Home Blog Page 101

नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ घटायो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ३ रुपैयाँ घटाएको छ । मंसिर ३० गते बिहान ००.०१ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

इण्डियन आयल कर्पोरेशनले शुक्रबार पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य क्रमशः प्रतिलिटर रू ३.०७ र रू ३.१६ ले घटाएर निगमलाई पठाएको थियो ।

समायोजन पश्चात् काठमाडौँमा अब पेट्रोलको मूल्य १६७ र डिजेल तथा मट्टितेलको मूल्य १५७ कायम भएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दोस्रो रत्नप्रिय कप : प्याराडाइज सेमिफाइनलमा प्रवेश

रत्ननगर । रत्ननगरको टिकौली चौरमा जारी दोस्रो रत्नप्रिय कप फुटबल अन्तर्गत शुक्रबार भएको खेलमा प्याराडाइज युवा क्लव सिसुवार विजयी भएको छ । भण्डारा एपिएफलाई ४–१ गोल अन्तरले पराजित गर्दैै प्याराडाइज युवा क्लव विजयी भएको हो ।

निर्धारित समयमा दुबै तर्फबाट एक एक गोल भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुट आउटमा प्याराडाइजले तीन गोल गर्दा भण्डारा एपिएफले एक गोल पनि गर्न सकेन । निर्धारित समयको खेलमा प्याराडाइजको तर्फबाट सन्तबहादुर गुरुङले एक र भण्डारा एपिएफको तर्फबाट सन्देश श्रेष्ठले एक गोल गरेका थिए ।

शुक्रबारको खेलबाट भण्डारा एपिएफ प्रतियोगिताबाट बाहिरिएको छ भने प्याराडाइज सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका प्याराडाइज युवा क्लवका सरोज तामाङ म्यान अफ दी म्याच घोषित भएका छन् ।

उनलाई वडा नं १५ का वडाध्यक्ष आशिक तामाङ, वडा नं ९ का वडाध्यक्ष अनन्त अधिकारी, युवा समाजसेवी तथा खेलाडी सुजन नेपाल, व्यवसायी सुर्यचन्द्र खतिवडा, क्लवका अध्यक्ष बसन्त रानाले पुरस्कार हस्तान्तरण गरेका थिए ।

चितवन सहित मकवानपुर, नवरपरासी गरी १० वटा टिम रहेको प्रतियोगितामा पहिलो हुने टिमलाइ १ लाख ५५ हजार ५ सय ५५ र दोस्रो हुने टिमलाई ७७ हजार ७ सय ७७ रूयैया पुरस्कार प्रदान गरिने आयोजक समितिका संयोजक बिबेक अम्गाईले जानकारी दिए ।

भोली (शनिबार) पेङ्गुन एजुकेशन भरतपुर २४ र गैंडाकोट फुटवल क्लव बीच खेल हुने क्लवका सचिव विजय लामाले जानकारी दिए ।

कोभिड पछि सौराहामा पहिलोपटक हात्ती महोत्सव हुँदै

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा चितवन हात्ती तथा पर्यटन महोत्सवको तयारी तीब्र पारिएको छ । चितवन हात्ती महोत्सवलाई रुपान्तरण गर्दै यहाँका व्यवसायीहरुले पर्यटन महोत्सव गर्न लागेका हुन् ।

क्षेत्रीय होटल संघ चितवन सौराहाले पर्यटन विकासको लागि पौष १० गते देखि १४ गते सम्म मैनाहाचौरमा सो महोत्सव गर्न लागेको हो । शुक्रबार संघले पत्रकार सम्मेलनको आयोजना गरी कोभिडका कारण चार बर्ष देखि रोकिएको चितवन हात्ती महोत्सवलाई केही परिमार्जन गरी १७औं संस्करण सुरु गर्न लागेको जानकारी दिएको हो ।

