परदेशीको कथा: ‘फलफूल टिप्ने जागिर भनेर अन’कन्टार जङ्गलमा रबरको चोप निकाल्ने काममा लगायो’
शिवकुमार साह/नवलपरासी,हाल मलेसिया- गाउँघरमा केही काम नपाएपछि मैले पनि अरु साथीभाइले जस्तै विदेश जाने सुर बनाएँ । मसँगै अरु तेह्र जना साथीहरु पनि थिए । अघिल्लो वर्ष अर्थात २०२० को फेब्रुअरी महिनामा एक जना छिमेकी गाउँकै एजेण्टलाई पैसा बुझाएर हामी मलेसिया पुग्यौं । एजेण्टलाई जनही एकलाख ३५ हजार रुपैयाँ दियौं । राम्रै काम छ, फलफूल टिप्ने हो, सजिलो छ भनेको थियो ।

सुरुमा त हामीलाई यहाँ रुखहरु का’ट्न लगायो । खेत खन्न देखि ट्वाइलेट बनाउन लगायो । एक महिनापछि रुखबाट दूध निकाल्ने काम सुरु भयो । एक वर्ष भयो हामी अनकन्टार जङ्गलमा रबरको रुखबाट चोप निकाल्ने काम गरिरहेका छौं । मलेसियाको केलान्तान भन्ने ठाउँ । आँखाको नजरले नभ्याउने ठूलो जङ्गल छ । राति दुईतीन बजे पनि जङ्गलमा जानुपर्छ । यही जङ्गलको बीचमा सानो छाप्रो छ त्यही छाप्रोमा हामीहरु बस्छौं । पानी पर्यो भने चुहिएर पुरै ओछ्यान भिजाउँछ ।

हामी यहाँ आउने वित्तकै लकडाउन भइहाल्यो । त्यसपछि हामी झनै फँ’स्यौ । यहाँ आएपछि त हामीले जे काम भने पनि गर्नै पर्ने भयो । हामीसँग पैसा पनि थिएन । काम नगरेमा खानलाई पैसा हुन्थेन । बा’ध्य भएर पनि काम गर्नुपर्यो । जसरी पनि बोटबाट दूध निकाल्नैपर्छ । पानी परेको दिन दूध निकाल्न सकिदैन तर त्यसको सट्टा हाम्रो तलबबाट पैसा का’टिन्छ ।

भनेको तलब पनि दिएको छैन । १२ सय रिंगिट भनेर पठाएको हो तर कहिल्यै पनि त्यति पैसा पाएनौं । कहिल्यै ८ सय कहिल्यै ९ सय रिंगिट दिन्छ । सुरुको महिना त मैले पाँच सय रिंगिट मात्र पाएको । यो महिना पनि पाँचसय भन्दा बढी तलब दिन्न होला जस्तो छ । पानी परेर चोप निकाल्न सकेका छैनौं । बस्न त कम्पनीले व्यवस्था गरेको छ तर खानलाई भने छैन । यहाँ बाँदरहरु कोठामा छिरेर खानेकुरा बाँकी राख्दैनन् । नजिक कुनै पसल पनि छैनन् । कहिलेकाहीँ बंगाली र पाकिस्तानी खानेकुरा बोकेर बेच्न आउँछन् तर उनीहरु नआयो भने हामीले भोकै बस्नुपर्ने हुन्छ ।

विदेशमा यतिसम्मको दुःख हुन्छ भन्ने सोचेकै थिइनँ मैले । त्यो भन्दा पहिले पनि म मलेसिया आएको थिएँ, त्यतिबेला राम्रै कमाइ भएको थियो । फेरि जाउँ भनेर यता आएको त अहिले नसोचेकै दुःख पाइयो । यहाँ हामी यसरी बस्दैनौं, घर जान्छौं, टिकट का’टिदेउ भन्दा पनि कम्पनीको मान्छेले मान्दैन । बरु जाने भए आफै का’टेर जाउ भन्यो । त्यसैले हामीले घरबाट पैसा मगाएर टिकट का’टेका छौं । जनवरी १३ तारिखको टिकट छ ।


