विद्युतीय धरापमा परेर चितवन राष्ट्रिय निकुञ्जमा गैडाको माउ र बच्चा मृत फेला तस्करले खाग काटेर लगे

नवलपुरको मध्यबिन्दु नगरपालिकास्थित नारायणी नदीको किनारमा एक सिंगे गैंडाको माउ-बच्चा मृत फेला परेका छन्। वडा नम्बर २ मा पर्ने नदीको बगरमा अन्दाजी १४ वर्षकी पोथी गैंडा र ४ वर्षको केटो(गैंडाको बच्चा)मृत अवस्थामा भेटिएका हुन्।

यो ठाउँ चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत भुताह पोष्टनजिक पर्छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले सिकारीको आक्रमणबाट गैंडाका माउ-बच्चाको मृत्यु भएको आशंका गरिएको बताए।

‘मृत गैंडाको प्रकृति हेर्दा हिजै मरेकोजस्तो देखिन्छ। माउको खाग काटिएको छ, बच्चाको सुरक्षित छ,’ तिवारीले भने, ‘हामीले आजमात्रै जानकारी पायौं। दिउँसो साढे १२ बजेतिर जानकारी पाएपछि हाम्रो टोली पुगेर अनुसन्धान सुरू गरेका छौं।’ उनले विद्युतीय धराप थापेर मारिएको आशंका गरे।

स्थानीयबासीले मृत गैंडा देखेपछि चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँको सुरक्षार्थ खटिएको नेपाली सेनालाई खबर गरेका थिए। नवलपुरको अमलटारी क्षेत्रमा यसअघि पनि गैंडाका माउ, बच्चालाई सिकारीले निसाना बनाउने गरेका थिए। यो घटनासँगै यस आर्थिक वर्षभित्र चितवन राष्ट्रिय निकुञ्जमा मृत्यु भएका गैंडाको संख्या १० पुगेको छ।

https://ujyaalonepalnews.com/archives/26000

Previous articleजापान जाने लोभमा युवाहरुको बिल्लीबाठ
Next articleक्यानाडा जानुपर्ने पाकिस्तानीलाई दलालले काठमाडौँ ल्याएर छाडीदिएपछि
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।