कोरोनाका कारण २०७६ सालदेखि चितवन हात्ती महोत्सव हुन सकेको थिएन् । २०८० साल सुरु भएपछि सौराहामा विदेशी पर्यटकको आगमन बढ्दै गएकाले महोत्सव गर्न लागिएको संघका अध्यक्ष गंगा गिरीले जानकारी दिए । चालु आर्थिक बर्षमा मात्र सौराहामा स्वदेशी तथा विदेशी गरी २ लाख २५ हजार पर्यटक आएका छन् । ति मध्ये एक लाख ३० हजार जना पर्यटकले निकुञ्ज अबलोकन गरेको तथ्याङ्कले देखाएको छ । इतिहासमै पहिलो पटक कोरोनाकालमा बन्द भएको सौराहाको पर्यटन चलायमान हुन थालेपछि यहाँका व्यवसायीहरुले पर्यटन गतिविधि सुरु गरेका हुन् ।

साविकको हात्ती महोत्सवलाई परिमार्जन गर्ने भन्दै यसपटकको महोत्सवमा हात्ती दौड, हात्ती फुटबल र हात्ती पोलो हटाइएको छ । अधिकारकर्मीहरुले प्रश्व उठाउन थालेपछि व्यवसायीहरुले उक्त तीन प्रतियोगिता हटाएका हुन् । पाँच दिन सम्म सञ्चालन हुने उक्त महोत्सव अन्तर्गत हात्ती श्रृगार प्रतियोगिता, हात्ती बनभोज र डुंगा दौड प्रतियोगितालाई यथाबत राखिएको छ । महोत्सवमा मैत्रीपूर्ण खेलकुद प्रतियोगितासंगै चितवनको पर्यटनको सम्भावना र चुनौती सम्बन्धी अन्तक्र्रिया कार्यक्रम राखिएको छ ।

खस्किएको चितवनको पर्यटनलाई माथी उठाउन स्थानीय सरकार, व्यवसायी र पर्यटन बोर्डले खेल्नु पर्ने भूमिकाको बारेमा छलफल गरी दायित्व बोध गराउन अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको संघका उपाध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक ओमप्रकार पाण्डेले जानकारी दिए । महोत्सवमा हात्तीको दिनचर्या बारे जानकारी, स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीहरुसंग विटुवी कार्यक्रम, स्थानीय भेषभूषा तथा कला संस्कृतिको संरक्षण, कलाकारहरुको सांस्कृतिक कार्यक्रम, स्थानीय कृषि उत्पादनको प्रर्बधनात्मक कार्यक्रम गरिने कार्यक्रम संयोजक पाण्डेले बताए ।

महोत्सवको उद्घाटन समारोहमा संरक्षण र पर्यटन विकासका योगदान दिएका अग्रज, उत्कृष्ट नेचरगाइड, संरक्षणकर्मी, माउते, डुंगा चालक, जीप सफारी चालक तथा सीप र कलाप्रेमीहरुलाई सम्मान गर्ने कार्यक्रम तय भएको संघका महासचिव गुणराज थपलियाले जानकारी दिए । सफारी पर्यटनका हिसाबले परिचित सौराहालाई थप उचाईमा लैजान पर्यटन महोत्सवको रुपमा अगाडि बढाउन थालिएको उनको भनाई छ ।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेवान सौराहा सह आयोजक रहेको सो महोत्सवमा नेपाल पर्यटन बोर्ड र सांस्कृतिक, पर्यटन तथा सहकारी मन्त्रालय प्रर्बद्धक तथा रत्ननगर नगरपालिका संरक्षक रहेका छन् ।

चितवनमा बन्ने रेलमार्गको डिजाइन अन्तिम चरणमा, रत्ननगरका कुनकुन वडामा रेलमार्ग पर्छ?

