सुर्खेत प्रशासनद्वारा पेट्रोल पम्पको अनुगमन सुरु

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगर स्थित पेट्रोल पम्पहरूको अनुगमन सुरु गरेको छ ।

प्रशासनले निर्वाचन ताका हुन सक्ने कालोबजारी र कृत्रिम अभावसँगै भवितव्य परेका बेला आवश्यक पर्ने इन्धनको भण्डारण गर्ने लगायतका उद्देश्यले अनुगमन सुरु गरिएको जनाएको छ ।

अनुगमका क्रममा आसन्न स्थानीय तहको निर्वाचन लक्षित दल तथा उम्मेदवारहरूबाट प्रचारप्रसारमा पेट्रोलियम पदार्थको खपत ह्वातै बढेपछि माग दोब्बरले बढेको पाइएको छ ।

केही पेट्रोल पम्पहरूले न्यून मात्रामा इन्धनको भण्डारण गरेर राखे पनि धेरैजसोले माग र आपूर्तिको सन्तुलन नै मिलाउन नसकेको पाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सूर्य थापाले बताउनुभयो ।

उहाँले आसन्न निर्वाचनमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन सहज आपूर्तिसँगै वितरण प्रक्रियालाई चुस्त दुरुस्त राख्न जिल्ला प्रशासन कार्यालयबाट नेपाल आयल निगम प्रादेशिक कार्यालय सुर्खेतलाई निर्देशन भइसकेको जानकारी दिनुभयो ।

नेपाल आयल निगम कर्णाली प्रादेशिक कार्यालयका प्रतिनिधि हस्त भारतीले सार्वजनिक बिदा परेका बेला माग र आपूर्तिको सन्तुलनमा असहजता देखिएको भए पनि अहिले सहज बनाइएको जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचनलाई लक्षित गरी आयल निगमले इन्धन आपूर्ति तथा वितरण प्रक्रियालाई सहज र सरल बनाइरहेको छ ।

राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतले निर्वाचनमा हुन सक्ने कालोबजारी र कृत्रिम अभाव रोक्न प्रशासनलाई विशेष निगरानी राख्न आग्रह गरेको छ ।

https://ujyaalonepalnews.com/archives/19847

Previous articleगफ हैन काम गरेर जनताको मन जित्छु : मेयर उम्मेदवार दुवाडी
Next articleमतपत्रमा कालो, रातो, नीलो वा हरियो मसीको कलमले हस्ताक्षर गर्न सकिने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।