Home Blog Page 111

‘टिकटक चलेको भए खबर गरौँ’

काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक प्रयोग/पहुँच भइरहेको पाइएमा सोको खबर गर्न आग्रह गरेको छ । नेपाल सरकारले सामाजिक सद्भावमा असर परेको भन्दै प्रतिबन्ध लगाएपछि दूरसञ्चारले उक्त निर्णय कार्यान्वयन गराएको हो ।

नेपालमा अझै पनि टिकटक प्रयोग भइरहेको हुनसक्ने भन्दै प्राधिकरणले त्यस्तो भेटिए खबर गर्न एक सार्वजनिक सूचना जारी गरेको हो ।

सरकारको निर्णय कार्यान्वयनका लागि सबै इन्टरनेट सेवा प्रदायक र मोवाइल सेवा प्रदायकलाई पत्र पठाएर टिकटक बन्द गर्न निर्देशन दिएको थियो ।

टिकटकमा पहुँच पुगेको भए टिकटक चलिरहेको वा प्रयोग भइरहेको भए प्राधिकरणको इमेल ठेगाना content@nta.gov.np मा इमेल गरी त्यस्तो कम्पनीका बारेमा जानकारी गराउन हुन इन्टरनेट सेवाग्राहीहरुलाई उक्त सूचनामार्फत अनुरोध गरिएको छ ।

https://ujyaalonepalnews.com/archives/33260

दाङमा दाजुभाइ मृत फेला

दाङ- दाङमा एकै घरका दाजुभाइ मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र भाइ ३० वर्षीय टेकबहादुर बस्नेत मृत फेला परेका हुन् ।

उनीहरु बस्ने घरमा घरबेटी बस्दैनथे । मृतक पूर्णबहादुर परिवारका साइला र टेकबहादुर कान्छा सन्तान रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ठाकुरप्रशाद पोखरेलले बताउनुभयो ।

मृतक टेकबहादुरकी श्रीमती रुकुम पश्चिमस्थित माइतीमा गएकाले उनी फर्केपछि मात्रै शव निकाल्ने प्रहरीको भनाइ छ । मङ्गलबार मात्रै शव निकालेर शव परीक्षण गरेपछि घटनाका बारेमा विस्तृत विवरण आउने प्रहरी नायब उपरीक्षक पोखरेलको भनाइ छ ।

https://ujyaalonepalnews.com/archives/33259

अर्थतन्त्र थप चलायमान बनाउन सरकारले निजी क्षेत्रसँग सुझाव लिने

काठमाडौँ- मुलुकको समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनका थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले निजी क्षेत्रसँग सुझाव, सल्लाह लिने भएको छ ।

अर्थतन्त्रको अहिलेको अवस्था र अबको दिशाबारे जानकारी लिन सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थसहित विभिन्न मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायत निकायसँग छलफल गर्नुभएको थियो ।

यही विषयमा आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा निजी क्षेत्रसँग पनि छलफल गरिने अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो । देशको वर्तमान अर्थतन्त्रबारे छलफल गर्न सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

“आन्तरिक संरचनामा के उपलब्धि भयो, वर्तमान समस्या र चुनौती तथा आगामी कार्यदिशा के लिएर अगाडि बढ्दैछौँ भन्ने विषयमा निजी क्षेत्रको पनि सुझाव लिन लागिएका हौँ”, अर्थमन्त्री डा महतले भन्नुभयो ।

आजको बैठकमा देशको अर्थतन्त्रबारे आफूले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको र त्यसपछि राष्ट्र बैंकका गर्भनर र राष्ट्रिय योजना आयोगका प्रतिनिधिले पनि आफ्ना कुरा राखेको महतले बताउनुभयो । अर्थतन्त्र क्रमशः सुधारोन्मुख रहेको उहाँको भनाइ छ ।

