प्रेस काउन्सिल अध्यक्ष भन्नुहुन्छ- ‘चुनावका बेला फेक न्यूजको कारखानै खुल्न सक्छ, सचेत हुनुहोस्’

काठमाडौं- प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले चुनावका बेला फेक न्यूजको कारखाना नै चल्न सक्ने खतरा औंल्याउँदै समाचार छाप्नु अघि सचेत रहन सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभएको छ ।

विभिन्न सञ्चार संस्था भन्दै स्वदेश एवं विदेशतिरबाट त्यस्ता प्रायोजित समाचार बन्न सक्ने भन्दै नेपाली मिडियाले साभार गर्दा विशेष ख्याल पुर्याउनुपर्ने उहाँको सुझाव थियो ।

निर्वाचन आयोगले प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघको सहकार्यमा मंगलबार आयोजना गरेको सञ्चारकर्मीहरुको एक दिने अभिमुखिकरण कार्यक्रममा बोल्दै काउन्सिल अध्यक्ष बस्नेतले मिथ्या सूचना (फेक न्यूज), दुस्प्रचार र गलत समाचार दिनबाट जोगिनुपर्ने बताउनुभयो ।

चुनावका बेला दिग्भ्रमित बनाउनका लागि फेक न्यूजका कारखाना खुल्न सक्छन् । कुनै समाचार संस्थाको नामबाट त्यो आउन सक्ला । हामीले हतारिएर त्यसलाई कभरेज गर्नतिर नलागौं । आफैले स्वतन्त्र पुष्टि गरौं, बस्नेतले सञ्चारकर्मीहरुलाई सुझाव दिनुभयो ।

उहाँले विश्वसनीयताकै कारण पत्रकारिता जगत बलियो हुने भएकाले त्यसलाई जोगाउन सञ्चारकर्मी स्वयं जुट्न आग्रह गर्नुभएको थियो ।

आयोगले चुनावका क्रममा मिडियाको आचारसंहिताबारे अनुगमनको जिम्मेवारी काउन्सिललाई दिएको छ । काउन्सिलले रेडिया, टिभी, छापा, अनलाइन र सामाजिक सञ्जालको अनुगमनको काम वैशाख १ गतेदेखि नै सुरु गरिसकेको जानकारी दिँदै आचारसंहिता उल्लंघन गरेको पाइए तत्काल कारवाही हुने समेत उहाँले बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/19041

Previous articleवीरगंज नाकाबाट ९ महिनामा ६६ अर्ब ५२ करोडको नेपाली उत्पादन भारत निर्यात
Next articleनेप्सेमा हरियाली, नेष्डोको शेयरमा लगातार सर्किट
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।