नारायणहिटीमा बसेर शासन गर्न मन लाग्यो त्यसैले श्रीपेच चोर्न गएँ

काठमाडौं- रुकुमका खेमबहादुर घर्ती शुक्रबार टिकट काटेर दरबारमार्गमा रहेको नारायणहिटी संग्रहालयभित्र प्रवेश गरे । संग्रहालयको द्वारबाट छिरेपछि राजदरबार हेर्दै अघि बढे । राजदरबारभित्र प्रवेश गरेपछि उनी श्रीपेच राखेको सोकेश नजिकै पुगे । सोकेशभित्र रहेको श्रीपेच राम्रोसँग हेरे । छुन खोजे तर, श्रीपेच सिसाभित्र थियो,। त्यसपछि उनको मानसपटालमा एकाएक राजा हुने सपना आउँछ ।

मुक्काले हिर्काएर श्रीपेच राख्ने सोकेस नजिकैको खुकुरी राखेको सिसा फुटाए । सिसाले हात काट्यो । रगत बग्न थाल्यो तर, उनी रोकिएनन् । त्यसपछि खुकुरीको सिसामा हिर्काएर श्रीपेचको सोकेशतिर अघि बढे । यसअघि सिसा फुटाएपनि उनले खुकुरी निकाल्न असफल भए अघि बढेर श्रीपेचको सोकेशमा प्रहार गर्न खोज्दा नेपाली सेनाका सुरक्षा अधिकारीले उनलाई नियन्त्रणमा लियो ।

काठमाडौंको म्हैपी बस्दै आएका घर्ती अहिले महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा छन् । २५ वर्षीय घर्तीले के कारणले श्रीपेच चोर्ने प्रयास गरे भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, हालसम्मको अनुसन्धानमा त्यस्तो कुनै योजनाबद्ध ढंगले घर्तीले श्रीपेच चोर्न खोजेको देखिएको छैन । प्रहरीसँग ‘म राजा बन्छु, मलाई श्रीपेच लगाउनु छ भन्ने सोचेँ’ भनेर बयान दिएका छन् ।

उनले अनुसन्धानमा खटिएका टोलीलाई श्रीपेच लगाएर नारायणहिटीमा बसेर शासन चलाउने सोच आएको बताएका छन् । हाल प्रहरीको सम्पर्कमा उनका परिवारका सदस्य पनि पुगेका छन् । परिवारले उनी मानसिक समस्या रहेको र नियमित औषधी सेवन गरिरहेको प्रहरीलाई जानकारी दिएका छन् । तैपनि, प्रहरीले अन्य कारणबारे पनि अनुसन्धान गरिरहेको छ । साथै, घर्तीविरुद्ध सार्वजनिक सम्पत्ति तोडफोड र सार्वजनिक हितविरुद्धको कसुरमा मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ ।

https://ujyaalonepalnews.com/archives/15941

Previous article१८ खर्ब साउदी रियालको लगानीमा सुरु हुँदै मेघा प्रोजेक्ट; नेपालीलाई थप रोजगारीको सम्भावना
Next articleबिदामा घर गएका विदेशी कामदार समयमै नफर्किए साउदी प्रवेशमा ३ वर्ष प्रतिबन्ध
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।