वीरेन्द्र–ऐश्वर्य उद्यान अन्तिम चरणमा

बागलुङ। बागलुङ बजारभित्र अवस्थित वीरेन्द्र–ऐश्वर्य उद्यान पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । अहिले उद्यानमा फूलका विरुवा र दुबो रोप्ने, ढुङ्गा छाप्ने र विद्युतीकरणको काम भइरहेको छ ।

लामो समयदेखि अस्तव्यस्त बनेको उद्यानलाई नयाँ र आधुनिक शैलीमा पानीको फोहोरासहित पुनःनिर्माण थालिएको थियो । उद्यान पुनःनिर्माणको अहिले ६६ प्रतिशत काम पूरा भइसकेको छ भने एक महिना ठेक्का म्याद थपेर बाँकी काम सम्पन्नपश्चात नगरपालिकाले लिने गरी काम भइरहेको बागलुङ नगरपालिकाका इञ्जीनियर सोविन घर्तीले जानकारी दिनुभयो । “पूर्वाधार निर्माणको काम सबै सकिएको छ, अहिले विद्युतीकरण, फूल रोप्ने, दुबो लगाउने तयारीमा छौँ”, उहाँले भन्नुभयो, “असार मसान्तसम्म सबै काम सकिनेछ, उद्यान निकै पृथक र आधुनिक शैलीमा निर्माण भएको छ, बागलुङ आएका पर्यटकलाई समेत यसले आकर्षण गर्ने छ ।”

स्थानीय सुमन रानाले भन्नुभयो “बागलुङ बजारमा एकैछिन विश्राम गराँै भन्ने कुनै ठाउँ थिएन, उद्यान कुरुप बनेपछि झनै समस्या थियो, यो कोलाहल बिर्साउने ठाउँका रुपमा विकास भएको छ”, उहाँले भन्नुभयो । नगरपालिकाले एए कन्स्ट्रक्शनसँग रु ८४ लाखमा चार महिनामा उद्यान पुनःनिर्माण गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो । गत वैशाख ३ गतेसम्म सक्नुपर्ने उद्यान अहिले असारसम्म म्याद थपेर काम सक्ने निर्माण कम्पनीको तयारी छ ।

तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यको सालिकसहित उद्यानको सौन्दर्यकरण तथा स्थापना गरिएको थियो । विसं २०६२÷६३ को जनआन्दोलनको क्रममा उद्यानभित्रका वीरेन्द्र–ऐश्वर्यको सालिक फुटाइएपछि उद्यान क्रमशः कुरुप हुँदै आएको थियो ।

उद्यानको मुख्य भागमा पानीको फोहोरा र विद्युतीकरण हुनेछ भने पदमार्गमा ताराखोलाको स्लेटढुङ्गा छापिएको छ । उद्यान वरपर विभिन्न फूल र बिरुवा रोपिने छ । उद्यान पुनःनिर्माण अन्तिम चरणमा पुगेपछि बागलुङ बजारवासी खुसी भएका छन् ।

https://ujyaalonepalnews.com/archives/20924

Previous articleमहानगरको फोहर व्यवस्थापनका लागि प्रमुख शाहको संयोजकत्वमा कार्यदल
Next articleश्रीमानले मलद्वारमा लौरो घुसाएर क्रूर यातना पाएकी महिलाको चारदिन पछि मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।