Home Blog Page 76

नियतिको खेल, श्रीमान् र सासुको किरिया गर्दै छोराको खबर कुर्दै बबिता

गोरखा : कलेजो र पित्तथैलीको क्यान्सरसँग १३ महिना लामो लडाइँ हारेपछि श्रीमान् शंकर रोकाको गत शुक्रबार निधन भयो।

पशुपति आर्यघाटमा उनको दाहसंस्कार सकेर फर्कने क्रममा शनिबार बिहान ७ बजे त्रिशूलीमा ट्याक्सी खस्दा सासू आमासहित परिवारका पाँच जनाको मृत्यु भयो।

बुबालाई दागबत्ती दिएर फर्केका एक मात्र सन्तान १८ वर्षका विवश रोका पनि सोही ट्याक्सी दुर्घटनामा परी बेपत्ता छन्।

अकल्पनीय बज्रपात खेपिरहेकी परिवारकी एकमात्र जीवित सदस्य बबिता रोका अहिले काजकिरियामा छिन्। उनी शंकरकी अर्धांगिनी हुन्। ‘परिवारका सबै गुमेपछि भाउजू एक्लै बाँकी हुनुहुन्छ।

उहाँ नै किरिया बस्नुभएको छ’, देवर नाता पर्ने स्थानीय विकास रोका भन्छन्, ‘किरिया बस्न हामी दाजुभाइ खलक सबै तयार थियौं, तर भाउजूले आफैं किरिया बस्छु भनेपछि अरू बोल्ने कुरै भएन।

अस्ति शनिबारदेखि आजसम्म तीन दिन भयो उहाँ परम्पराअनुसार सेतो पहिरनमा किरिया बसिरहनु भएको छ।’

घरमूली शंकरका पिता दिलबहादुर रोका पनि १५ वर्षअघि दिवंगत भइसकेकाले उनको परिवारको विरासत ३६ वर्षकी बबिताले काँध थाप्नु परेको छ।

दुर्घटनामा मृतक शंकरकी आमा जुनकिरी रोका, जुनकिरीकी जेठी छोरी हरिमाया उपरकोटी, हरिमायाका आठ वर्षका छोरा आगमन, कान्छी छोरी अञ्जना र ज्वाइँ अर्जुन सिर्मलको मृत्यु भएको थियो। जुनकिरीकी एक मात्र छोरा शंकर र शंकरका एक मात्र सन्तान विवश हुन्।

मृत्यु भएका पाँचै जनाको शनिबार राति रामशाहघाटमा संयुक्त दाहसंस्कार गरिएको थियो। परिवार कोही पनि बाँकी नरहेपछि उनकी सासूआमा जुनकिरीलाई देवर हरिबहादुर रोकाले दागबत्ती दिएको विकास रोकाले बताए।

किरिया बस्ने क्रममा बबिता हराइरहेका छोरा विवशलाई सम्झेर भक्कानिने गर्छिन्। ‘श्रीमान् सम्झेर होला, सासूलाई सम्झेर होला।

त्योभन्दा अझ छोरा हराइरहेको छ। अहिलेसम्म फेला पार्न सकिएको छैन। यस्तै-यस्तै सम्झेर होला, भाउजू बेला-बेला भक्कानिनुहुन्छ’, विकासले भने।

विवशको खोजीमा पौवाखेतका १० जनाको टोली दैनिक पालो लगाएर त्रिशूलीको किनारै किनार ओहोरदोहोर गरिरहन्छन्। ‘तीनदिन भयो खोजेको खोज्यै छौं। फेला पारेका छैनौं’, अर्का स्थानीय सागर रोका भन्छन्, ‘यसअघि यस्तै हराएका मान्छे खोजेका अनुभवीहरू चार दिनमा पाखामा उतार्छ भन्छन्, भोलि त पाइन्छ कि भन्ने आशा छ।’ पितृशोकमा रहेका विवश कक्षा १२ को परीक्षाको तयारी गरिरहेका थिए।

कालिकामा एकदिने एकिकृत चरण तथा पशुपालन व्यवस्थापन तालिम आयोजना

कालिका । समुदाय, वन्यजन्तु र जलवायुको क्षेत्रमा कामगर्दै आएको गैरसरकारी संस्था सहमतिले कालिका नगरपालिकामा एकदिने एकीकृत चरन तथा पशुपालन व्यवस्थापन तालिम आयोजना गरेको छ ।

