दोस्रो माधवपुर गोल्डकपको आय–व्यय सार्वजनिक

रत्ननगर- गत जेठमा सम्पन्न दोस्रो माधवपुर गोल्डकप फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक गरिएको छ। आयोजक माधवपुर खेलकुद विकास समितिले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी वडाध्यक्ष आशिक तामाङसहित जनप्रतिनिधिहरूको रोहबरमा आर्थिक विवरण सार्वजनिक गरेको हो।

समितिका अनुसार प्रतियोगिताबाट कुल आम्दानी १३ लाख २० हजार ८३० रुपैयाँ भएको छ भने जम्मा खर्च १० लाख ९७ हजार ६९६ रुपैयाँ पुगेको छ। यसरी प्रतियोगिताबाट २ लाख २३ हजार १३४ रुपैयाँ बचत भएको समितिले जनाएको छ।

समितिका अध्यक्ष गणेश लामाका अनुसार बचत रकममध्ये १ लाख ५० हजार रुपैयाँ नगरपालिकाबाट प्राप्त हुन बाँकी रहेको छ। जेनजी आन्दोलनका कारण सो रकमको भुक्तानी हालसम्म रोकिएको जानकारी उनले दिए। उनका अनुसार प्राप्त हुने मुनाफा रकम खेलमैदानको भाडा तिर्नुका साथै खेलकुद पूर्वाधारसँग सम्बन्धित काममा खर्च गरिनेछ।

पत्रकार सम्मेलनका प्रमुख अतिथि तथा वडा अध्यक्ष आशिक तामाङले माधवपुर बिस्तारै खेलकुदको हब बन्दै गएको उल्लेख गर्दै गोल्डकप प्रतियोगिताले स्थानीय एकता सुदृढ गर्नुका साथै खेलकुद विकासमा दीर्घकालीन प्रभाव पारेको बताए। उनले आगामी दिनमा पनि यस्ता खेलकुद गतिविधि सञ्चालनका लागि वडा कार्यालयबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा वडा सदस्यहरु शिवप्रसाद तिवारी, ईमप्रसाद पन्त, सल्लाहकार सदस्यहरु लगायतको उपस्थिति थियो ।

**एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेज प्रा.लि.**को मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगिता जेठ १० गतेदेखि १८ गतेसम्म सञ्चालन भएको थियो। प्रतियोगितामा विभिन्न जिल्लाका ८ टिमको सहभागिता रहेको थियो।

Previous articleचितवनमा मिनी ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
Next articleमाधवपुरमा धार्मिक उत्सवको झल्को : राष्ट्रिय भजनमा रामजानकी बालिका आश्रम प्रथम
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।