विज्ञापन बजारलाई व्यवस्थित गर्नु जरुरी छ: मुख्यमन्त्री पोखरेल

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले हालको विज्ञापन बजारलाई व्यवस्थित गर्नु जरुरी रहेको बताउनुभएको छ ।

file photo

विज्ञापन बोर्ड नेपालले आज पोखरामा आयोजना गरेको विज्ञापन आचारसंहिता एवं विज्ञापन राष्ट्रिय नीतिसम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले विज्ञापनबिना सञ्चार क्षेत्र अघि बढ्न नसक्ने भएकाले आवश्यक कानुन बनाएर विज्ञापन बजारलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले प्रदेशभित्रका सञ्चार माध्यमहरूलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराएर सहकार्यको प्रयत्न गरेको बताउनुभयो । सञ्चार, विज्ञापन क्षेत्र र विज्ञापन बोर्डका बिचमा त्रिकोणात्मक सम्बन्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।

प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्थले गण्डकी प्रदेशमा विज्ञापन क्षेत्रको नियमनका लागि आवश्यक कानुन निर्माण गरिने बताउनुभयो ।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले सरकार विज्ञापनदाता र नियमनकारी दुवै निकाय रहेको बताउँदै संविधानले सङ्घ, प्रदेश र स्थानीय सरकारले विज्ञापन कानुन बनाउन सक्ने व्यवस्था गरेको उल्लेख गर्नुभयो । उहाँले स्थानीय स्तरको विज्ञापन स्थानीय सञ्चार माध्यममा नै प्रकाशन/प्रसारणको व्यवस्था सरकारी निकायलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा विज्ञापन नियमन गर्ने ऐन, विज्ञापन आचारसंहिता, होर्डिङ बोर्ड र त्यसको नियमन तथा अनुगमन र विज्ञापनको राष्ट्रिय नीतिमा समावेश गरिनुपर्ने विषय लगायतबारे छलफल भएको थियो ।
रासस

https://ujyaalonepalnews.com/archives/21288

Previous articleबर्दियामा गोली लागेर एक जनाको मृत्यु
Next article४९ प्रतिशत शेयर सर्वसाधरणलाई दिनुपर्ने माग
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।