“समग्रमा हाम्रो अर्थतन्त्रले लय पक्रँदै गरेको छ, विप्रेषण, पर्यटक आगामन र शोधान्तरको स्थितिले हामी राम्रो अवस्थामा छौँ”, उहाँले भन्नुभयो, “कारोबार कम भइरहेको, उत्पादन कम, लगानी वृद्धि नभइरहेको अवस्था छ, यस विषयमा पनि समीक्षा भयो । जग्गा कारोबार, बैंकबाट कर्जा प्रवाह बढेको र गत वर्षको तुलनामा पूँजीगत खर्च पनि बढेको र साधारण खर्चमा मितव्ययी भएको छ । लक्ष्यअनुसार हामीले उपलब्धि हासिल गरिरहेका छौँ ।”

रोजगारीका अवसर वृद्धि गर्ने विषयमा पनि छलफल भएको अर्थमन्त्री डा महतले बताउनुभयो । त्यस्तै सहकारी र लघु वित्तको नियमन अभावले समस्या आएको विषयमा पनि छलफल भएको थियो ।

बैंक तथा वित्तीय संस्थाको ऋण उठाउने प्रक्रिया विषय कसरी सहज बनाउन सकिन्छ र कति समय थप्न सकिन्छ भन्ने विषयमा राष्ट्र बैंकले के गर्न सक्छ भन्ने विषयमा छलफल भएको मन्त्री डा महतले बताउनुभयो ।

बजेट कार्यान्वयनको चुनौतीलाई सरकारका सबै संयन्त्रले एक लयमा छिटो छरितोसँग परिणाम देखाउने गरी काम गर्ने विषय र जनताका सरोकारका विषयलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको जनाएको छ ।

बैठकमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक र विकाससँग सरोकार राख्ने मन्त्रालयका मन्त्री र सचिव तथा अन्य सम्बन्धित पदाधिकारीको उपस्थिति थियो ।

https://ujyaalonepalnews.com/archives/33258

जोखिममा परेका नागरिकको संरक्षणका लागि अब छुटैं कानुन बन्छ : प्रधानमन्त्री 

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेवारिसे, असहाय, अनाथ, अशक्त, जोखिममा परेका सहयोगापेक्षी सडक आश्रित मानवको समुचित व्यवस्थापन गर्न कानुन तर्जुमा गर्ने बताउनुभएको छ । उहाँले सङ्घीय संसद्को आगामी अधिवेशनमा सरकारले सो सम्बन्धी विधेयक तयार गरी पेस गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मानव सेवा आश्रमले आज यहाँ आयोजना गरेको ‘मेची महाकाली राष्ट्रिय उद्धार यात्रा २०८०’को समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अनाथ, अशक्त, जोखिममा परेका नागरिकको संरक्षणका लागि कानुन नै बनाएर कार्यान्वयन गरिने बताउनुभयो ।

यस्तै, सङ्घ, प्रदेश र स्थानीय सरकारले सहयोगापेक्षी सडक मानव व्यवस्थापन गर्न आ–आफ्नो तहबाट कार्यक्रम तथा बजेट विनियोजन गर्न आवश्यक पहल तथा समन्वय गर्ने प्रधानमन्त्री दाहालले विश्वास दिलाउनुभयो ।

मानव सेवा आश्रमलाई सरकारी तथा सार्वजनिक जग्गा, भवनको प्रयोग तथा संरचना निर्माण, उद्धार वाहनलगायत अत्यावश्यक सेवामा आवश्यक सहयोग गर्न नेपाल सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्न तथा सरकारले घोषणा गरेको नीतिको प्रभावकारी कार्यान्वयन गर्न एक महिनाभित्र नेपाल सरकारको मन्त्रिपरिषद्बाट निश्चित कार्ययोजना स्वीकृत गरी अघि बढ्ने गरी पहल लिने विश्वास दिलाउँछु ।”

