लघु, घरेलु कर्णाली प्रादेशिक महोत्सव सुरु

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर स्थित औद्योगिक ग्राममा प्रथम साना लघु, घरेलु तथा महिला उद्यमीद्वारा उत्पादित वस्तुहरूको कर्णाली प्रादेशिक महोत्सव सुरु भएको छ ।

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामाले सोमबार महोत्सवको उद्घाटन गर्दै कर्णालीको समृद्धिका लागि साना लघु घरेलु उद्योगहरूको भूमिका महत्त्वपूर्ण रहेकाले प्रदेश सरकार उद्यमीसँग हातेमालो गरेर अघि तयार रहेको बताउनुभयो ।

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशीले उद्योग स्थापना, परिचालनका लागि कर्णालीका २ सय २० जना साना लघु, घरेलु उद्यमीलाई १० देखि २० लाख रुपैयाँसम्म निःशुल्क ब्याज ऋण उपलब्ध गराउने कार्यक्रम प्रदेश सरकारले ल्याएको जानकारी दिनुभयो ।

उहाँले स्थानीय कच्चा पदार्थमा आधारित उद्योगको सदृढिकरण गर्न चाहने एक सय जना उद्यमीका लागि १० देखि २५ लाख रुपैयाँ अनुदानको कार्यक्रम रहेको बताउनुभयो । उहाँका अनुसार स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापना गर्न चाहिने उद्यमीलाई डेढ करोड रुपैयाँ ब्याज अनुदानको समेत व्यवस्था मिलाइएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका केन्द्रीय अध्यक्ष उमेशप्रसाद सिंहले स्वदेशी वस्तुको उत्पादन वृद्धि नगरी स्वदेशी वस्तु निर्यात घटाउन नसकिने भएकाले तीनै तहका सरकारले देशका सबैमा पालिकामा एउटा औद्योगिक ग्राम निर्माणमा जोड दिन आग्रह गर्नुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष चन्द्रबहादुर बिसीले बजारीकरणको अभावमा कर्णालीका २७ हजार लघु, घरेलु उद्योगको अवस्था दिनप्रतिदिन कमजोर बन्दै गइरहेकाले राज्यले ती उद्योगको संरक्षणका लागि नीतिगत सुधार गर्न आवश्यक रहेको औँल्याउनुभयो ।

कार्यक्रममा महिला उद्यमी सङ्घ कर्णाली प्रदेशका अध्यक्ष गोमा वलीले कृषि, साना, लघु, घरेलु महिला उद्यमीहरूले उत्पादन गरेको वस्तु तथा सामाग्रीको प्रदर्शनी मेलाले बजारीकरणमा टेवा पुग्नुका साथै उद्यमीबिच एक आपसमा समन्वय तथा सहकार्य भई आत्मबलमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मेलामा कर्णाली प्रदेशका दश वटै जिल्लाका महिला उद्यमीहरूले उत्पादन गरेका कृषि, लघु घरेलु वस्तु तथा साम्रागीहरुको प्रदर्शनी गरिएको छ ।

https://ujyaalonepalnews.com/archives/22202

Previous articleनेप्सेको पहिरो थामिएन
Next articleराष्ट्रपति बाइडेनलाई रुसमा प्रतिबन्ध
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।