विद्युत् आपूर्तिमा भइरहेको समस्याप्रति आफू गम्भीर: ऊर्जा मन्त्री

बीरगंज । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुषालले विगत केही दिनदेखि विद्युत् आपूर्तिमा भइरहेको टिपिङ्ग र नियमित आपूर्तिमा देखिएको समस्याप्रति आफू गम्भीर रहेको बताउनुभएको छ ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा.सुबोधकुमार गुप्ताको नेतृत्वमा आज काठमाडौँ गएको टोलीसँगको भेटघाट तथा छलफलको क्रममा ऊर्जा मन्त्री भुषालले औद्योगिक फिडरहरुमा गुणस्तरीय विद्युत् नियमित विद्युत् आपूर्ति गर्न तथा तत्काल ट्रिपिङ्ग समस्या समाधान गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको बताउनुभयो । 

उहाँले नेपाल विद्युत् प्राधिकरणले पुराना ट्रान्सफर्मरहरूलाई मर्मत सम्भार गर्नुपर्ने, नयाँ ट्रान्सफर्मर जडान गर्नुपर्ने, विद्युत् लाइन नपुगेका स्थानमा विद्युत् प्रसारण गर्नुपर्ने भएकाले प्राधिकरणका समस्या प्रति मन्त्रालय र गम्भीर भएको समेत बताउनुभयो । 

सङ्घका अध्यक्ष डा. गुप्ताले विद्युत् उत्पादन र प्रभावकारी वितरण व्यवस्था नभएकोले मुलुकभर विद्युत् आपूर्तिमा समस्या आइरहेको बताउनुभयो । 

बारा–पर्सा औद्योगिक कोरिडोरमा विद्युत्को घोषित लोडसेडिङ हटे पनि नियमित विद्युत् आपूर्ति हुन नसकेको र प्राप्त विद्युत्को गुणस्तर कमजोर भएकोले औद्योगिक उत्पादनमा नकारात्मक प्रभाव परिरहेको उहाँले बताउनुभयो ।

यसैगरी वीरगञ्ज उद्योग वाणिज्य सङ्घको टोलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग पनि उहाँकै कार्यकक्षमा भेटघाट गरेको छ ।

भेटघाटको क्रममा कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले आन्तरिक स्रोत साधनबाट कार्य सञ्चालन गर्दै आइरहेको र नेपाल सरकारबाट पर्याप्त बजेट प्राप्त हुन नसकेकोले प्राधिकरणका परियोजनाहरू तीव्र गतिमा अघि बढ्न नसकेको बताउनुभयो । 

उहाँले प्राधिकरणबाट ५० अर्बको विद्युत् सम्बन्धी परियोजना बारा–पर्सा क्षेत्रमा नै भइरहेको बताउँदै हेटौँडामा रहेको ४५ के.भी.को ट्रान्सफर्मर बिग्रिराखेकोले सोको मर्मत सम्भारको कार्य भइरहेको र नयाँ ट्रान्सफर्मर थप्ने प्रक्रियामा रहेको जानकारी दिनुभयो ।

भेटघाटका क्रममा सङ्घका उपाध्यक्ष द्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोजकुमार दास, सचिव आशिष लाठ, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल लगायतको उपस्थिति रहेको थियो । 

https://ujyaalonepalnews.com/archives/21965

Previous articleअरुण तेस्रो छाडेको २७ वर्षपछि विश्व बैङ्क माथिल्लो अरुणमा लगानी गर्न तयार 
Next articleगौरिका र प्रिन्स बेष्ट खेलाडीको अवार्डबाट सम्मानित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।