नागरिकता नहुँदा ८८ वर्षीया वृद्धा सामाजिक सुरक्षाभत्ताबाट बञ्चित

दार्चुला- जिल्लाको अपीहिमाल गाउँपालिका-६ राङ्पाङ बस्ने ८८ वर्षीया बिन्द्रा धामीसँग नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट बञ्चित हुनुपरेको छ ।

पाको उमेर भइसकेकी धामी न कान सुन्नु हुन्छ, न आँखा देख्नु हुन्छ । शारीरिक रुपमा अशक्त भएपनि उनीसँग नागरिकता नहुँदा अपाङ्गता परिचयपत्र पनि छैन ।

वृद्धावस्थामा छोराहरुको साथ नपाएकी धामी अहिले नाति-बुहारीको घरमा जीन्दगीका बाँकी दिन कटाइरहेकी छिन् । छोरा तथा आफन्तहरुले नागरिकता बनाउन पहल नगरेपछि बुढेसकालको सहारा बन्दै आएको सामाजिक सुरक्षा भत्तासमेत नपाएको धामीको गुनासो छ ।

देशमा संघीयता आएर स्थानीय सरकार गठन हुँदा सिंहदरवार गाउँमा आएको भनिएपनि धामीका लागि भने यो आकाशको फल आँखा तरी मर भने जस्तै सावित भएको छ ।

पाँच वर्ष बित्दा पनि वडाबाट उनको नागरिकताका लागि सिफारिस भएको छैन । यस विषयमा नवनिर्वाचित वडा नम्बर ६ का अध्यक्ष धनसिंह धामीले छिट्टै वडाबाट सिफारिस गरी सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले अहिलेसम्म जिल्ला प्रशासन कार्यालयमा नागरिकताका लागि वडाको सिफारिस नआएको बताउँदै नागरिकता नपाएको भए प्रशासनले सहजीकरण गर्ने जानकारी दिनुभयो ।-

https://ujyaalonepalnews.com/archives/21845

Previous articleविभिन्न कम्पनीको ट्रेड मार्क प्रयोग गरी पानीको जार बेच्ने दुई पक्राउ
Next articleपाल्पाको निस्दीमा २७ जना असल बुहारी सम्मानित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।