Home ताजाखबर ममताका बुवा भन्छन्– दाइजोलाई लिएर सम्धिनीसँग खटपट भएको थियो

ममताका बुवा भन्छन्– दाइजोलाई लिएर सम्धिनीसँग खटपट भएको थियो

काभ्रेपलाञ्चोकको पनौती घर भएकी ममता काफ्ले अमेरिकामा बेपत्ता भएको घटनामा दाइजो मुख्य कारण भएको खुलासा भएको छ ।

ममताका बुवा कमल काफ्ले र मावली हजुरबुवा यज्ञप्रसाद तिमिल्सिनाले यस घटनामा ममताका पति नरेशदत्त भट्ट र उनको परिवारको संलग्नता रहेको दाबी गरेका छन् ।

ममताले कञ्चनपुरका नरेशदत्त भट्टसँग प्रेम विवाह गरेकी थिइन् । विवाहको समयमा नै नरेशको परिवारले दाइजो कम भएको भन्दै विवाद गरेको थियो ।

ममताका बुवा कमलका अनुसार दाइजोको विषयलाई लिएर ६–७ महिनाअघि उनकी सम्धिनी पार्वती भट्टसँग खटपट भएको थियो ।

विवाहको समयमा दाइजोको कुरा नगर्न भने पनि भट्ट परिवारले त्यसलाई स्वीकार नगरेको बुवा कमलले बताए । ममता बेपत्ता हुनुमा दाइजो नै मुख्य कारण भएको बताउँदै हजुरबुवा यज्ञप्रसादले पनि भट्ट परिवारको संलग्नता रहेको दाबी गरेका छन् ।

ममता जुलाई ३१ अर्थात् साउन १६ गतेदेखि बेपत्ता छिन् । प्रहरीले ममताका पति नरेशलाई अमेरिकाको भर्जिनियास्थित मनासस पार्कबाट भदौ ६ गते पक्राउ गरेको छ । भदौ ७ गते उनलाई अदालतमा पेश गरिएको थियो । अदालतले उनलाई थुनामा राख्ने आदेश दिएको छ ।

अदालतमा पेश गरिएको कागजातमा ममताको हत्या नरेशकै घरको बेडरूममा भएको प्रमाण फेला परेको अमेरिकी प्रहरी अधिकारीले दाबी गरेका छन् । बेडरूम र बाथरूममा रगत देखिएकाले प्रहरीले कार्पेटलगायत सामान फरेन्सिक जाँचका लागि बरामद गरेको छ ।

ममताका परिवारका सदस्यहरूले अमेरिकामा न्यायको खोजी गरिरहेका छन् । ममताका बुवा कमल काफ्लेले छोरीसँग अन्तिमपटक साउन ११ गते कुराकानी हुँदा उनको अनुहार मलिनो रहेको दाबी गरे ।

यतिबेला ममताकी आमा र दाइ अमेरिकामा पुगेका छन् । परिवारका सदस्यहरूले ममताको न्यायका लागि अमेरिकी राजदूतावास र नेपाल सरकारले अझै ठोस कदम नचालेको गुनासो गरेका छन् । यस घटनाले पनौतीबासीलाई बढी नै स्तब्ध बनाएको पाइएको छ ।

Previous articleप्रकाशका साहुका छोरा भन्छन्– उहाँ मेरो बुबा जस्तै हुनुहुन्छ
Next articleकयरखोलामा डुबेको अवस्थामा एकजनाको शव फेला
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।