Home Blog Page 77

गुल्मीमा ६२ वर्षका वृद्ध नातिसँगै एसईईमा सहभागी

१५ चैत गुल्मी । गुल्मीमा ६२ वर्षका एक वृद्धले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका छन् ।

जिल्लाको मदाने गाउँपालिका–६ पुर्कोट दहका टीकाबहादुर कुँवरले बिहीबार म्यालेपोखरी माध्यमिक विद्यालयबाट पहिलो दिन अंग्रेजी विषयको परीक्षा दिए ।

उमेर छँदा विभिन्न कारणले पढ्न नपाएकाले पढ्ने रहर पूरा गर्नका लागि एसईई दिएको कुँवरले अनलाइनखबरलाई बताए । उनी पृथ्वी माध्यमिक विद्यालयका नियमित विद्यार्थी हुन् ।

टीकाबहादुरका नाति अंकितले पनि यस वर्षको एसईई केन्द्राध्यक्ष प्रेमबहादुर बोहराले जानकारी दिए । म्यालेपोखरी माध्यमिक विद्यालयको केन्द्रबाट १७४ जना एसईई परिक्षामा सहभागी भएका छन् ।

गुल्मीबाट यसवर्ष ४ हजार ९७ जना एसईई दिएका छन् । अघिल्लो वर्ष ४ हजार ७२२ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए ।

जुन यस वर्ष भन्दा ६२५ जना बढी हो । जिल्लाबाट नियमित साधारणतर्फ ३ हजार ७९० जना नियमित प्राविधिक तर्फ २ सय ९५ जना विद्यार्थी सहभागी हुने भएका छन् । ग्रेड वृद्धितर्फ १२ जना विद्यार्थी सहभागी भएका छन् ।

जिल्लाबाट यसवर्ष दृष्टिविहीन १ जना फरक क्षमता भएका १ जना विद्यार्थी पनि सहभागी भएका छन् ।

एमडीएमएस खरिदमा १ अर्ब हिनामिना

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) उपकरण खरिदमा झन्डै १ अर्ब रुपियाँ हिनामिना भएको पाइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यस सम्बन्धमा छानबिन गर्दा सो सिस्टम खरिदमा ९१ करोड ९८ लाख ३० हजार ८ सय ८२ रुपियाँ ३२ पैसा हिनामिना गरेको तथ्य बाहिर आएको हो।

कर्मचारी, परामर्शदाता तीनवटा कम्पनी मिलेर राज्यलाई गैरकानुनी हानि र आफू र कम्पनी गैर कानुनी लाभ पु¥याउने कसुर गरेको पुष्टि भएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।

प्रवक्ता घिमिरेका अनुसार सार्वजनिक सेवा खरिद ऐन २०६३ को बर्खिलाप हुने गरी सो सेवा खरिद गरी करोडौं रुपियाँ हिनामिना गरिएको थियो। आयोगले त्यस कार्यमा संलग्न नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा पुरुषोत्तमप्रसाद खनालसहित १९ जना र २ वटा कम्पनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।

आयोगले सो मुद्दामा निर्देशक÷वरिष्ठ निर्देशक आनन्दराज खनाल, उपनिर्देशक/निर्देशक मीनप्रसाद अर्याल, सहायक निर्देशक/उपनिर्देशक विनोदचन्द श्रेष्ठ, निर्देशक दिपेश आचार्य, उपनिर्देशक सुरेन्द्रलाल हाडालाई पनि प्रतिवादी बनाइएको छ।

त्यसै गरी सहायक निर्देशक/उपनिर्देशक रेवतीराम पन्थ, सहायक निर्देशक/उपनिर्देशक सन्दिप अधिकारी, सहायक निर्देशक/उपनिर्देशक सूर्यप्रसाद लामिछाने, उपनिर्देशक अच्युतानन्द मिश्र, सहायक निर्देशक विजयकुमार राय यादव, सहायक निर्देशक प्रतिक्षा पौडेल र सहायक निर्देशक निराजन कोइरालाविरुद्ध मुद्दा दायर गरिएको छ।