कालिकाको अमलाचुली सामुदायिक वन उपभोक्ता समुह र इच्छाकामना गाउँपालिकाको सामेरी सामुदायिक वन उपभोक्ता समुहमा आवद्ध ४५ जना उपभोक्ताहरुलाई एकीकृत चरन तथा पशु व्यवस्थापनबारे तालिम दिइएको हो ।

कालिका नगरपालिकाको वडा नं. ८ गैरीबारीमा आयोजना तालिमको वडाध्यक्ष चित्रबहादुर मगरले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष मगरले एकिकृत चरन प्रणालीको विकासवाट व्यवस्थित र व्यवसायिक पशुपालन गर्न सकिने बताए ।

वनजंगल संरक्षणसँगै त्यसको व्यवस्थित उपभोग गर्न सके मनग्ये फाइदा लिन सकिने भएकाले तालिममा सिकाईने व्यवहारिक र प्राविधिक ज्ञान लिएर दैनिक जीवनमा लागु गर्न सहभागीहरुलाई आग्रह गरे ।

यस्ता तालिमले किसानहरुलाई व्यवसायिक पशुपालन गरि आर्थिक समृद्धिको बाटो तर्फ लम्कन उत्प्रेरित गर्ने भएकाले वडाध्यक्ष मगरले आयोजक संस्था सहमतीलाई धन्यवाद ज्ञापन गरे ।

तालिममा इच्छाकामना गाउँपालिका कुरिनटारका पशु चिकित्सक डा. सुनील ज्ञवालीले पशु व्यवस्थापन र एकिकृत चरनको विकासबारे सहजिकरण गरेका थिए । सहभागीहरुलाई गोठखोर सुधार, पशुपालनगर्दा ध्यानदिनुपर्ने महत्वपूर्ण विषय र आहारको बारेमा जानकारी दिइएको थियो ।

सहमतिले डब्लुडब्लुएफ नेपालसँगको सहकार्यमा नवलपरासी र चितवनको विभिन्न क्षेत्रमा समुदाय, वन्यजन्तु र जलवायुको क्षेत्रमा कार्यक्रम संचालन गर्दै आईरहेको छ ।

अमलाचुली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मिनवहादुर गुरुङको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रम
सहमतीका चितवन जिल्लाका  लागि सामाजिक सहजकर्ता जनक सुवेदीले संचालन गरेका थिए ।

उन्नत जातको मकैमा दाना लागेन, किसानको सारा लगानी र श्रम डुब्यो

सर्लाही : उन्नत जातको मकैमा दाना नलागेपछि सर्लाहीका किसान चिन्तित भएका छन्। जिल्लाको बागमती, बरहथवालगायत स्थानमा सयौँ किसानले लगाएको उन्नत जातको मकैमा दाना नलागेपछि किसानलाई चिन्ताले सताएको हो।

मकैमा आकर्षक घोगा लागे पनि दाना भने नलागेको स्थानीय किसान चन्द्रबहादुर जिम्बाले गुनासो गरे। प्रतिकिलो रु ६५० किलोमा किनेर सात कट्ठामा लगाएको मकैमा दाना नलागेपछि लगानी डुबेको बागमती नगरपालिका–४, का किसान राम विश्वास महतोले बताए।

“धेरै फल्ने आशमा महँगो मूल्यमा बीउ किनेर रोपियो”, उनले भने, “अहिले सबै लगानी डुब्यो।” बागमती र बरहथवाका किसानले लगाएको बिघौँबिघा क्षेत्रफलको हाइब्रिड मकैमा दाना नलागेको किसानको दाबी छ।

यस क्षेत्रमा उत्पादन राम्रो हुने भएपछि किसानले वर्षको दुई यामसम्म उन्नत जातको मकै रोप्ने गरेका छन्। प्रशस्त फल्ने विश्वासमा ऋण गरेर रोपेको मकैमा दाना नलागेपछि आफू बर्बाद भएको अर्का किसान रञ्जित महतोले गुनासो गरे।