हेटौंडा । रेल विभागले मेची–महाकाली द्रुत विद्युतीय रेलमार्गअन्तर्गत निजगढ–हेटौंडा–भरतपुर खण्डको विस्तृत डिजाइन अन्तिम चरणमा पुगेको बताएको छ ।

फुलब्राइट कन्सलटेन्सी प्रालिले १३ वर्षअघि बनाउन सुरु गरेको परियोजनाको डिजाइनलाई अन्तिम चरणमा पु¥याएको हो । हेटौंडा–भरतपुर खण्डमा यात्रु स्टेशन ५ वटा रहने प्रारम्भिक अध्ययनमा उल्लेख छ ।

निजगढ–सिग्नल स्टेशन ९ वटा रहने रेलमार्गको केन्द्रबिन्दुबाट २५–३० मिटर दायाँबायाँ राइट अफ वे रहने बताइएको छ । यात्रु स्टेशनका लागि १६० मिटर चौडाइ र १७० मिटर लम्बाइ भएको जमिनको आवश्यकता पर्ने बताइएको छ ।

बाराको निजगढ नगरपालिका वडा नं ३, ४, ५, १०, ११, १३ र जीतपुर सिमरा उपमहानगरपालिका २२ नं वडामा निर्माण गरिने रेलवे लाइनका लागि स्थानीय सरोकारवालाबीच छलफल भइरहेको कन्सल्टेन्सीले जनाएको छ ।

हेटौंडा उपमहानगर वडा नं ८, ९, १२, १३, १४, १५ र १६ तथा मनहरी गाउँपालिका वडा नं ३, ५, ६, ८ र ९ मा रेलवे लाइन निर्माण हुनेछ ।

त्यस्तै चितवनको राप्ती नगरपालिका वडा नं १, २, ३ र ६, खैरहनी नगरपालिका वडा नं ५, ७ र १०, रत्ननगर नगरपालिका वडा नं ४, ५ र ९ तथा भरतपुर महानगर वडा नं ४, ५, ७, ८ र १६ मा रेलवे निर्माण गर्न प्रस्ताव गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको टिकौली जंगलको ४ किमि क्षेत्रमा कसरी अगाडि बढ्ने भन्ने विषयमा भने छलफल भइरहेको विभागले जनाएको छ ।

हेटौंडा–१६ र जीतपुर सिमरा उपमहानगर वडा नं २२ बीच पर्ने चुरे पहाडमा करिब ७ किमि सुरुङ मार्ग निर्माण गरी रेलवे लाइनले बारा र मकवानपुर जोड्ने गरी अध्ययन अगाडि बढाइएको छ ।

सरकारको प्रचलित नियम–कानूनअनुसार रेलवे आयोजनाले स्थानीयमा पर्नसक्ने सामाजिक, सांस्कृतिक, वातावरणीय प्रभावका बारेमा पनि अध्ययन गरी प्रतिवेदन तयारी गर्ने कार्य भइरहेको कन्सल्टेन्सीले जनाएको छ ।

यसका लागि हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा सरोकारवालाबीच सार्वजनिक सुनुवाइ पनि आयोजना गरिने बताइएको छ । रेलवे सर्भेको विषयमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंको संयोजकत्वमा छलफल भैसकेको छ । उपमहानगरको अरु वडामा कुनै समस्या नभए पनि हेटौंडा वडा नं १५ र १६ मा केही समस्या देखिएको तर त्यस समस्यालाई समाधानको प्रयास भैरहेको बताइएको छ ।

थप छलफलको लागि पुसको दोस्रो साता हेटौंडा– १५ का वडाध्यक्ष सुनिल मोक्तानको सहभागितामा सर्वपक्षीय बैठक आह्वान गरिएको छ ।

रेलवे परियोजनाका लागि निजगढ–हेटौंडा–भरतपुर खण्डमा निजी जग्गा करिब ४०० हेक्टर अधिग्रहण गर्नुपर्ने देखिएको छ । सरकारी जमिन वा जंगल क्षेत्र करिब ७०० हेक्टर र खोला, खहरे, नदी बगर आदि ४० हेक्टर जग्गा आवश्यक देखिएको प्राविधिकहरुले बताएका छन् । सरकारले २०६७ सालमा रेल विभाग स्थापना गरेको थियो ।

