विराटनगर । प्रदेश न १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोले जनताको प्राथमिकतामा पर्ने योजना सम्बोधन हुने गरी आगामी आर्थिक वर्षको बजेट आउने बताउनुभएको छ ।
संसदीय पत्रकार मञ्च प्रदेश न १ ले विराटनगर आयोजना गरेको बजेट तर्जुमा सम्बन्धी सञ्चारकर्मीसँग अन्तरक्रियामा उहाँले प्रदेश सरकारले आफ्नो क्षेत्राधिकार भित्र रहेर जनतालाई प्रत्यक्ष फाइदा पुग्ने योजनामा केन्द्रित रही आगामी बजेट ल्याउने प्रस्ट पार्नुभयो ।

सङ्घीय सरकारले लगानी गर्ने ठूल्ठूला योजनामा प्रदेश सरकारले बजेट छुट्ट्याउँदा धेरै बजेट खर्च हुने र त्यसको प्रभाव पनि नदेखिने भएकाले आगामी बजेटमा त्यस्तो नहुने उहाँले बताउनुभयो ।
शिक्षा, स्वास्थ्य, पर्यटन तथा कृषि उत्पादन बढाउने र आयात प्रतिस्थापन बजारीकरण तथा प्रशोधन साथै उत्पादनमा आधारित अनुदान कार्यक्रम बजेटमा समेटिने उहाँले बताउनुभयो ।
मन्त्री आङ्बोले करको दायरा बढाउन तोकिएका सबै क्षेत्रलाई प्रदेश सरकारले करको दायरामा ल्याउने बताउनुभयो । यसले प्रदेशको राजश्व बढ्ने र बजेट कार्यान्वयनमा सहज हुने उहाँको भनाई छ ।
मन्त्रालयका सचिव सुमन दाहालले चालु आर्थिक वर्ष भन्दा आगामी वर्षको बजेट १० देखी १२ प्रतिशतले वृद्धि हुन सक्ने बताउनुभयो
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश न १ का अध्यक्ष लिलावल्लभ घिमिरे, संसदीय पत्रकार मञ्चका अध्यक्ष गणेश लम्साल तथा आर्थिक पत्रकार मञ्च सेजनका अध्यक्ष जर्नादन बरालले बजेट कार्यान्वयनमा जोड दिनुभएको थियो ।
कार्यक्रममा सहभागी पत्रकारहरूले बजेटका विषयमा विभिन्न सुझाव दिनुभएको थियो ।
https://ujyaalonepalnews.com/archives/21276