उनले गत मङ्सिरमा तीन बिघा क्षेत्रफलमा उन्नत जातको मकै लगाएको बताए। उनका अनुसार घोगा ठूलो लागे पनि दाना लागेको छैन।

महँगो बीउसँगै विशेष किसिमले मलखाद हालेर लगानी गरेको मकै नफलेपछि किसान छागाँबाट खसेजस्तै भएका छन्। र किसानलाई गुणस्तरहीन मकैको बीउ बिक्री गरेर ठगी गरेको बरहथवा–५ कि ललिता साहको आरोप छ। मकैमा दाना नलागेपछि आफूहरु सङ्कटमा परेको उनले गुनासो गरे।

उन्नत जातको मकै खेतीका लागि प्रतिकट्ठा रु तीन हजारदेखि तीन हजार पाँच सयसम्म खनजोत, मलखाद र कामदार खर्च लागेको किसानहरूले बताएका छन्। जग्गा भाडामा लिएका किसानको लगानी अझ बढी छ।

उत्पादन बिग्रिएका अधिकांश किसानले भारतीय बीउ उत्पादन कम्पनी नुजिभिडु सिड्सले उत्पादन गरेको ‘विनर’ नामको मकै लगाएको बताएका छन्। मङ्सिरका पहिलो साताअघि लगाइएको अन्य कम्पनीका हाइब्रिड जातको मकैमा समस्या देखिएको बागमती नगरपालिकाका कृषि प्राविधिक हिमाल साहीले जानकारी दिए।

बीउ उत्पादक कम्पनीले भने मौसम अनुकूल नभएका कारण मकैमा दाना नलागेको जनाएको छ। नुजिभिडु सिड्सका नेपाल प्रतिनिधि श्रीप्रसाद पालिखेलले किसानले समयअगावै मकै रोपेका कारण समस्या भएको दाबी गरे।

मकैको परागसेचनको समयमा धेरै चिसो भएको उनले दाबी गरे। “किसानले मकै रोप्न हतार गर्नुभयो”, उनले भने, “कम्पनीले मकै रोप्ने समय जानकारी गराउँदा अटेर गर्नुभएको देखियो।” मङ्सिर पहिलो सातादेखि रोप्नुपर्ने मकै कात्तिकतिरै रोपिएको उनको दाबी छ।

दाना नलागेका किसानको विवरण सङ्कलन गरेर भारतस्थित कम्पनीमा जानकारी गराइएको उनले बताए। किसानलाई कसरी राहत पुर्‍याउन सकिन्छ भनेर आफूहरुले अनुगमन गरिरहेको उनले बताए। नगरपालिकास्थित कृषि शाखाले क्षतिको विवरण सङ्कलन गरिरेहेको छ।

किसानलाई अनुदानमा वितरण गरेको मकै उत्पादन नभएको गुनासोपछि आफूहरुले विवरण सङ्कलन सुरु गरेको र एक दुई दिनभित्रमा पूर्ण विवरण सार्वजनिक गरिने नगर कृषि शाखा अधिकृत अवधेशकुमार झाले जानकारी दिए।

अत्यधिक मकै उत्पादन हुने यस क्षेत्रमा नगरपालिकाले ‘मकै क्षेत्र’ विकासका लागि छ सय किलो विनर मकैको बीउ अनुदानमा वितरण गरेको थियो।

जिल्लाको कर्मैया, ढुङ्ग्रेखोला, शङ्करपुर, राजघाट, हजरिया, मुर्तियालगायत स्थानमा हाइब्रिड मकै उत्पादन हुने गरेको छ। जिल्लामा बर्सेनि १२ हजार हेक्टर क्षेत्रफलमा मकै लगाउने गरिको छभने यहाँ ५ दशमलव ३ लाख मेट्रिक टन मकै उत्पादन हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत देवानन्द यादवले बताए।

 

घन्टीभाईहरुबाट पनि मुलुक चल्दैन : अध्यक्ष लिङ्देन

रत्ननगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टीका नेतृत्व तथा घण्टीभाईहरुबाट पनि मुलुकले निकास नपाउने बताएका छन् ।