कालिका- १० को वडा कार्यालय भवन उद्घाटन

रत्ननगर, मंसिर २७ । चितवनको कालिका नगरपालिका वडा नं. १० को वडा कार्यालय भवन निर्माण भएको छ । नगरपालिकाको १ करोड रुपैँया लगानीमा निर्माण भएको भवनको बुधवार कालिकाका नगर प्रमुख विनोद रेग्मीले उद्घाटन गरेका हुन् ।

बैठक हल सहित ६ कोठाको भवन निर्माण भएपछि सेवा प्रवाहमा सहज हुने नगरपालिका र वडा कार्यालयको बिस्वास छ । अस्थायीका साथै साँघुरो भवनबाट सेवा दिन समस्या भएको भन्दै नयाँ भवन उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रम वडा नं. १० का वडा अध्यक्ष नर जंग प्रजाको अध्यक्षतामा भएको हो ।

प्रमुख अतिथि नगर प्रमुख रेग्मीले कार्यक्रममा बोल्दै वडा नं. ८ को कार्यालय भवन बाहेक सबै वडाको भवन निर्माण सम्पन्न भईसकेको बताए । यता नगरमा समेत भब्य र सुविधा सम्पन्न कार्यालय भवन निर्माणको काम ९० प्रतिशत सम्पन्न भई अन्तिम चरणमा रहेको जानकारी दिए । कालिका वडा नं। १० का विभिन्न क्षेत्रमा स्वास्थ्य, शिक्षा, कृषि लगाएतका कार्यहरु अगाडी बढिरहेको बताए ।

उनले भने, ‘वडा कार्यालय राम्रो मात्र भएर हुदैन यहाँका जनप्रतिनिधि तथा कर्मचारीहरुले जनतालाई मुस्कान सहितको सेवा दिनुपर्छ, उनीहरुको समस्या सुन्ने, उत्पादन संग जोडेर आय आर्जनमा विशेष जोड दिनुपर्छ ।’

उप-प्रमुख विमला तामाङले नगरका संस्थापक नगर प्रमुख र उप प्रमुखले नगरका वडा कार्यालय भवनको निर्माण कार्य सुरुवात गरिदिनुभएकोमा खुसी लागेको बताइन् । कार्यालयमा सेवा दिदा यहाँका जनप्रतिनिधि तथा कर्मचारीहरुले मुस्कान सहितको सेवा दिन आग्रह उनले गरिन् ।

उनले भनिन्, ‘व्यवस्थित वडा कार्यालय भवनहरु निर्माण भएका छन्, यसले कर्मचारी र सेवाग्राही सबैलाई सहज भएको छ।’

कार्यक्रममा कालिकाका प्रमुख प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतम, पूर्वाधार समितिका संयोजक तथा वडा नं. २ का वडा अध्यक्ष लक्षमण पौडेल, संस्थापक वडा अध्यक्ष दिल वहादुर गुरुङ लगाएतले मन्तव्य राखेका थिए ।

१० का वडा अध्यक्ष प्रजाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा २ का वडा अध्यक्ष लक्षमण पौडेल, ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठ, ५ का वडा अध्यक्ष दिपक वहादुर भट्टराई, ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, ८ का वडा अध्यक्ष चित्र वहादुर मगर, ९ का वडा अध्यक्ष निलकण्ठ मगर, ११ का वडा अध्यक्ष कृष्ण प्रजा, वडा सदस्य, नगरपालिकाका कर्मचारी लगाएतको उपस्थिति थियो ।

नगरका सुचना अधिकारी प्रकाश चन्द्र पौडेलले सञ्चालन गरेको कार्यक्रममा वडा नं. १० की वडा सदस्य सुमित्रा तामाङले स्वागत मन्तव्य राखेकी थिईन् ।

