सुदूरपश्चिमका सात जिल्ला सञ्चारविहीन

Click Image

बैतडी। बैतडीसहित सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला सञ्चारविहीन भएका छन् । अत्तरिया–डडेल्धुरामा रहेको अप्टिकल फाइबरमा समस्या आएकाले मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द भएको नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाले जानकारी दिनुभयो ।

सुदूर पहाडका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम र बाजुरा सञ्चारविहीन भएको टमाटाको भनाइ छ । मङ्गलबार दिउँसो २ बजेदेखि अवरुद्ध रहेको टेलिकमको सेवा अझै सञ्चालन हुनसकेको छैन । मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द हुँदा समस्या भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “इन्टरनेट नहुँदा प्रशासनको सेवा दिन सकिएन, राष्ट्रिय परिचय विवरण सङ्कलन, नागरिकता विवरणलगायतका काम प्रभावित भयो, सञ्चारविहीन हुनुपरेको छ, निकै समस्या भएको छ ।” सञ्चारसेवा अवरुद्ध भएपछि यहाँका अन्य सरकारी तथा गैरसरकारी सङ्घसस्था, सञ्चारमाध्यम, वित्तीय कारोबार गर्ने सहकारी तथा बैंक र स्थानीय तहको सेवा प्रवाहमा समस्या आएको छ ।

अवरुद्ध सञ्चार सेवा सञ्चालनका लागि धनगढीबाट प्राविधिकको टोली खटिएको नेपाल टेलिकम बैतडीका प्रमुख टमटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अप्टिकल फाइबारमा देखिएको समस्या समाधानका लागि प्राविधिक टोली खटिएको जानकारी प्राप्त भएको छ । छिट्टै समस्या समाधान हुन्छ ।”

https://ujyaalonepalnews.com/archives/21325

Previous articleकिसानको दुखेसो : समयमा कहिल्यै बाली लगाउन पाइएन
Next articleभरतपुर महानगर कार्यपालिकामा काङ्ग्रेसको बहुमत
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।