सो पार्टीको चितवन क्षेत्र नं १ क्षेत्रीय समितिले रत्ननगरमा शनिबार आयोजना गरेको आमसभामा बोल्दै उनले राजनीतिक कार्यदिशा नभएको रास्वपाबाट पनि देशले निकास नपाउने बताए ।

रवि लामिछाने नेतृत्वको पार्टीको न राजनीतिक सिद्धान्त छ न स्पष्ट कार्यदिश छ प्रश्न गर्दैै उनले भने रंग नभएको पार्टीले कसरी मुलुकलाई निकास दिन्छ ।

अध्यक्ष लिङदेनले राज्य व्यवस्थाको कारणले अर्थतन्त्रमा कमजोर भएको बताए । विदेशबाट ऋण लिएर नेता पाल्नु परेको छ उनले भने अनावश्यक सांसद र मन्त्रीहरुलाई तलब, भत्ता खुवाउनु परेका कारण अर्थव्यवस्था विग्रिएको हो ।

तीन करोड जनता भएको मुलुकमा ३६ हजार जनप्रतिनिधिलाई विदेशबाट ऋण लिएर तलव, भत्ता खुवाउनु परेको भन्दै उनले राष्ट्रिय सभा र प्रदेश संरचना खारेज गर्नुपर्ने बताए ।

नेपालमा गणतन्त्र असफल भइसकेको भन्दै अध्यक्ष लिङदेनले केन्द्र र स्थानीय गरी दुई तहको राज्य व्यवस्था स्थापित हुनुपर्नेमा जोड दिए ।

बरिष्ठ उपाध्यक्ष तथा सांसद विक्रम पाण्डेले मुलुक सही दिशामा नरहेका कारण युवाहरु विदेश पलायन हुनेक्रम अपत्याशित रुपमा बढ्दै गएको बताए ।

आमसभामा सो पार्टीका प्रबक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले राजनीतिक अत्यचार उत्कर्षमा रहेको भन्दै गणतन्त्र फाल्ने अन्तिम लडाईको लागि राप्रपाले तयारी गरिरहेको बताए ।

उनले धर्मनिरपेक्षता खारेज गरी मुलुकलाई हिन्दुराष्ट स्थापित गर्नुपर्नेमा जोड दिए । सरकार संचालनमा ठुला दलहरुको समिकरणका कारण मुलुक दलदलमा फसेको भन्दै उनले गणतन्त्रको खारेजीको लागि जनता सडकमा आउने बेला भईसकेको बताए ।

क्षेत्रीय अध्यक्ष अध्यक्ष बलराम खनालले शुन्यबाट सुरु भएको राप्रपा शिखर उन्मुख शक्तिको रुपमा उदय भएको बताए ।

कार्यक्रममा सो पार्टीका महामन्त्री शरदराज पाठक, सहमहामन्त्री रिना गुरुङ, जिल्ला अध्यक्ष रूद्र ढकाल लगायतले मन्तव्य राखेका थिए ।

क्षेत्रीय अध्यक्ष खनालको अध्यक्षतामा भएको आमसभामा विभिन्न पार्टी परित्याग गरी एकसय बढी युवाहरु राप्रपामा प्रवेश गरेको प्रदेश ख समितिका अध्यक्ष हरिशरण भट्टराईले जानकारी दिए ।

एमालेबाट थपलिया आर्थिक मामिला मन्त्री बन्दै

हेटौंडा । बागमती प्रदेश सरकार आज पुनः विस्तार हुने भएको छ ।

जगन्नाथ थपलियाको नेतृत्वमा नेकपा एमाले सरकारमा जाने तय भएको हो । थपलियालाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिन लागेको जनाइएको छ ।

उनको पद तथा गोपनीयताको सपथ आज साँझ ५ बजे हुनेछ । एमालेका थपलिया दोस्रो पटक मन्त्री बन्न लागेका हुन् । यसअघि २६ पुस २०७९ मा पनि आर्थिक मामिला मन्त्री बनेका थिए ।

बागमतीमा रिक्त ६ वटा मन्त्रालयमा चैत्र १५ हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारीमन्त्री भइसकेका छन् । तस्विर:फाईल

