पर्वत । पर्वत जिल्लाका विभिन्न ग्रामीण सडक निर्माणका लागि करोडौँका ठेक्का स्वीकृत भएर पनि काम भने अलपत्र परेका छन् । ग्रामीण बस्ती जोड्ने सङ्घ र प्रदेश सरकारअन्तर्गत निर्माण प्रक्रियामा गएका सडक अलपत्र हुँदा सर्वसाधारणले सास्ती भोग्न बाध्य छन् ।
गत मङ्सिरमै सक्ने गरी १० किलोमिटर दुरीको जलजला गाउँपालिकास्थित मिलनचोक–धाइरिङ सडक (२६ करोड) को ठेक्का लाग्यो । हिन्दु एन्ड थोकर जेभिले ठेक्का लिएको सडक कोभिडका कारण समयमै काम सम्पन्न हुन नसक्ने भएपछि पूर्वाधार विकास कार्यालय पर्वतले एक वर्ष म्याद थप्यो । आगामी मङ्सिरमा सडक सम्पन्न हुनुपर्नेछ ।

तर, सडक कालोपत्रे त परको कुरा, काम सुरुसम्म पनि भएको छैन । कुस्मा नगरपालिका र फलेबास नगरपालिका जोड्ने दोबिल्ला फलेबास (१० किमी) सडकको निर्माण समय पनि आउँदो असोजमा सकिँदै छ । उक्त सडकका लागि २३ करोडको ठेक्का छ । फेवा प्यासिफिक जेभिले पाएको उक्त सडकको काम पनि उस्तै छ ।
सडकको केही भाग कालोपत्रे भएपछि ठेकेदार कम्पनी सम्पर्कविहीन छ । त्यति मात्रै होइन, जिल्लाका सबैजसो गौरवका सडक आयोजना, ससाना उपभोक्ता समितिमार्फत हुने सडक आयोजनाका कामसमेत अलपत्र छन् । उपभोक्ता समितिमार्फत हुने ससाना आयोजनाका काम समेत चालु आर्थिक वर्षभित्र सम्पन्न हुने सङ्केत छैन । ओमबुद्ध निर्माण कम्पनीले ठेक्का पाएको लुङ्खु–मिलनचोक–बालाकोट ५ किमी सडकको हालत पनि उस्तै छ । हिउँदका समयमा केही थान ग्याभिन जाली भर्ने र नाली बनाउने काम गर्दागर्दै रोकिएको काम अहिलेसम्म नियमित हुन सकेको छैन । ११ करोड लागतमा कालोपत्रे सुरु गरिएको उक्त काम आगामी मङ्सिरमा सकिनुपर्छ ।
कार्यालयका अनुसार उक्त सडकको काम हालसम्म ५० प्रतिशत पनि भएको छैन । चिसापानी–हुवास–पोखराचौर–खहरेखोला (दोस्रो खण्ड) ८ किलोमिटर सडकको काम ३० प्रतिशत मात्रै भएको छ । ओमबुद्ध कमलजित जेभीले ठेक्का पाएको १६ करोड लागतको उक्त सडकको कालोपत्रे आउँदो असारमा सक्नुपर्ने हो । तर, हालसम्म उक्त सडकको भौतिक प्रगति ३० प्रतिशत मात्रै भएको छ । ठेक्का सम्झौता भएर पनि समयमै काम नगर्ने ठेकेदार कम्पनीलाई नियामक निकायले कारबाही गर्नुको सट्टा मिति थपेर प्रोत्साहन गर्ने गरेको सर्वसाधारणको आरोप छ ।
https://ujyaalonepalnews.com/archives/21814


