Home Uncategorized गणेशमान सिंह स्मृति बक्सिङ प्रतियोगिता चैत १८ देखि

गणेशमान सिंह स्मृति बक्सिङ प्रतियोगिता चैत १८ देखि

नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व. गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता अर्को महिना हुने भएको छ।

गणेशमान सिंह फाउन्डेसनले आइतबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत १८ देखि २२ गतेसम्म हुने जानकारी दिएको हो।

काठमाडौंको बसन्तपुर डबलीमा हुने प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ। पुरुषतर्फ ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजीमाथिको तौल समूहमा स्पर्धा हुनेछ। प्रतियोगितामा ३ विभागीयसहित ७ प्रदेशका खेलाडी सहभागी हुने फाउन्डेसनका खेलकुद विभागका संयोजक सञ्जीव तुलाधरले जानकारी दिए।

प्रतियोगिताका लागि सातै प्रदेशमा छनोट प्रतियोगितासमेत आयोजना गरिनेछ। प्रदेश १ को छनोट प्रतियोगिता फागुन १५ देखि १७ गतेसम्म विराटनगरमा सञ्चालन हुनेछ। प्रदेश २ र बागमती प्रदेशको छनोट फागुन २० देखि २२ सम्म काठमाडौंमा, गण्डकी प्रदेशको छनोट फागुन २९ देखि चैत १ गतेसम्म पोखरामा हुनेछ।

प्रदेश ५ र कर्णाली प्रदेशको छनोट चैत ४ देखि ६ गतेसम्म नेपालगन्ज र सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगिता चैत ८ देखि १० गतेसम्म धनगढीमा सञ्चालन हुनेछ। जिल्लास्तरमा छनोट भएका खेलाडीले प्रादेशिक छनोटमा सहभागिता जनाउने प्रतियोगिता संयोजक राजीव श्रेष्ठले जानकारी दिए।

प्रतियोगिताका हरेक तौल समूहका विजेताले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने खेलाडीले ७ हजार पाँच सय रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन्। प्रतियोगिताका उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र महिला खेलाडीलाई एक थान स्कुटर प्रदान गरिने छ।

वैदेशिक क्षेत्रका दुई लाख ६० हजार श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध

Previous articleगोलको खडेरी अनुभव गर्दै मेस्सी, गोल्डेन बुट प्रतिस्पर्धामा देखिए निकै कमजोर
Next articleललितपुर महानगरद्वारा ११ क्लबलाई सहयोग, थ्री स्टारले पायो १६ लाख
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।