निराजन घिमिरे, साउन १५- रत्ननगरको पिठुवा क्षेत्रबाट विज्ञान संकाय अध्ययनको लागि टाँडी नै झर्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । रत्ननगर पिठुवामा रहेको जनजागृती माध्यमिक विद्यालयमा यसै शैक्षिक सत्रबाट विज्ञान संकायको पठनपाठन सुरु हुने भएको हो । यस विद्यालयमा विज्ञान संकायको पठनपाठनले कालिका नगरपालिका, रत्ननगर तथा खैरहनी नगरपालिकाका माथिल्ला भेगका विद्यार्थी प्रत्यक्ष लाभान्वित हुने छन् ।
लामो अनुभव भएका दक्ष र तालिम प्राप्त शिक्षक तथा सिकाई वातावरणमा पठनपाठन हुने भनेर विद्यालयले विद्यार्थी भर्नाको लागी प्रचारप्रसार समेत सुरु गरिसकेको छ । व्यवस्थापन, शिक्षाशास्त्र र ५ वर्षे सिभिल ईन्जीनियरिंग डिप्लोमाको कक्षा संचालन भैरहेको यस विद्यालयमा यसै शैक्षिक सत्रबाट विज्ञान संकाय संचालन हुने भएको हो ।
विद्यालयका प्रधानाध्यापक विनोद अधिकारीका अनुसार पाँच बर्ष अगाडिदेखि प्राविधिक धार सिभिल इन्जिनियरिङ समेत पढाइ भैरहेको यस विद्यालयमा विज्ञान समूह संचालन गर्न अत्याधुनिक प्रयोगशालाको निर्माण सम्पन्न भैसकेको छ । विज्ञान संकाय संचालन गरेर देशको विकास र समृद्धिका लागि दक्ष, सिपयुक्त, सक्षम र ब्यवहारिक ज्ञान भएको जनशक्ति तयार गर्न विद्यालय निरन्तर लागिपरिरहेको विद्यालयका सहायक प्रधानाध्यापक रामहरी भण्डारीले बताए । उनले विद्यालयलाई राम्रो मात्र नभएर उत्कृष्ट बनाउने लक्ष्य लिएको बताए ।
विज्ञान संकाय संचालनले विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, विद्यार्थी तथा समुदायमा पनि गुणस्तरीय शिक्षाको लागि थप उर्जा र हौसला थपिएको भन्दै भण्डारीले खुशी ब्यक्त गरे । विद्यालयमा यो वर्ष कक्षा ११ को विज्ञान संकायमा ३० जना र सिभिल ईन्जीनियरिंग तर्फ ४४ जना विद्यार्थीको भर्ना लिईने छ ।
https://ujyaalonepalnews.com/archives/23543