चितवनमा ढुंगा प्रहार गरि छोराले गरे बाबुको हत्या

चितवन । चितवनमा छोराले बाबुको हत्या गरेका छन् । चितवनको इच्छाकामना ३ चुम्लिङ्गटारमा रक्सीको नसामा रहेका १९ बर्षिय सुनिल चेपाङले आज दिउँसो बाबु ३८ बर्षिय रामशरण चेपाङलाई ढुंगा प्रहार गरि हत्या गरेका हुन् ।

ढुंगा प्रहारबाट घाइते भएका रामशरण चेपाङको इच्छाकामना आधाभुत अस्पताल कुरिनटारमा प्राथमिक उपचार गरि थप उपचारका लागि भरतपुर लैजादैँ गर्दा बाटो मै मृत्यु भएको हो ।

रक्सीको नसामा रहेका सुनिललाई घरमा जाउ भनि बाबुले कर गरेपछि ढुंगाले प्रहार गरेको स्थानियहरुले बताएका छन् । शबलाई पोष्टपार्टमका लागि भरतपुर अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

सुनिललाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वडा नम्बर २ काउले घर भएका चेपाङ परिवार चुम्लिङ्गटारमा डेरा गरि बस्दै आएका थिए । उनिहरु चुम्लिङ्गटारमै मजदुरी गर्दै आएका थिए ।

यसरी फैलियो मृत्यु भएको भनिएका मानिस बिउँझिए भन्ने झुटो हल्ला

विराटनगर — आइतबारदेखि सामाजिक सञ्जालमा एउटा खबरसँगै भिडियो भाइरल भयो- अस्पतालले मृत घोषणा गरेका व्यक्ति एकाएक बिउँझिए ! उक्त भिडियोमा भनिएको छ- सुनसरी इनरुवा नगरपालिका-३ वन कार्यालय पश्चिमका ४५ वर्षीय प्रताप सदालाई विराटनगरको मेट्रो न्यूरो अस्पतालले मृतक घोषणा गरेर आफन्तलाई शव बुझाएको, अनि परिवारजनले दाहसंस्कारको सबै तयारी गरेको र घर ल्याएपछि मृतकले आँखा खोलेको । त्यतिमात्रै होइन भिडियोमा मृत्यु भएपछि मृतकलाई शव गृहमा राखिएको दाबीसमेत गरिएको छ ।

स्थानीय पहलबहादुर कटुवालले भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो नै भाइरल बन्यो । के साँच्चै अस्पतालले मृत घोषणा गरेको व्यक्ति घर पुगेपछि ब्युँतिएका हुन् त ? कान्तिपुरले यसको तथ्य बुझ्दा गलत सूचनाका कारण यो घटना भाइरल बन्न पुगेको भेट्टायो । कान्तिपुरले बिरामीका छिमेकीहरू, वडाध्यक्ष, वडा महिला सदस्य, वडा दलित सदस्य एवं छिमेकी र अस्पतालका प्रतिनिधिसँग बुझ्दा यो खबर झुटो भएको देखिन्छ ।

सदा परिवारले छातीमा समस्या भएपछि प्रतापलाई उपचारका लागि सुरुमा इनरुवा अस्पताल पुर्‍याएका थिए । अस्पतालले आफूकहाँ उपचार सम्भव नहुने बताएपछि उनलाई शनिबार विराटनगरको मेट्रो न्युरो अस्पताल पुर्‍याइएको थियो ।

