Home Uncategorized सञ्चारमन्त्रीको अडियो प्रकरण : काँग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

सञ्चारमन्त्रीको अडियो प्रकरण : काँग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।

निर्धारित समयभन्दा दुई घण्टा ढिला शुरु भएको आजको बैठकको प्रारम्भमै काँग्रेसका सांसदहरु आसनबाट उभिएर विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले काँग्रेस सचेतक पुष्पा भुसाललाई बोल्न समय दिएका थिए । सांसद भुसालले सेक्युरिटी प्रेस खरिद प्रकरणमा मन्त्री बाँस्कोटाले कमिसन माग गरेको अडियो संवाद सार्वजनिक भएको भन्दै सोबारेमा प्रधानमन्त्रीले सदनमा आएर सत्यतथ्य जानकारी गराउनुपर्ने माग गरिन् ।

उनले भनिन्, ‘स्वीस कम्पनीको एजेण्ट विजय मिश्र र सञ्चारमन्त्रीबीचको संवाद आजको सञ्चारमाध्यमममा सार्वजनिक भएको छ । सञ्चारमन्त्रीले रु ७० करोड कमिसन माग गरेको घटनाले मुलुकको राजनीति तरङ्गीत भएको छ, यसमा प्रतिपक्षी दलको गम्भीर ध्यानाकर्षण भएको छ । प्रधानमन्त्रीज्यूले यसअघि संसद्मा भ्रष्टाचार गर्ने जोसुकैलाई कारवाही गर्छु भन्नुभएको थियो । अब प्रधानमन्त्रीले संसद्मा आएर जनतालाई आश्वस्त हुने गरी यसबारेमा जानकारी गराउनुपर्छ ।’

सञ्चारमन्त्रीको बर्खास्तीले मात्र काँग्रेस चुप लागेर नबस्ने बताउँदै सांसद भुसालले बालुवाटार जग्गा प्रकरणमा जग्गा फिर्ता गर्नेलाई कारवाही नभएजस्तो यस प्रकरण नहोस् भन्ने चेतावनीसमेत दिइन् । भुसालले सो प्रकरणबारे निष्पक्ष छानविन गरी कानूनी कारवाहीको दायरामा ल्याउन माग गर्दै आफ्ना माग पूरा नभएसम्म बैठक अगाडि बढाउनका लागि सहयोग गर्न नसकिने बताइन् ।

सभामुखले मन्त्री बाँस्कोटाको राजिनामा आइसकेको आफूलाई अनौपचारिक जानकारी प्राप्त भएको र बैठक सञ्चालन गर्नका लागि सहयोग गर्न पटकपटक आग्रह गरे पनि काँग्रेसका सांसदहरु उभिरहेपछि बैठक स्थगित गरिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन १३ गते दिउँसो १ बजे बस्नेछ ।

The post सञ्चारमन्त्रीको अडियो प्रकरण : काँग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध appeared first on Rajdhani Daily News.

लागुऔषध सहित एक महिला पक्राउ

Previous articleधितोपत्र बजार : ३० अङ्कको वृद्धि
Next articleस्विस दूतावासले भन्योः चर्चामा आएजस्तो सञ्चारमन्त्रीसँग भेटघाट तय भएको छैन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।