पोखरा जहाज दुर्घटना : सेती नदीमा डा दम्पतीको सामूहिक दाहसंस्कार

माघ ८, २०७९रासस, लेखनाथ — पोखराको सेती खोंचमा भएको जहाज दुर्घटनामा परी निधन भएका पोखरा–४ गणेशटोल निवासी डाक्टर परिवारको सामूहिक दाहसंस्कार गरिएको छ । दुर्घटनाको आठ दिनपछि अस्पतालले परिवारलाई शव बुझाएपछि पोखरा सेती नदीस्थित तुल्सी घाटमा आइतबार उनीहरूको सामूहिक दाहसंस्कार गरिएको हो ।

काठमाडौंबाट पोखरा आउने क्रममा जहाज दुर्घटनामा परी पोखरा–४ गणेश टोल निवासी एकै परिवारका ३८ वर्षीय डा सुशील श्रेष्ठ, उनकी श्रीमती डा सोना श्रेष्ठ र १५ महिने छोराको निधन भएको थियो । सेती नदीमा आइतबार डाक्टर दम्पतीलाई एउटै चितामा दागबत्ती दिइएको छ भने नाबालक छोराको व्रतबन्ध भइनसकेका कारण सेती नदीको किनारमा गाडिएको छ । सुशीलका बुबा मदनकाजी विभिन्न रोग र परिवारको चिन्ताका कारण किरिया बस्न सक्ने अवस्था नहुँदा एक ब्राह्मणलाई किरिया बस्न लगाइएको छ ।

तीन जनाकै शव क्षतविक्षत अवस्थामा थिए । डा सुशील दुई वर्षदेखि राष्ट्रिय ट्रमा सेन्टरमा अर्थोपेडिक सर्जनका रूपमा कार्यरत थिए । डा सोना पनि एमडी गर्दै थिइन् । डा सुशीलले काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस पढेर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका थिए ।

शोकमा डुबेको परिवारलाई सान्त्वना दिन आज मदनकाजी श्रेष्ठको घरमा थुप्रै छिमेकी जम्मा भएका थिए । मदनकाजी श्रेष्ठ नेकपा (समाजवादी) पार्टीका सल्लाहकारसमेत हुनुहुन्छ । परिवारको निधनका कारण मदनकाजीको आँखामा आँसु आठ दिनदेखि थामिएको छैन ।

घरमा शव ल्याएपछि बुबा मदनकाजीलाई सम्हाल्नै नसकिएको छिमेकी कृषमान पालिखेले सुनाए । सुशीलकी आमा पनि परिवारको सम्झनाले मुर्छित अवस्थामा छिन् । विभिन्न रोगसँग लड्दै आएका श्रेष्ठलाई आइतबार पोखरामा भएको जहाज दुर्घटनाले परिवारमा परेको बज्रपातले झनै कमजोर बनाएको छ । उनका कान्छा छोरा, बुहारी र १५ महिने नातिको पोखराको सोती खोंचमा भएको जहाज दुर्घटनामा परेर निधन भएको हो ।

परिवारसँग बसेर खुसीसाथ माघे संक्रान्ति मनाउने सपना बोकेर काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको एटीआर दुर्घटनाले मदनकाजीका कान्छा छोरा ३८ वर्षीय डा सुशील श्रेष्ठ, बुहारी डा सोना र १५ महिने नाबालक नातिको सपना अधूरै बन्यो ।

‘आँखामा राखे पनि नबिझाउने, अनुशासित डा सुशील, उहाँकी पत्नी र छोराको निधनले गाउँ नै शोकमा डुबेको छ । सबैलाई सम्मान र अनुशासित व्यक्तिको निधनले समाज र गाउँलाई नै टुहुरो बनाउँदो रहेछ,’ पालिखेले भने, ‘भुल्छु भन्दा पनि उनीहरूले आफूप्रति गरेको माया र सम्मानलाई भुल्नै सक्दिनँ ।’

https://ujyaalonepalnews.com/archives/26047

Previous articleकम्बोडिया आगलागीमा मृत्यु भएका निराकार पाण्डेको अन्त्येष्टि
Next articleआफ्नै साथीले गरे अप’हरण गरि ह’त्या, भ्वाईस रेकर्ड सुनाएर परिवार संग फिरौती माग
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।