडाउन खोल्ने र अन्यत्र कायमै राख्ने सुझाव आएको थियो ।
“काठमाडौं उपत्यका, जनघनत्व भएका क्षेत्रमा लकडाउन खुकुलो तुल्याउँदा प्रत्युत्पादक हुनसक्छ, परीक्षणको दायरा अझै बढाउनु पर्ने देखिएको छ । त्यसो हुँदा पहिलो चरणमा हिमाली जिल्ला खुकुलो बनाउने र थप सङ्क्रमित फेला नपरे क्रमशः पहाडी हुँदै सहरी क्षेत्रमा खुकुलो बनाउने सुझाव–प्रस्ताव आएको थियो,” उच्चस्तरीय समितिमा रहेका मन्त्रीले भनेका थिए ।

अहिले नै लकडाउन खुकुलो बनाउने सम्भावना नरहेको र बढाउनै उपयुक्त हुने निष्कर्ष निकालिएको समितिमा रहेका मन्त्रीको भनाइ छ । उच्चस्तरीय समन्वय समितिको चैत १० गते बसेको बैठकले लकडाउनको घोषणा गरेको थियो । पहिलो चरणमा चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरिएको थियो । चैत १७ गते बसेको मन्त्रिपरिषद् बैठकले समय थप गरेर चैत २५ गतेसम्म कायम राखेको थियो ।
चैत २४ गते मन्त्रिपरिषद् बैठकले पुनः आठदिन थपेर वैशाख ३ गतेसम्म लकडाउन लम्ब्याइएको थियो । पछिल्लोपटक १२ दिन थपेर वैशाख १५ गतेसम्म लकडाउन बढाइएको थियो ।सरकारले कोरोना रोकथाम, नियन्त्रणका लागि लकडाउन प्रभावकारी बनेको निचोड निकालेको छ ।