आयोगले एमडीएमएस उपकरण खरिदमा संलग्न कम्पनीहरू मलेसियाको न्युमेरा कम्पनी, नमस्ते ग्लोबल सिंगापुर, ओएसआई डिजिटल इन्डियाविरुद्ध पनि मुद्दा दायर गरेको छ। न्युनमेराका अध्यक्ष मोहम्मद नुर अमिन विन मोहम्मद नुर खान, वार्तामा संलग्न मोहम्मद शिहाव विन कुन्ही मोहम्मद, चिफ अपरेसन अफिसर अनुज सिंह, प्रडक्ट स्पेसलिस्ट जमिल अमिदविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको हो । ती कम्पनीहरूको साझेदार नमस्ते ग्लोबल प्रालिका निर्देशक कविन्द्रराज मल्लविरुद्ध पनि मुद्दा दायर गरेको हो।

सरकारले आर्थिक वर्ष २०७१/७२ को बजेट वक्तव्यमा भन्सारबाट चोरी भई नेपालमा ल्याउने मोबाइल सेटको प्रयोग निरुत्साहित गर्न एमडीएमएस प्रणाली लागू गर्ने घोषणा गरेको थियो। २०७२ श्रावण १ गतेदेखि प्रणाली कार्यान्वयन गर्न तयारी भएको थियो, तर विभिन्न कारण ढिला भई २०७५ मा मात्रै प्रक्रिया अघि बढेको थियो ।

एमडीएमएस खरिदकै लागि प्राधिकरणले छुट्टै विनियम बनाएको थियो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बनाएको छानबिन समितिले त्यसलाई विवादास्पद भन्यो। करिब ६ महिनामा सम्पन्न हुनुपर्ने काम अहिलेसम्म सकेन। यसैबीच आयोगमा उजुरी परेपछि छानबिन गर्दा सार्वजनिक खरिद ऐनविपरीत सो कार्य गरेको पाइएको छ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८ मा वस्तु तथा परामर्श सेवाको खरिद विधि नै फरक रहने व्यवस्था गरिएको छ । यस्तो अवस्थामा वस्तु तथा परामर्श सेवा खरिदमा एकै परामर्श सेवा खरिद विधिलाई मात्र आधार लिई लिन लगाई वस्तु खरिदको मूल्याकंन हुने नसक्ने अवस्था सिर्जना गरी/गराईएको अभियोगपत्रमा उल्लेख गरिएको छ।

त्यसै गरी सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ६ बमोजिम निर्माण स्थल रहनेसम्म पनि यकिन नगरी/नगराई प्रचलित कानुनी प्रावधानको प्रतिकूल हुने गरी बदनियत राखी दूरसञ्चार ऐन, २०५३ को दफा ६२ बमोजिम विनियमावलीको मस्यौदा तयार गर्नको लागि कार्य विवरणसहित सम्झौता गरिएको जनाएको छ।

आयोगका अनुसार सो कार्यको लागि परामर्शदाता लौरसिया एसोसिएट यू.के बाट सम्झौताको सर्तभन्दा बाहिर गएर बोलपत्र र लागत अनुमान बनाइएको थियो। आयोगले सो बोलपत्रबिना अध्ययन, बिना प्रमाण र बिना नमूनाको रूप बनाइदिएको बोलपत्र र लागत अनुमान भनेको छ।

बोलपत्र, लागत अनुमानमा र कार्यक्षेत्र शर्तका लागत अनुमानका बीचमा क्रममबद्ध नदेखिएको छानबिनले देखाएको छ। लागत अनुमान तयार पार्दा त्यसलाई खण्डीकरणसहित औचित्य नभएको समेत विवरणलाई नै लागत अनुमानको रूपमा ग्रहण गरी/गराई प्रवक्ता घिमिरेले बताए।

दूरसञ्चार ऐन, २०५३ को दफा ६२ बमोजिम स्वीकृत २०७५ को विनियमावली लाई खरिद गुरु योजना भनी भनिएको छ। त्यसै गरी झुट्टा तथा कपोकल्पित आधारमा खरिद कार्यको नियमानुसारको सम्भाव्यता अध्ययन तथा नर्म्स नै तयार नगराई अस्वाभाविक किसिमबाट बढी काम/लागत देखाई लागत अनुमानको खण्डीकरण नगरेको अभियोगपत्रमा भनिएको छ।

