कोशीका विपन्नलाई बाख्रा र बङ्गुर वितरण

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–१ र ५ नम्बर वडाका विपन्न ४७ परिवारलाई निःशुल्क बाख्रा र बङ्गुर वितरण गरिएको छ ।

कोशी गाउँपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत बाख्रा र बङ्गुर वितरण गरिएको जनाएको छ ।

गरिबी निवारण गर्नका लागि दुई वडाका विपन्न एवं दलित परिवारलाई बाख्रा र बङ्गुर वितरण गरिएको गाउँपालिका सामाजिक शाखा प्रमुख राजकिशोर मेहताले जानकारी दिनुभयो ।

मेहताका अनुसार प्रत्येक परिवारलाई एक–एक वटा माउ बाख्रा तथा २२ वटा र बङ्गुरको पाठी २५ वटा गरी ४७ वटा बङ्गुर र बाख्रा वितरण गरिएको छ । बाख्रा पाउनेमा १ र ५ नम्बर वडाभित्रका सदा र डुम समुदायका ४७ घर परिवार रहेका छन् ।

बाख्रा वितरण गर्दा अति विपन्न दलित एवं त्यसमा पनि एकल महिलालाई प्राथमिकता दिइएको मेहताले बताउनुभयो ।

बाख्रा र बङ्गुर वितरण गर्नुअघि कृषकहरूलाई बाख्रा र बङ्गुर पालनसम्बन्धी अभिमुखीकरण समेत गरिएको पशु शाखाले जानकारी दिएको छ ।

यसअघि कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले कोशी गाउँपालिकामा पशु पालन र कृषिका लागि राम्रो सम्भावना भएको बताउँदै पालिकाले कृषि र पशुपालनका कार्यक्रमलाई प्राथमिकता दिएको बताउनुभएको थियो ।

https://ujyaalonepalnews.com/archives/21756

Previous articleडडेल्धुरामा पानी नपर्दा धान रोपाइँ गर्न समस्या
Next articleजिप दुर्घटनामा २ जनाको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।