नोबल कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय नाघेको छ। संक्रमितको संख्या २० हजार माथि पुगेको छ।
चिनियाँ अधिकारीहरूका अनुसार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ सय २५ पुगेको हो।
यो भाइरसको संक्रमणले हिजो सोमबार मात्र ६४ जनाको मृत्यु भएको छ। त्यस्तै चीनबाहिर गत आइतबार फिलिपिन्समा एक जनाको मृत्यु भएको छ।
चीनमा मात्रै २० हजार ४ सय ३८ जना कोरोनाको संक्रमणमा परेका छन्।
चिनियाँ अधिकारीको भनाइ उद्धृत गर्दै अलजाजीराले जनाएअनुसार हुबेइ प्रान्तमा मात्र सोमबार २ हजार ३ सय ४५ जना कोरोना भाइरसबाट संक्रमित फेला परेका छन्।
योसँगै हुबेइ प्रान्तमा मात्र अहिलेसम्म १३ हजार ५ सय २२ जनालाई कोरोना संक्रमण भएको छ।
हुबेइका विभिन्न अस्पतालमा भर्ना भएका १० हजार ९ सय ९० संक्रमितमध्ये ५७६ जनाको अवस्था गम्भीर रहेको चीनका स्वास्थ्य अधिकारीले बताएका छन्।
चीनको उहान सहरबाट फैलिएको कोरोना भाइरस अहिले नेपालसहित विश्वका २५ देशमा पुगिसकेको छ। चीनका ३१ भन्दा बढी प्रान्तमा यसको संक्रमण फैलिएको छ।