संविधान बचाउन गठबन्धन : श्रममन्त्री श्रेष्ठ

 

तनहुँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संविधान र लोकतन्त्र बचाउनका लागि गठबन्धन गरिएको बताउनुभएको छ । तनहुँको भिमाद नगरपालिका–२ मा सत्ता गठबन्धनले शुक्रबार राति आयोजना गरेको सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले लोकतन्त्र र संविधान रक्षाका लागि सदैव लड्दै आएका दलहरू गठबन्धन गरेर चुनावमा गएकाले गठबन्धनप्रति प्रतिबद्ध रहन आग्रह गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री श्रेष्ठले आफूहरूलाई कमजोर नठान्न आग्रह गर्दै भन्नुभयो, “हामी गठबन्धनप्रति प्रतिबद्ध छौँ, तर हामीलाई कमजोर ठानिएको छ”, मन्त्री श्रेष्ठले समृद्ध भिमाद नगरपालिका निर्माणका लागि गठबन्धनका उम्मेदवारहरूले जित्नुपर्ने धारणा राख्नुभयो ।

नेपाली कांग्रेसका जिल्ला सभापति जितप्रकाश आलेले गठबन्धनप्रति इमान्दार हुन आग्रह गर्नुभयो । कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष शङ्करनारायण श्रेष्ठ, नेपाली कांग्रेसका उपसभापति देवकुमार श्रेष्ठलगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा गठबन्धनका तर्फबाट भिमाद नगरपालिकाका काजीमान श्रेष्ठले जनताका हरेक समस्या समाधानका लागि पूर्ण ऊर्जाका साथ लागिपर्ने बताउनुभयो । प्रमुखमा निर्वाचित भएको खण्डमा सामाजिक विकास निर्माणको हकमा स्वास्थ्य, शिक्षा, खेलकुद, खानेपानी, मोटरमार्गलगायतका कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेर कार्ययोजना बनाउने श्रेष्ठले बताउनुभयो ।

उपप्रमुखका उम्मेदवार मिलन आलेले जनता कोष कार्यक्रमअन्तर्गत ‘मेरो एक रुपैयाँ’ कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । यस कार्यक्रमका लागि नगरका सबै नागरिकले स्वेच्छाले दिनको एक रुपैयाँ’ दान गर्न सक्ने बताउँदै आलेले उक्त रकम योगदान गर्ने नागरिककै शिक्षा र स्वास्थ्यमा लगानी गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । भिमाद नगरपालिकामा एकीकृत समाजवादीका तर्फबाट प्रमुख र नेपाली कांग्रेसका तर्फबाट उपप्रमुखको उम्मेदवार हुनुहुन्छ ।

https://ujyaalonepalnews.com/archives/19836

Previous articleरत्ननगर ७ मा एमालेको घरदैलो कार्यक्रम, उम्मेदवारलाई भव्य स्वागत
Next articleप्रधानमन्त्री देउवालगायत गठबन्धनका शीर्षनेता जनकपुरधाम आउँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।