लागत अनुमान सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२ (अनुसूची–१क) तथा नेपाल दूरसञ्चार प्राधिकरणको खरिद विनियमावली, २०७३ को अनुसूची–१ बमोजिम खण्डीकरणसहित लागत अनुमान तयार नगरेको पनि अभियोगपत्रमा उल्लेख गरिएको छ ।

६ महिनामा राष्ट्रिय र अन्र्तराष्ट्रिय गरी १३ जनाको सहभागितामा निर्माण गरी कार्यान्वयन गर्ने तथ्यांक प्रशोधनको कार्य गर्ने सफ्टवेयरको लागत अनुमान एक अरबभन्दा बढी स्वीकृत गराई अस्वाभाविक लागत अनुमान तयार गरेको थियो ।

एलइए मोड्युल र सीडीआर एक्सेस कार्यान्वयनको लागि ठोस व्यवस्था नगरी राएफपी मा राखेको, कानुनमा नभएकोमा बोलपत्र सुरक्षाको प्रावधान राखी प्रतिस्पर्धा सीमित बनाएको, सपोर्ट सिस्टम आइटममा दोहोरिने गरी अस्वाभाविक रूपमा बढी सामान बढी मूल्य कायम गरी गराई बोलपत्र स्वीकृतको लागि पेस गरेको थियो ।

विनियमावली २०७५ तत्काल प्रस्ताव तयार गरी पेस गर्ने गरी निर्णय गराई स्वीकृतको लागि पेस गरेको, सफ्वयेर खरिदको लागि सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५क बमोजिम लागत अनुमान स्वीकृत नै नगरी सोही ऐनको परिच्छेद–४ परामर्श सेवासम्बन्धी व्यवस्थाअन्तर्गत दफा ३१ बमोजिम खुल्ला रूपमा आशय पत्र माग गरी/गराई परामर्शदाताको संक्षिप्त सूची प्रकाशन गरेको, सोही क्रममा पेस गरेको अनुमान लागतको हेर्न टीएईसी परामर्शदातालाई नियुक्ति गरिएको थियो। उक्त परामर्श कम्पनीबाट प्रस्तावना पुनरावलोकनसहितको प्रतिवेदन पेस भएको देखिएकोमा उक्त प्रतिवेदनलाई अन्देखा गरी लागत अनुमान र बोलपत्र स्वीकृत गरेको अभियोगपत्रमा भनिएको छ।

‘उक्त सफ्टवयेर खरिद कार्य गर्दा पुष्टयाइँको आधार बिना बदनियतपूर्ण ढंगले अस्वाभाविक बढी काम/लागत देखाइएको पाइएको छ’, प्रवक्ता घिमिरेले भन्नुभयो– ‘लागत अनुमान र बोलपत्र स्वीकृत नगराई आशयपत्र जारी गरेको, मनासिब कारण बिना लागत इस्टिमेट अस्वाभाविक रूपमा बढाई अस्वाभाविक रूपमा बढी सामान बढी मूल्य तिरी खरिद गर्ने, गलत लिखत तयार गर्ने, सरकारी/सार्वजनिक कागजातहरू लुकाए/नष्ट गर्ने गराउने कार्य गरेको पुष्टि भएको छ।’

सबैलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (क), (घ), (च), (ञ) बमोजिमको कसुरमा बिगो ९१ करोड ९८ लाख ३० हजार ८ सय ८२ रुपियाँ ३२ पैसा) र सो मा फैसला हुँदाको मितिको प्रचलित डलरको विनिमय दरबमोजिमको थप रकमसमेत गणना गरी बिगो कायम गरी गरिएको छ।

सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगोबमोजिम जरिवाना गरी खर्च भएको देखिएको बिगो २३ करोड २० लाख ५९ हजार ३ सय १४ रुपियाँ ९४ पैसा निजहरूबाट असुलउपर हुन मागदाबी लिइएको छ।