मानव सेवाको भावनाद्वारा ओतप्रोत भई आश्रमले निर्वाह गरेको भूमिकाको उच्च सम्मान गर्दै प्रधानमन्त्री दाहालले  यस महाअभियानको सफलताको कामना गर्नुभयो ।

सातवटै प्रदेशमा आफ्नो शाखा तथा सेवा केन्द्रहरु सञ्चालन गरी खुला आकाशमुनि रहेका सात हजारभन्दा बढी सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, उपचार, पालनपोषण तथा परिवार भेटिएका वा भेटिन सम्भव नभएकाको परिवारको खोजी गरी परिवारमा पुनर्मिलन गराएको प्रधानमन्त्रीको भनाइ छ ।

यस्तै, आश्रममा उद्धार, उपचार, गाँसबासको प्रबन्ध गर्दै देशलाई नै सडक मानवमुक्त नेपाल घोषणा गर्ने आश्रमको आकाङ्क्षा, सङ्कल्प र पहललाई प्रधानमन्त्रीले सम्मान व्यक्त गर्नुभयो । “मुठ्ठीदान, जन्मदिन, विवाह वर्षगाँठ, उत्सव, वार्षिकोत्सव, पदोन्नति, विभिन्न पर्व र मानव सेवाको भावनाद्वारा ओतप्रोत जनसमुदायको सहयोगबाट देशैभरि यति धेरै संरचना, सहयोगापेक्षी नागरिकको उद्धार, उपचार र जीविकोपार्जन र अभियन्ता परिचालन गर्नुभएको जानकारी पाउँदा म निकै हर्षित भएको छु,” प्रधानमन्त्रीले भन्नुभयो ।

राज्यले नै गर्नुपर्ने यस प्रकारको महत्त्वपूर्ण अभियान र जिम्मेवारी बहनका लागि यस अभियानमा संलग्नलाई आभार व्यक्त गर्दै प्रधानमन्त्रीले यो अभियानमा सरकार साथमा रहेको विश्वास दिलाउनुभयो ।

“यति कष्टसाध्य काम पनि खुला हृदयका साथ, निरन्तर र अविचलित रुपमा सञ्चालन गर्नुभएको कुरा हामी सबैका निम्ति थप प्रेरणादायी छ । यस सन्दर्भमा महाअभियानमा अविचलित रुपमा क्रियाशील हुनका लागिसमेत सबै अभियन्ताहरुमा विशेष अपिल गर्दछु,” प्रधानमन्त्रीले भन्नुभयो ।

कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल, गायिका आनी छोइङ डोल्मा, हास्यकलाकार मनोज गजुरेल लगायतको उपस्थिति थियो ।

गत असोज २६ गतेदेखि यही ३ गतेसम्म भएको मेची महाकाली राष्ट्रिय उद्धार यात्रा देशका प्रमुख सहरहरूमा सञ्चालन गरिएको कार्यक्रममा जानकारी दिइएको थियो । अभियानका क्रममा तीन सय सहयोगापेक्षी सडक आश्रित मानको उद्धार गरी उनीहरुको मानवोचित व्यवस्थापन गरिएको थियो ।

https://ujyaalonepalnews.com/archives/33257

पाल्पामा च्याउ खेतीतर्फ युवाहरुको आकर्षण बढ्दो

पाल्पा – च्याउ खेतीबाट मनज्ञ आम्दानी गर्न सकिने भएपछि पाल्पामा युवाहरुको च्याउ खेतीमा आकर्षण बढ्दै गएको छ ।

१०,१२ वर्ष अघिसम्म पाल्पामा च्याउ खेती नहुँदा भारतबाट आयातित च्याउ खानपर्ने बाध्यता थियो । हिजो आज प्रसस्त च्याउ उत्पादन भएपछि पाल्पाबाट च्याउ निर्यात हुने गरेको छ ।