त्रिशुली घटना अपडेट: पाँचजनाको घटनास्थलमै मृत्यु एकजना बेपत्ता

१७, चैत, चितवन । काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्सी चालक गोरखा नगरपालिका वडा नं. ७ बस्ने अर्जुन शिर्मल, सोहि स्थान बस्ने हरिमायां रोकाय, जुनकिरी रोकाय, अन्जना रोकाय, अन्दाजी ९ वर्षका बालक आगमन नगरकोटी छन् । त्यस्तै ट्याक्सीमा सवार एकजना बेपत्ता छन् । बेपत्ता हुनेमा गोरखा न.पा.७ बस्ने बर्ष १८ को दिवश रोकाय छन् ।

चितवनको इच्छाकामना-५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट ७ः१५ बजेको समयमा  बा२ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको हो ।।

बुवाकाे दाहसंस्कार गरेर फर्किँदै थिए त्रिशुलीमा खसेका परिवार

दुर्घटनामा परी मृत्यु भएका पाँचै जना काठमाडाैंबाट बुबाको दाहसंस्कार गरी गोरखा फर्कदै थिए ।  मृतक मध्ये ४ जना एकैपरिवारका हुन् । मृतकहरु हिजो पशुपतिमा बुबाको दाहसस्कार गरी आज बिहानै गोरखाका लागि हिँडेका थिए ।

गाडी चालक ३५ वर्षका अर्जुन शिर्मल रोकाय परिवारका ज्वाइँ हुन् । मृत्यु हुने ७० वर्षीया जुनकिरी रोकाय शिर्मलका सासू हुन् । भने अन्य दुई ४१ वर्षकी हरिमाया रोकाय र २८ वर्षकी अञ्जना जुनकिरीकी छोरी हुन् ।

बालक ९ वर्षका आगमन नगरकोटी जुनकिरीकी छोरीकी छोरा हुन् । र हराईरहेका दिवश जुनकिरीका नाती हुन्  ।

काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूलीमा खस्यो

१७, चैत, चितवन । काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खसेको छ ।

आज बिहान इच्छाकामना गाउँपालिकाको मुग्लिन बजारबाट एक किलोमिटर कुरिनटारतर्फको सडकबाट ट्याक्सी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

उनका अनुसार ट्याक्सीमा चालकसहित ५ जना यात्रु रहेको अनुमान गरिए पनि यकिन संख्या थाहा छैन ।

अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ । सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गण कुरिनटारको टोलीले घटनास्थलमा पुगेर ट्याक्सीमा सवार यात्रुहरूको खोजी थालेको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।

रौतहटमा एसईई परीक्षा केन्द्रहरूबाट ५ सयभन्दा बढी मोबाइल बरामद

रौतहट । एसईई परीक्षाको दोस्रो दिन शुक्रवार रौतहट स्थित विभिन्न परीक्षा केन्द्रहरू बाट अनुगमन टोलीले ५०० थान भन्दा बढी मोबाइल बरामद गरेको छ। परीक्षालाई मर्यादित बनाउन रौतहटका सिडिओ हिरालाल रेग्मी, एसपी महेन्द्र कुमार श्रेष्ठ, सहितको टोलीले परीक्षा केन्द्रहरूमा अनुगमनको क्रममा उक्त मोबाइल बरामद गरेको हो।

परीक्षामा अमर्यादित गतिविधि भइरहेको सूचनाको आधारमा गौर स्थित जुद्ध मावि, मावि टिकुलिया, सरवस्ती मावि पिपरा, मावि ब्रहमपुरी, मावि मूडवलवा, शंकर मावि सरमुजवा, ब्रहमज्योति मावि लौकाहा, मावि गरुडा, मावि समनपुर, मावि कटहरिया, कंकाली मावि जंगलसैया, मावि बरजगवा, जयकिसान मावि धरहरी, मावि जुडिबेला लगायत जिल्लाको १८ स्थानियतह अन्तर्गत ३१ वटा परीक्षा केन्द्रमा अनुगमनको क्रममा परीक्षार्थी बाट ५०० थान भन्दा बढी मोबाइल बरामद गरिएको टोलीमा सहभागी जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन्।

बरामद मोबाइलहरू जिल्ला प्रहरी कार्यालय गौरको नियन्त्रणमा रहेको तथा एसईई परीक्षा सकेपछि सम्बन्धित परीक्षार्थीलाई फिर्ता गरिने प्रवक्ता गिरीले जानकारी दिएकी छिन्।

