सुर्खेत । कर्णालीमा इन्धन भण्डारण नहुँदा प्रायजसो पेट्रोल, डिजेलको अभाव हुँदै आएको छ । भण्डारण नहुँदा लुम्बिनी प्रदेशको नेपालगञ्ज डिपोबाट ट्याङ्कर मार्फत सीधै पेट्रोल पम्पमा इन्धन डाइभर्ट गर्नुपर्ने बाध्यताले अभाव हुँदै आएको हो ।

आपतकालीन अवस्थामा समेत अर्को प्रदेशको डिपोबाट इन्धन लिनुपर्ने बाध्यता अहिले पनि कर्णालीमा कायम छ । सातमध्ये कर्णाली प्रदेशमा भण्डारण गृह (डिपो) छैन । सरकारले सङ्घीय संरचना अनुसार सातै प्रदेशमा इन्धन भण्डारण क्षमता विस्तार गर्ने योजना ल्याए पनि कर्णालीमा लागु हुन सकेको छैन ।
निगमले मुलुकका अन्य प्रदेशमा इन्धन भण्डार बनाए पनि कर्णालीमा नबनाउँदा यस क्षेत्रका व्यवसायी र उपभोक्ता मर्कामा परेका छन् । नेपाल आयल निगमले बजेट अभावका कारण कर्णालीमा इन्धन भण्डारण क्षमता विस्तार योजना अधुरो भएको जनाएको छ । निगमका सुर्खेत स्थित प्रादेशिक कार्यालयका प्रमुख राजकुमार केसीले कर्णालीमा इन्धन भण्डारण गृह निर्माण कार्यका लागि बजेट अभाव भएपछि काम रोकिएको बताउनुभयो ।

उहाँले प्रदेशमा खपत हुने इन्धनको उपलब्धता र वितरणको व्यवस्था मिलाउन डिपो निर्माण गरी क्षमता विस्तार गर्न लागिएको भए पनि हाल बजेट अभावले अघि बढ्न नसकेको जनाउनुभयो । उहाँका अनुसार रकम अभावले सुर्खेतमा निर्माण गरिने भनिएको इन्धन भण्डारण गृह निर्माण कार्य अलपत्र परेको छ ।
कर्णालीमा पेट्रोल, डिजेलको भण्डारण नहुँदा उपभोक्ता लिटरमा १०/१५ रुपैयाँ बढी तिर्न बाध्य छन् । कालिकोटमा मस्तमाण्डु पेट्रोल पम्प सञ्चालन गरिरहेका हस्तबहादुर बमले नेपालगन्जबाट पेट्रोलियम पदार्थ लगेर बिक्री गर्नुहुन्छ । प्रदेशमा नेपाल आयल निगमको इन्धन भण्डार नहुँदा उहाँले निगमको नेपालगन्ज डिपोबाट डिजेल, पेट्रोल ढुवानी गर्दे आइरहनुभएको छ ।

अढाई सय किलोमिटर टाढाबाट इन्धन ढुवानी गर्नुपर्दा व्यवसायीलाई झन्झट छ भने उपभोक्तालाई महँगोमा पेट्रोलियम पदार्थ किन्नुपर्ने बाध्यता छ । ‘ढुवानी खर्च धेरै लागेकाले महँगो भएको हो,’ बमले भन्नुभयो, ‘कर्णालीमा इन्धन भण्डार नहुँदा अर्को प्रदेशबाट ढुवानी गरेर ल्याइएकाले इन्धन महँगो हुन पुगेको हो ।’
कालिकोटको जस्तो समस्या प्रदेशका अन्य जिल्लामा समेत छ । निगमको प्रादेशिक कार्यालय सुर्खेतमा भए पनि भण्डारण स्थल सहितको डिपो नहुँदा समस्या हुने गर्दछ । सुर्खेत डिपोले ट्याङ्कर ल्याएर सीधै डाइभर्ट गरेर पम्प सञ्चालकलाई दिए पनि कतिपयले नेपालगन्जबाट किन्ने गरेका छन् ।

विकासमा पछि परेको कर्णालीमा सडक निर्माण भएसँगै सवारी साधनको चाप र इन्धनको माग दिनप्रतिदिन बढ्दो छ । कुनै प्राकृतिक प्रकोप, तथा अन्य कारणले ढुवानीमा समस्या आउने बित्तिकै भण्डारण अभावमा ठूलो समस्या बेहोर्नुपर्ने अवस्था रहेको निगमका सुर्खेतस्थित कार्यालय प्रमुख केसीले बताउनुभयो । मौज्दात राख्ने भण्डारण अभावमा नेपालगन्जबाट एक दिन ढुवानी नहुँदा प्रदेशमा इन्धन अभाव हुने गरेको उहाँको भनाइ छ ।
सुर्खेतमा मट्टितेल ४५ हजार लिटर र हवाई इन्धन ६० हजार लिटरको भण्डारण क्षमता रहे पनि धेरै खपत हुने डिजेल र पेट्रोलको भण्डारण स्थल छैन । कर्णालीमा पेट्रोल दैनिक ५० हजार र डिजेल सवा लाख लिटर खपत हुने गरेको छ ।
https://ujyaalonepalnews.com/archives/21588