सुरुमा अस्पतालले प्रतापको छातीमा समस्यासँगै मेनेन्जाइटिसका कारण अवस्था नाजुक रहेको भन्दै आइसीयूमा राखेर उपचार सुरु गर्‍यो । बिरामीको अवस्था जटिल बन्दै गएपछि अस्पतालले भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने सदाका आफन्तलाई बतायो । तर बिरामीका परिवारले भेन्टिलेटरमा राखेर उपचार नगर्ने बरु घर नै लैजाने भन्न थाले । कान्तिपुरलाई प्राप्त कागजातमा प्रतापकी पत्नी सीताकुमारीले बिरामीको मृत्यु भएमा आफैं जिम्मेवार हुनेछु भन्ने कागजमा औंठाछाप र सही गरेर बिरामीलाई घर लैजान प्रक्रिया थालेको देखिन्छ । कान्तिपुरलाई प्राप्त अस्पतालभित्रको सीसीटिभी फुटेजमा पनि बिरामीलाई आइसीयूबाट स्ट्रेचरमा राखेर निकालेको देखिन्छ । अस्पतालका सञ्चालक सन्तोष मेहताले कागज गरेर परिवारले बिरामी लिएर गएको बताएका छन् ।

आइतबार दिउँसो सीताकुमारीले ५० हजार रुपैयाँ अस्पताललाई बुझाएर जीवितै अवस्थाका प्रतापलाई लिएर घर हिँडिन् । घर नपुग्दै बाटैबाट उनीहरूले आफन्ती र गाउँलेलाई फोन गरेर सदाको अन्त्येष्टिका लागि आवश्यक सामाग्री तयार गर्न भने । छरछिमेकीले भने अनुसार घाट लैजाने खट, कपडा र दाउरा तयार पारे । प्रतापलाई खटमा सुताएर कपडाले छोपेर जुइनाले बाँध्न सुरु गरियो । तब उनले पुलुक्क आँखा हेरे । अनि भेला भएका आफन्त र छिमेकमा कोलाहल मच्चियो । वडाध्यक्ष रमेश श्रेष्ठले त्यही बेला स्थानीय पहलबहादुर कटुवालले भिडियो खिचेर सामाजिक सञ्जालमा राखेको बताए ।

वडाध्यक्ष रमेशले अस्पतालका डाक्टरले पनि बिरामीको अवस्थाबारे बुझाउँदा भाषाको समस्याका कारण उनीहरूले नबुझेर बिरामीको मृत्यु भयो भन्ने बुझेको हुनसक्ने बताए । भिडियोमा भनिएजस्तो अस्पतालले डेथ सर्टिफिकेट दिएको भन्ने कुरा पनि अफवाह मात्रै भएको वडाध्यक्ष श्रेष्ठले बताए ।

त्यसो भए भिडियोमा किन प्रतापलाई १२ घण्टा शवगृहमा राखेको भनियो त ? वडाध्यक्ष श्रेष्ठले आईसीयूमा राखेर उपचार गरिएको कुरालाई बंग्याएर त्यसो भनिएको हुनसक्ने बताए । उनले भने, ‘अस्पतालले पनि विपन्न र दलित समुदायले पाउने सुविधाका नाममा भेन्टिलेटरमा राखेर एकरात उपचार गरेर जनप्रतिनिधिलाई जानकारी गराएको भए यस्तो अवस्था आउने थिएन । यसमा अस्पतालको पनि गल्ती देखियो ।’

वडाकी महिला सदस्य सविना सिग्देलका अनुसार प्रतापका परिवारजनले उनको मृत्यु भएको भन्दै बाटोबाटै अन्त्येष्टिका लागि दाउरालगायतका सामग्रीको जोह गरिदिन आग्रह गरेपछि अफवाह फैलिएको बताइन् । वडाकी दलित सदस्य एवं प्रतापका छिमेकी कबुक्री सदाका अनुसार अस्पतालमा मृत्यु भएको हल्लाको पछाडि परिवारजन लाग्दा यस्तो समस्या सिर्जना भएको बताइन् ।

पशुपतिमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज सर्वसाधारणलाई देखाइँदै

काठमाण्डाै – पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज प्रदर्शन गरिने भएको छ ।

हरेक वर्ष मंसिर कृष्ण पक्षको त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको छ भनेर बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख नागरिकलाई देखाउने गरिन्छ ।

मंसिर कृष्ण पक्षको औँसीका दिन आज भने अब एक वर्षका लागि सुरक्षितसाथ राखिन्छ भनेर देखाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।

