११ महिनामा १६ अर्ब बढीको फलफूल आयात

काठमाडौँ । चालु आवको ११ महिनामा १६ अर्ब रुपैयाँ भन्दा बढीको फलफूल नेपालमा आयात भएको पाइएको छ ।

चालु आवको पहिलो ११ महिनामा फलफूलको आयातका कारण १६ अर्ब २१ करोडभन्दा धेरै रकम विदेशिएको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

मुलुकको आर्थिक क्षेत्रमा कृषिको योगदान उल्लेख्य रहे पनि अझै कूल कृषियोग्य जमिनमध्ये धेरै बाँझो छ । यस्ता कृषियोग्य भूभागको थोरै मात्राको सही र व्यवस्थित उपयोग गर्न सके कृषिजन्य उपभोग्य वस्तुमा आत्मनिर्भर हुने अवस्था ल्याउन सकिन्छ ।

भन्सार विभागको विवरणअनुसार मुलुकले फलफूलका साथै दैनिक उपभोग्य वस्तुको आयातबाट अर्बौँ रकम बाहिर पठाएको देखिन्छ भने नेपालमै उत्पादन गर्न सकिने कृषि उपजसमेत अत्यधिक आयात भइरहेको देखिन्छ ।

विभागका अनुसार चालू आवको जेठ मसान्तसम्म छ अर्ब ६५ करोड ११ लाख ९९ हजार मूल्य बराबरको आठ करोड १५ लाख ३८ हजार ४२६ किलो स्याउ आयात भएको छ । त्यसबाट सरकारले ६३ करोड ५८ लाख ७८ हजार बराबरको राजस्व सङ्कलन गरेको छ ।

स्याउ चीनबाट मात्र पाँच अर्ब ४८ करोड ८० लाख १७ हजार बराबरको आयात भएको छ । त्यस्तै भारतबाट एक अर्ब १५ करोड ५९ लाख ८३ हजार बराबरको स्याउ आयात भएको विवरणमा उल्लेख छ ।

चालु आवको जेठ मसान्तसम्म दुई अर्ब १९ करोड ५३ लाख ३५ हजारको अङ्गुर र एक अर्ब ५७ करोड ४७ लाख ५३ हजार बराबरको केरा,एक अर्ब २४ करोड ८६ लाख २१ हजार बराबरको सुन्तला आयात भएको छ ।

https://ujyaalonepalnews.com/archives/22161

Previous articleउद्योगमन्त्री बडूद्वारा चोभार सुख्खा बन्दरगाह र आविष्कार केन्द्रको अवलोकन
Next articleसल्यानका किसानलाई आधुनिक कृषि यन्त्र वितरण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।