रौतहट स्थित जारी एसईई परीक्षामा कारागार र प्रहरी हिरासतबाट एक एकजना परीक्षार्थी सहभागी भएका छन्। एकजना जिल्ला कारागार गौर र अर्का एकजना परीक्षार्थी लागू औषध मुद्दामा रहेका इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनियामा प्रहरीको हिरासतबाट एसइईमा परीक्षामा सहभागी भएका छन्।

त्यस्तै एक जना दृष्टिविहीन परीक्षार्थी पनि परीक्षामा सहभागी भएको जिल्ला शिक्षा समन्वय इकाइ रौतहटले जनाएको छ।

कालिकामा सहमतीको बेमौसमी तरकारी खेती तालिम सुरु

उज्यालो नेपाल, रत्ननगर, चैत्र १६-  समुदाय, वन्यजन्तु र जलवायुको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था सहमतीले कालिका नगरपालिकामा बेमौसमी तरकारी खेती तालिम सुरु गरेको छ ।

संस्थाले कालिकाका तिनवटा सामुदायिक वनमा आवद्ध २२ जना किसानहरुलाई तालिम संचालन गरेको हो । तालिम पाउनेहरुमा चतुर्मुखी, अमलाचुली र भिमवली सामुदायिक वनमा आवद्ध किसानहरु छन् ।

कालिकाकै भिमवली सामुदायिक वन कार्यालयको सभाहलमा सुरु भएको तालिमको शुक्रबार एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि वडा नं. ५ का वडाध्यक्ष दिपक बहादुर भट्टराईले यस्ता तालिमले किसानहरुको आर्थिक क्षमता बढाउन सहयोगी भूमिका खल्ने धारणा व्यक्त गरे ।

सामुदायिक वनमा आवद्ध किसानहरु आर्थिक रुपमा सबल भएमात्र संरक्षणको काम दिगो हुने बताउँदै थापाले आयोजक प्रति धन्यवाद ज्ञापन गरे ।

भिमवली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जयचन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रम सहमतीका चितवन जिल्लाको लागि सामाजिक सहजकर्ता जनक सुवेदीले संचालन गरेका थिए ।

सहमति संस्थाले डब्लु डब्लु एफ नेपालसँगको सहकार्यमा यस्ता कार्यक्रम संचालन गर्दै आएको छ । तालिमका सहभागीहरुलाई नेपाल कृषि अनुसधान परिषदका वरिष्ठ वैज्ञानिक डा. सुवास सुबेदीले प्रशिक्षण दिनेछन् ।

त्रिभुवन विश्वविद्यालयमा हराएका उत्तरपुस्तिका छानबिन गर्न समिति गठन

काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएकोबारे छानबिन गर्न विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्रा.डा.चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले हिजो गरेको निर्णयअनुसार उत्तरपुस्तिका हराएकोबारे विस्तृत छानबिन गरी ३० दिनभित्र प्रतिवेदन पेश गर्न समिति गठन भएको हो ।

गएको वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य विषय (कोड न. ४२२) र शिक्षाशास्त्र सङ्कायतर्फको शिक्षाको आधार विषय (कोड न. ४१२) को उत्तरपुस्तिका हराएको थियो ।

विश्वविद्यालयले उत्तरपुस्तिका हराएका विद्यार्थीको परीक्षा आउँदो २१ गते सञ्चालन गर्ने जनाएको छ । त्यसका लागि परीक्षा नियन्त्रण कार्यालयले क्याम्पसहरुलाई निर्देशन दिइसकेको छ । निर्देशनको आधारमा चितवनको वीरेन्द्र बहुमुखी क्याम्पस, शहीद स्मृति बहुमुखी क्याम्पस र दाङको देउखुरी बहुमुखी क्याम्पसले पुनः परीक्षा सञ्चालन हुने सूचना प्रकाशित गरेका छन ।

गएको वर्ष पनि व्यवस्थापन सङ्कायअन्तर्गत बीबीएस चौथो वर्षको एक विषयको उत्तरपुस्तिका हराएपछि पुनः परीक्षा भएको थियो ।