यस वर्ष त्रयोदशीका दिन अस्ति आइतवार नागरिकका लागि पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख सुरक्षित छ भनी प्रदर्शन गरिएको थियो ।

आज अब अर्को वर्षलाई यी सामग्री सुरक्षितसाथ राखिन्छ भनी देखाउन लागिएको कोषले जनाएको छ । बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्खलाई आज भण्डारको तेस्रो तलामा राख्नुअघि बिहान १० बजे अगावै पशुपतिनाथमा बाला चतुर्दशीका दिन मेलामा आएका भक्तजनका लागि सुरक्षित छ भनी देखाइँदै छ ।

आज बिहान साढे नौ बजेदेखि करिब तीन घण्टासम्म बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख देखाउने तयारी गरिएको हो । बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख हरेक महिना पशुपतिका भण्डारीको पालो परिवर्तनका बेला कोष, प्रहरीलगायत सरोकार भएका निकायका रोहवरमा बुझाउने गरिन्छ । भण्डारी परिवर्तन हुँदा भने यी सामग्री भण्डारभित्र नै रोहवरमा राख्ने गरिन्छ ।

यसैबीच, आज पशुपति क्षेत्रमा सरसफाइ हुँदैछ । बालाचतुर्दशीका दिन हिजो शतबीज छर्दा जम्मा भएको फोहर आज सफा गर्न लागिएको कोषले जनाएको छ । सफाइमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, वाग्मती सफाइ अभियानकर्मीलगायतको सहभागिता रहने छ ।

चितवन राष्ट्रिय निकुञ्जले गर्‍यो जङ्गली हात्ती ध्रुवेलाई रेडियो कलर जडान

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियो कलर जडान गरेको छ । बस्ती पसेर दुःख दिन थालेपछि निकुञ्जले आज दिउँसो ३ः१० बजे निकुञ्जको सुखिभार क्षेत्रबाट ध्रुवे हात्तीलाई रेडियो कलर जडान गरेको हो ।

निकुञ्ज प्रशासन, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष सहितको प्राविधिक टोलीले चार वटा हात्ती प्रयोग गरेर रेडियो कलर जडान गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार, निकुञ्जको मानव बस्तीमा पस्न थालेपछि निगरानी गर्न रेडियोकलर जडान गरिएको हो ।

‘दशैंपछि मानव बस्ती परेर ठुलो क्षती गरेको थियो’, उनले भने ‘जोखिम नियन्त्रण गर्न र त्यसलाई निगरानी गर्न रेडियो कलर जडान गरेका हौँ ।’ अब केही समयका लागि ध्रवे हात्तीबाट जाखिम कम हुने उनको भनाई छ । रेडियो कलर जडानका क्रममा दुई वटा दाह्रा समेत काटेको उनले बताए ।

रेडियो कलर जडानका लागि निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठको नेतृत्वको प्राविधिक टोली एक सातादेखि परिचालित थियो । हात्तीको खोजिको क्रममा सोमबार सिसवार पोष्टबाट तिन सय मिटर पश्चिमबाट डार्ट गर्न सफल भएको उनले बताए । डार्ट गरेपछि एन्टीजोड दिएर छोडिएको उनले बताए ।

रेडियोकलर जडान गरेपछि हात्ती कहाँ छ र के गर्दैछ भन्ने विषयमा निकुञ्जले सहजरुपमा निगरानी गर्न सक्ने उनले बताए । अरु हात्तीभन्दा चलाख भएकाले ध्रुवेलाई रेडियोकलर जडान गर्न कठिन भएको थियो । यस हात्तीले २० जनाभन्दा बढीको ज्यान लिएको उनको भनाई छ ।

२०६९ सालमा गोली हानेर कब्जा गर्न सरकारले निर्देशन समेत दिँदा गोली छलेर भागेको चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती वन उपभोक्ता समितिका अध्यक्ष प्रकाश ढुंगानाले बताए । यसलाई सन् २०७०, २०७६मा पनि रेडियो कलर जडान गरिएको थियो । केही समयपछि फालेर सम्पर्क बिहिन भएको उनले बताए ।

