रत्ननगरमा भूमिहीन तथा विपन्न परिवारलाई बाख्राको पाठी वितरण

उज्यालो नेपाल, चैत १६- चितवनको रत्ननगर नगरपालिका वडा नं. १६ ले वडाका भूमिहीन तथा विपन्न परिवारलाई बाख्राको पाठी वितरण गरको छ । वडाको वार्षिक कार्यक्रम अन्तर्गत विपन्न २४ घरपरिवारलाई ७०% अनुदानमा पाठी वितरण गरिएको हो । बुधबार वडा कार्यालयमा आयोजित एक कार्यक्रमको विच किसानलाई वडाध्यक्ष हेमराज थापाले पाठी वितरण गरेका हुन् ।

अनुदानमा दिइएको बाख्राबाट किसानको जीवनस्तर माथि उठाउन टेवा पुग्ने विश्वास व्यक्त गर्दै वडाध्यक्ष हेमराज थापाले बाख्रापालन सजिलो पेशा भएको र राम्रो आयआर्जन गरी अरुका अघि उदाहरणीय बन्न किसानलाई आग्रह गरे । सकेसम्म धेरै कृषकलाई समेटेर जाने कोसिस आफुले गरेको भएता पनि यो पटक २४ जनालाई मात्र समेट्न सकिएको उनको भनाई छ ।


खरी जातको माउ संग १०० प्रतिशत बोयर बोका क्रस गराएर जन्मिएको पाठी किसानले पाएका छन् । वितरित पाठी २ वर्ष सम्म बेचबिखन गर्न नपाईने वडाध्यक्ष थापाले बताए । यो कुराको वडाले निरन्तर निगरानी गर्ने उनको भनाई छ ।  कुनै किसानले पाठी वेचविखन गरेको पाए वडाले कारबाही गर्ने उनले चेतावनी पनि दिए । कार्यालयले वितरित पाठीहरुको १५ हजार बराबरको विमा समेत गरिदिएको छ ।

कार्यक्रममा किसानको तर्फबाट मन्तव्य राख्दै स्थानिय कृषक शर्मिला बिकले बाख्राको पाठी संगै उन्नतजातको बाख्रापालन सम्बन्धी तालिम पनि दिन आग्रह गरिन् । कार्यक्रममा मन्तव्य राख्दै अर्का अगुवा कृषक रोहिणी बजगाईंले वडा नं. १६ कृषकको हितमा काम गर्ने रत्ननगर कै उत्कृष्ट वडा रहेको दाबी गरे । वितरित २४ वटा पाठीलाई आफ्नो खोरमा रहेको उन्नत जातको बोयर बोका नि:शुल्क लगाईदिने उनले बताए ।

वडाले विपन्न कृषकलाई गाई वितरण, स्प्रे ट्यांकी – ह्विल ब्यारो, काउ म्याट वितरण लगायतका कृषकमुखी काम गर्दै आईरहेको छ । कार्यक्रममा एमाले वडा कमिटि अध्यक्ष बाबुराम श्रेष्ठ, माओवादी केन्द्र अध्यक्ष राम प्रसाद रिमाल, भद्रकाली दुग्ध सहकारीका अध्यक्ष युवराज थापा लगायतको उपस्थिति रहेको थियो ।

https://ujyaalonepalnews.com/archives/18219

Previous articleटोखा–११ को प्रशासनिक भवन उद्घाटन
Next articleनेपालद्वारा मलेसिया पराजित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।