Home Uncategorized आज मौसम कस्तो रहला?

आज मौसम कस्तो रहला?

केही दिनदेखि जारी हिमपात तथा हिउँदे वर्षा आज (आइतबार)देखि करिब-करिब देशभर रोकिने मौसमविद्ले बताएका छन्।

हिमपात तथा वर्षात् गराउने पश्चिमी न्यून चापीय प्रणाली बाहिरिसकेकाले आजदेखि देशभरको मौसम सुध्रिँदै जाने मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए।

‘तर पूर्व र पश्चिमका पहाडी तथा हिमाली भेगमा भने आज पनि मौसम बदली हुने सम्भावना छ,’ मौसमविद् पौडेलले आइतबार बिहान नेपालखबरसँग भने, ‘साथै पूर्व तथा सुदूरपश्चिमका पहाडी भेगका एक/दुई स्थानमा वर्षा र उच्च हिमाली भेगका एक/दुई स्थानमा हिमपात हुन सक्छ।’

यसबाहेक काठमाडौं उपत्यकालगायत मध्य क्षेत्र पूरै (तराई-पहाड) र अन्य क्षेत्र (पूर्व-पश्चिम)का तराई भूभागमा आज सामान्यतया मौसम सफा रहने देखिएको उनले बताए।

‘यद्यपि काठमाडौं उपत्यकालगायत मध्य क्षेत्रका पहाडी भेगमा आंशिक बदली हुन सक्छ,’ वरिष्ठ मौसमविद् पौडेलले भने, ‘कहिले घाम कहिले बादल हुन सक्ने देखिन्छ, तर पूरै धुम्मचाहिँ हुँदैन आज।’

यसैबीच काठमाडौं उपत्यकालगायत तराई क्षेत्रमा अहिले बिहान कुहिरो/हुस्सु देखिएको छ। तर यो घाम लागेसँगै बिस्तारै हट्दै जाने उनको अनुमान छ।

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : देशका पहाडी भूभागका एक/दुइ स्थानमा हल्का वर्षासहित पश्चिमी उच्च हिमाली भेगका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको साथै उपत्यकालगायत तराईका केही स्थानमा हुस्सु/कुहिरो रहने भएकाले चिसोबाट बच्न सर्वसाधारण सबैलाई अनुरोध छ ।

पश्चिमी न्यून चापीय प्रणाली बाहिरिए पनि स्थानीय रूपमा विकास हुने न्यून चापीय प्रणालीको प्रभावले कतै कतै मौसम बदली तथा छिटफुट वर्षा गराउने उनले बताए।

आगामी तीन दिनको मौसम पूर्वानुमान :
माघ ५ गते (आइतबार)
दिउँसो :
देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ। पूर्वी भूभागका एक/दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ।

राति : देशको पूर्वी भू-भागलगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ। पूर्वी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

माघ ६ गते (सोमबार) 
दिउँसो : पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने छ।

राति : पहाडी भेगमा आंशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रही पश्चिमी पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

 माघ ७ गते (मंगलबार) 
दिउँसो : पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रही पश्चिमी पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

राति : पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने छ।

स्राेत : माैसम पूर्वानुमान महाशाखा

कोरोना अपडेट: मृत्यु हुनेको संख्या ४ सय नाघ्यो, संक्रमित २० हजारभन्दा बढी

Previous articleआज माघ ५ गते आइतबारको राशिफल!!!
Next articleपरिवारसहित त्रिशूलीमा हामफालेका विनयविरुद्ध कर्तव्य ज्यान मुद्दा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।