पाल्पामा च्याउ खेतीको सुरुवात केशव कार्कीले गरेका हुन् । च्याउ खेतीबाट उनले प्रसस्त आम्दानी गरेपछि गाउँका युवाहरुलाई समेत उनले तालिम दिदै आएका छन् ।  अहिले कार्कीले १० वटा स्थानिय तहमा ५ सय युवाहरुलाई च्याउ खेती उद्यमी बनाउने लक्ष्य राख्दै गाउँ गाउँका युवालाई च्याउ उत्पादन गराउने अभियानमा लागेका छन् ।

कार्कीले च्याउ खेती बाट वर्षमा ८, १० लाख सजिलै आम्दानी गरेकाले विदेशीएका युवालाई समेत यो खेती बाट आकर्षण गर्ने अभियानमा लागेका हुन् । १५ वर्षसम्म वैदेशीक रोजगारमा काम गरेर फर्केका पाल्पाका राजु विष्टले पनि कार्कीकै प्रेरणाबाट वर्षको ७ लाख रुपैया कमाउन थालेको बताउछन् ।

कटुस, उत्तीस, र जामनको काठको मुढामा प्वाल पारेर उत्पादन गरिने सिताके च्याउ सबै भन्दा महंगो मानिन्छ । यसको मुल्य ठाउँ अनुसार प्रतिकिलो १ हजार रुपैया सम्ममा बिक्ने गर्दछ । पाल्पामा अहिले किसानहरु सिताकेका साथै कन्ये र गुवाली च्याउ खेती गर्ने गर्दछन् । पाल्पामा उत्पादित च्याउ बुटवल, पोखरा, काठमाडौं, लगाएत भारतको दिल्ली सम्म पुग्ने गरेको केशव कार्की बताउनुहुन्छ ।

च्याउ स्वास्थ्यको लागि राम्रो मानिएकाले मासुको विकल्पको रुपमा पनि प्रयोग गर्न थालिएको छ ।

https://ujyaalonepalnews.com/archives/33256

बुटवलमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

बुटवल रुपन्देहीमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यू भएको छ । दुर्घटनामा परि रुपन्देही शंखनगर निवासी माधव देवकोटा र एकजना महिलाको मृत्यु भएको हो । तिलोत्तमा नगरपालिकाको ड्राईभरटोलमा ट्रकले मोटरसाइलाई ठक्कर दिदा दुवै जनाको घटना स्थलमा ज्यान गएको हो ।

ना ६ ख ८१६१ ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको र मृतक महिलाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

लु ४९ प २२३० नम्वरको मोटरसाईकलमा तिलोत्तमा उद्योग बाणिज्य संघलले मणिग्राममा आयोजना गरेको मेलातर्फ जादै गरेका स्थानीयले बताएका छन् ।

तिलोत्तमामा रहेको तिलोत्तमा सहकारीका अध्यक्ष रहेका देवकोटा सहकारी संघका केन्द्रिय सदस्य एवं राष्टिय सहकारी बैकका सन्चालक हुन्।

https://ujyaalonepalnews.com/archives/33255

भूकम्पपीडितका लागि अस्थायी आवास निर्माणका १ अर्ब ४१ करोड रकम निकासा

काठमाडौं – सरकारले जाजरकोट भूकम्पपीडितका लागि तत्काल अस्थायी आवास निर्माण गर्न रकम निकासा गरेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि भुकम्प प्रभावित पाँच जिल्लामा पहिलो किस्ताका लागि कुल १ अर्ब ४१ करोड रकम निकासा गरेको हो ।

प्राधिकरणका अनुसार जाजरकोट र पश्चिम रुकुमका लागि ५०-५० करोड रुपैयाँ पठाइएको छ। बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि २ करोड पठाएको छ ।

भूकम्प पीडित प्रतिपरिवारलाई अस्थायी आवास बनाउन पहिलो किस्तामा २५ हजार र दोस्रो किस्तामा २५ हजार गरी कूल ५० हजार रुपैयाँ दिने सरकारले निर्णय अनुसार पहिलो किस्ताको रकम निकासा गरिएको प्राधिकरणका सह-सचिव जय नारायण आचार्यले नेपाल टिभी अनलाईनलाई जानकारी दिनुभयो ।

