वीरेन्द्रनगरमा तालमेल गर्ने सत्तारुढ गठबन्धनको निर्णय

सुर्खेत- सत्तासाझेदार दलले प्रदेश राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडामा चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।

नेपाली कांगे्रसका नगर सभापति उपेन्द्र खड्काका अध्यक्षतामा बसेको नगरस्तरीय संयन्त्रको बैठकले आसन्न स्थानीय तह निर्वाचनमा साझेदार दलबीच तालमेल गरेर जाने निर्णय गरेको हो ।

बैठकले पाँच दलको केन्द्र, प्रदेश र जिल्लाको निर्देशन अनुसार स्थानीयस्तरमा गठबन्धनको मर्म तथा भावना अनुसार व्यवहार गर्ने निर्णय गरेको छ ।

कांग्रेस नगर सभापति खड्काले पार्टीका नगर कमिटीका प्रमुखहरु सम्मिलित संयन्त्र निर्माण गरी नियमित बैठक बस्ने, आवश्यकताका आधारमा अन्य प्रतिनिधिलाई संयन्त्रमा बोलाउने निर्णय गरिएको जानकारी दिनुभयो ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का नगर अध्यक्ष रत्न गाहा, नेकपा (एकिकृत समाजवादी) का लोकप्रसाद चालिसे, राष्ट्रिय जनमोर्चाका विष्णु शर्मा र जनता समाजवादी पार्टीका फत्तेबहादुर सोती मगर सहभागी हुनुहुन्थ्यो ।

यसअघि सुर्खेतस्थित ती दलहरुको बैठकले निर्वाचनमा जिल्लाका नौ वटै पालिकामा उम्मेदवारीमा तालमेल गर्ने र पालिकास्तरीय संयन्त्रलाई क्रियाशिल बनाउने लगायतका निर्णय गरेको थियो ।-

https://ujyaalonepalnews.com/archives/18700

Previous articleपाल्पाको रामपुरमा जीप दुर्घटना, चार जना घाइते
Next articleकारले ठक्कर दिँदा तीन पैदलयात्रीको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।