मेयर रेनु दाहालको चुनावी प्रचार गीत सार्वजनिक (भिडियो)

चितवन, ६ वैशाख । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको चुनावी प्रचार गीत सार्वजनिक भएको छ । सत्तागठबन्धनको मंगलबार बसेको बैठकबाट भरतपुरको मेयर माओवादी केन्द्रलाई दिने सहमति भएसंगै दाहालको चुनावी प्रचार गीत सार्वजनिक भएको हो । माओवादीबाट दाहाल निर्विकल्प पुनः भरतपुरको मेयर उम्मेद्वार हुन् ।

गीतमा मेयर दाहालको अग्रसरतामा भएका विकास निर्माणको कामको चर्चा गरिएको छ । भरतपुरमा चुनाव लड्न आउँदा नयाँ भएपनि छोटो समयमा मेयर दाहालले भरतपुरमा विकास निर्माणलाई तिव्रता दिएको उल्लेख छ । विशेषगरि हिल्लामे सडकबाट बनेका चिल्ला सडक, निर्माणाधीन सिटी हल, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, ६ लेन सडक खण्डलाई गीतमा उतारिएको छ ।

यस गीतको भिडियो नारायणी नदी, प्रचण्ड टोल, क्रिकेट रंगशालालगायत स्थानमा छायाँकन गरिएको हो । भिडियोमा स्वंम मेयर दाहाललाई देख्न सकिन्छ भने विजय पुन, उत्सव अधिकारी, सुनिता तिमिल्सिना, सपना शिवाकोटीलगायतको अभिनय छ । भिडियोलाई रविन्द्र बरालले छायाँकन गरेका हुन् भने चितवनका पत्रकार रवि अधिकारीले निर्देशन गरेका छन् । नृत्य निर्देशक रविन शाह हुन् भने भिडियोलाई विष्णु सेवाले सम्पादन गरेका छन् ।

सन्तोष देउजाको शब्द रहेको यस गीतमा विष्णु खत्री र टिका पुनले स्वर दिएका छन् । गीतमा प्रदिप त्रिपाठीले संगीत भरेका छन् ।

https://ujyaalonepalnews.com/archives/19046

Previous articleमेलम्चीको पानी वितरणको तयारी गर्न मन्त्री चौधरीको निर्देशन
Next articleसाउदी बस्ने नेपालीलाई दुताबासको सुचना, पैसा पठाउँदा प्रलोभनमा नपर्न आग्रह
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।