भुकम्पपीडितले अस्थायी आवास निर्माणका लागि निवेदन दिए लगत्तै पहिलो किस्ताबापत २५ हजार रुपैयाँ  पाउने छन् भने निर्माण सम्पन्न भएपछि दोश्रो किस्ता २५ हजार रुपैयाँ उपलब्ध गराइने सहसचिव आचार्यले बताउनु भयो ।

गत कार्तिक १७ गते जारकोट केन्द्रविन्दु गरी गएको भुकम्पबाट २६ हजार ५ सय ५७ घरमा पूर्ण रुपमा र ३५ हजार ४ सय ५५ घरमा आंशिक क्षति भएको थियो । भुकम्पमा परी १५४ जनाको मृत्यु भएको थियो भने ३३६ जना घाइते भएका थिए ।

https://ujyaalonepalnews.com/archives/33254

कोल्बुङ बस दुर्घटना अपडेटः मृतकको सङ्ख्या तीन पुग्यो

झापा- मेची राजमार्गको रोङ गाउँपालिका–३ कोल्बुङमा भएको बस दुर्घटनामा घाइते भएका मध्ये थप दुईजनाको उपचारको क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाको अनुसार आइतबार भएको दुर्घटनामा घाइते भएका धनुषाधाम नगरपालिका –९ धारापानी बस्ने ३५ वर्षीया मनवती लामा र सोही वडाकी ६० वर्षीया शान्तमाया तामाङको उपचारकै क्रममा मृत्यु भएको हो ।

विर्तामोडस्थित विएण्डसी अस्पतालमा लामाको आइतबार र तामाङको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिनुभयो । दुर्घटनामा आइतबार साँझ वडा नं –९ कै १२ वर्षीय अर्पण लामाको घटनास्थलमै मृत्यु भएको थियो । बस दुर्घटनामा मृत्यु हुनेका सङ्ख्या तीन पुगेको उहाँले बताउनुभयो ।

धनुषाबाट कन्याम घुम्न आएको ना ६ ख ८४२४ नम्बरको बस फर्कने क्रममा सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको थियो । बस दुर्घटनामा चालकसहित ३७ जना घाइते भएका थिए । जसमध्ये तीनको मत्यु भइसकेको छ भने ३३ जनाको हाल विएण्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये अन्य दुई जनाको अवस्था पनि चिन्ताजनक रहेको छ । उनीहरुको भेन्टिलेटरमा उपचार भइरहेको छ ।बसका चालक धनुषा जनकपुर उपमहानगरपालिका –२३ का ४५ वर्षीय हरिकिन राउतलाई इलका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिएको छ । उहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/33253

टिकटक प्रतिबन्धविरुद्ध परेको मुद्दा हेर्न नभ्याइनेमा 

काठमाडौं –  टिकटक प्रतिबन्धविरुद्ध परेको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । सरकारले लगाएको टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भएका थिए ।  रिटमाथि आज न्यायाधीश कुमार चुडालको एक इजालसमा प्रारम्भिक सुनुवाइको पेशी तोकिएको थियो ।

मुद्दा हेर्ने नभ्याइनेमा सूचीमा राखिएको सर्वोच्च अदालतको वेभसाइटमा उल्लेख छ । न्यायाधीश चुडालको एकल इजालसमा राखिएका सवै मुद्दाहरु हेर्न नभ्यइने सूचिमा राखिएको छ ।

न्यायाधीश चुडाल र नहकुल सुवेदीको संयुक्त इजलासमा चढेका मुद्दाहरुको सुनुवाइ जारी रहेकाले एकल इजालासमा चढाइएका मुद्दाहरु हेर्न नभ्याइनेमा राखिएको सर्वोच्च अदालतले जनाएको छ ।

टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा शुक्रबार १० वटा रिट दर्ता भएका थिए । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू त्रिलोकबहादुर चन्द, प्रेम सिलवाल, अनन्तराज लुइँटेल, डा.सुनिल रञ्जन सिंह, त्रिलोकबहादुर चन्द, यज्ञमणि न्यौपाने र  फर्सुराम पाण्डे लगायतले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

रिटमा सरकारको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी पूर्ववत् अवस्थामा टिकटक चल्न दिन अन्तरिम आदेशको माग गरिएको छ ।

गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

https://ujyaalonepalnews.com/archives/33252

तुलसीमान श्रेष्ठ स्मृति राष्ट्रिय लोक साहित्य पुरस्कार मंसिर २३ गते दिइने

काठमाडौँ- तुलसीमान श्रेष्ठ स्मृति समाजले साहित्य र संगितको क्षेत्रमा काम गर्ने श्रष्टाहरुलाई प्रोत्साहित गर्ने कार्यलाई निरन्तरता दिने भएको छ।

समाजको सातौँ बार्षिक साधारण सभामा बरिष्ठ साहित्यकारहरुले स्वर्गीय तुलसीमान श्रेष्ठले नेपाली साहित्य र लोक संगितको क्षेत्रमा पुर्‍याउनु भएको योगदानका बारेमा नयाँ पुस्तालाई जानकारी दिन स्मारिका प्रकाशनदेखि सम्मान र प्रोत्साहन स्वरुप पुरस्कृत गर्दै जाने निर्णय गरेको हो ।

कार्यक्रममा बरिष्ठ साहित्यकार एवं प्राज्ञ बिष्णु बिभु घिमिरे, प्रा डा. बद्री विशाल भट्टराई, प्रा डा कुलप्रसाद कोइराला, डा हरि पराजुली लगायतका वक्ताहरुले खासगरी नेपाली लोक साहित्यमा स्वर्गीय श्रेष्ठले पुर्‍याउनु भएको योगदानको स्मरण गर्नुभएको थियो ।

स्वर्गीय श्रेष्ठका छोरा डा निरजमान श्रेष्ठले अमेरिकाबाट जुम प्रबिधिमार्फत समाजको आगामी कार्यक्रमका वारेका जानकारी दिनुभएको थियो ।

लामो समय प्राध्यापन सेवामा रहनु भएका स्वर्गीय श्रेष्ठ लोक साहित्यको अनुसन्धानमा समर्पित हुनु हुन्थ्यो भने गोरखाबाट प्रकाशित दरौंदी पत्रिकाको संस्थापक प्रधान सम्पादक पनि हुनुहुन्थ्यो ।

२०७३ मा क्यान्सर रोगबाट निधन भएपछि उहाँको सम्मानस्वरुप समाज र तुलसीमान श्रेष्ठ स्मृति राष्ट्रिय लोक साहित्य पुरस्कारको स्थापना गरिएको थियो ।

२५००० रुपैँयाको राशी भएको उक्त पुरस्कार विगतमा साहित्यकारहरु चुडामणी वन्धु, सत्यमोहन जोशी, तुलसी दिवश, नन्दकृष्ण जोशी र ज्ञानु राणालाई प्रदान गरिसकिएको छ भने यो बर्ष मंसिर २३ गते सो पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।

यसैबीच, तुलसीमान श्रेष्ठ स्मृति समाजले आगामी २ बर्षका लागि नयाँ कार्य समिति चयन गरेको छ। जसअनुसार अध्यक्षमा प्राध्यापक सिताराम अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ। काठमाडौँमा भएको सातौं बार्षिक साधारण सभाले प्राध्यापक अधिकारीलाई २०८०-२०८२ को लागि पुन: अध्यक्ष पदमा  निर्बाचित गरेको हो ।।

https://ujyaalonepalnews.com/archives/33251