‘पहिला पनि रेडियो कलर जडान गरिएको हो । यसले सधै काम गर्दैन । केही समयपछि डाटाले पनि काम गर्दैन । यसमा जडान गरिएको रेडियो कलरले तीन महिना अगाडिदेखि काम गरेको थिएन,’ उनले भने, ‘आज नियन्त्रणमा लिँदा रेडियो कलर समेत उसको साथमा थिएन ।’ यसले सन् २०६९ सालमा चितवन निकुञ्ज आसपासका क्षेत्रमा सबैभन्दा बढी आतंक मच्चाएको थियो । सो समयमा दाह्रा काटेपछि केही शान्त देखिएको थियो ।

ध्रुवे हात्ती बथानबाट एक्लिएको भालो हात्ती हो । समय समयमा बस्तीमा पसेर मानिसको ज्यान समेत लिने गरेको छ । यसले बस्तीमा पसेर घर भत्काउने, भण्डारण गरिएको खाद्यान्न नष्ट गर्ने गरेको निकुञ्जले बताएको छ । यो प्राय चितवन राष्ट्रिय निकुञ्जको माडी, कसरा, मेघौली क्षेत्र, पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा बढी देखिने गर्दछ ।

दोस्रो रत्न प्रिय कप प्रतियोगिता सुरु, पहिलो खेलमा आयोजक रत्न प्रिय क्लव विजयी

रत्ननगर, मंसिर २५ । पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीमा सोमवार देखि दोस्रो रत्न प्रिय कप फुटवल प्रतियोगिता सुरु भएको छ ।

वडा नं ९ मा रहेको रत्न प्रिय क्लवले आयोजना गरेको सो प्रतियोगिताको रत्ननगरका मेयर प्रलाद सापकोटा प्रमुख अतिथि रहेका थिए ।

सोमवार भएको पहिला खेलमा आयोजक रत्न प्रिय क्लव विजयी भएको छ । सौराहा फुटबल क्लवलाई पेनाल्टी सुटआउटमा ५( ४ गोलले हराउदै रत्नप्रिय क्लव विजयी भएको हो ।

निर्धारित समयमा दुबै तर्फबाट कुनै पनि गोल हुन नसकेपछि खेल पेनाल्टीमा धकेलिएको थियो ।

प्रतियोगितामा उत्कृष्ट गोल गरेका रत्न प्रिय क्लवका यूकेश तामाङ म्याद अफ दी म्याच घोषित हुँदै रू १ हजार पुरस्कार हात पारेका छन् ।


विजेतालाई वडा नं ९ का वडा अध्यक्ष  अन्नत अधिकारी र सेन्ट्रल कलेजका प्रमुख यज्ञ बिलास पौडेल ९वाई बी० ले पुरस्कार बितरण गरेका थिए ।

क्लवका अध्यक्ष  वसन्त राना मगरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमा वडा नं ९ का वडा अध्यक्ष  अन्नत अधिकारी, नगरपालिकाका सामाजिक विकाश शाखा संयोजक तथा वडा नं ५ का वडा अध्यक्ष  बालकृष्ण चापागाई, चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्की लगाएतले मन्तव्य राखेका थिए ।

चितवन सहित मकवानपुर र नवलपरासी गरी तीन जिल्लाका १० वटा टिमको सहभागिता रहेको सो प्रतियोगितामा पहिलो हुने टिमलाई १ लाख ५५ हजार ५५५ र दोस्रो हुने टिमलाई ७७ हजार ७७७ रुपैया पुरस्कार प्रदान गरिने खेल समितिका संयोजक बिबेक अम्गाईले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत मंगलवार मिलिजुली युवा क्लव कालिका र खेलकुद विकास समिति रत्ननगर १२ बीच हुने जनाइएको छ ।