को को विरुद्ध दायर भयो भ्रष्टाचार मुद्दा ?
१. दिगम्बर झा, तत्कालीन अध्यक्ष
२.पुरुषोत्तम खनाल, तत्कालीन अध्यक्ष
३. आनन्दराज खनाल, निर्देशक/वरिष्ठ निर्देशक
४. मिनप्रसाद अर्याल, उपनिर्देशक/निर्देशक
५. विनोदचन्द्र श्रेष्ठ, सहायक निर्देशक/उपनिर्देशक,
६. दिपेश आचार्य, निर्देशक
७.सुरेन्द्रलाल हाडा, उपनिर्देशक
८ रेवतीराम पन्थ, सहायक निर्देशक
९.संन्दिप अधिकारी, उपनिर्देशक
१०. सूर्यप्रसाद लामिछाने, उपनिर्देशक
११.अच्युतानन्द मिश्र, उपनिर्देशक
१२.विजयकुमार यादव, सहायक निर्देशक
१३.प्रतिक्षा पौडेल, सहायक निर्देशक
१४.निराजन कोइराला, सहायक निर्देशक
१५.मोहम्मद नुर अमिन विन मोहम्मद नुर खान, अध्यक्ष न्युमेरा
१६.मोहम्मद शिहाब विन कुन्ही मोहम्मद वार्ताकार
१७.अनुज सिंह, चिफ अपरेसन अफिसर
१८.जमिल अमिद, प्रडक्ट स्पेसलिस्ट
१९, कविन्द्रराज मल्ल, निर्देशक, नमस्ते ग्लोबल प्रालि
२० न्युमेरा कम्पनी, मलेसिया
२१. ओएसआई डिजिटल इन्डिया

सवारी दुर्घटनामा परि चितवनमा एकजनाको ज्यान गयो

चितवन । चितवनमा सवारी दुर्घटनाबाट मोटरसाइकल पछाडि बस्ने एकजनाको मृत्यु भएको छ , चालक घाईते भएका छन । मृत्यु हुनेमा महोत्तरी जिल्ला शम्शि गाउंँपालिका वडा नम्बर ४ बस्ने बर्ष २१ का रुपेश पण्डित रहेका छन । भने सोही ठाउंँका चालक दिपेन्द्र पण्डित घाईते भएका छन ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बेलुका पांँच बजे राप्ती नगरपालिका वडा नम्बर ७ बिरेन्द्रनगर स्थित भण्डाराबाट भरतपुर तर्फ जाँदै गरेको प्र २–०२–००५ प १३९९ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आउदै गरेको ना ३ त २८७२ न. को ट्याक्टरमा ठोक्किदा मोटरसाइकल. अनियन्त्रित भई भरतपुर तर्फ जाँदै गरेको ना ६ ख १५७७ न. को ट्रकमा समेत ठोकिएको थियो ।

घटनामा घाईते मोटरसाइकल सवार दुईजना मध्ये पछाडि बस्ने रुपेशको बाटोमै मृत्यु भएको हो । चालक दिपेन्द्र पण्डितको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ । ट्रक र चालक जिल्ला मकवानपुर हेटौडा ३ बस्ने बर्ष ३२ को कृष्ण प्रसाद दुलाल, ट्रयाक्टर र चालक राप्ती नगरपालिका वडा नम्बर ६ बस्ने बर्ष ३१ को सरोज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्वोच्चले भन्यो : दुर्गा प्रसाईंले हतियार बोक्ने लाइसेन्स कसरी पाए छानबिन गर्नू

१३ चैत, काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईं र उनका बडीगार्डले राख्न नमिल्ने हतियार राखेको भन्दै छानबिन गर्न आदेश दिएको छ ।

मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले प्रसाईंका बडिगार्ड रामकुमार धिमालको साथबाट बरामद हतियार स्वचालित भएकाले लाइसेन्स लिएर पनि व्यक्तिले बोक्न नमिल्ने भन्दै छानबिन गर्न गृह मन्त्रालयलाई आदेश दिएको हो ।

५ चैतमा सर्वोच्च अदालत परिसरबाट दुर्गा प्रसाईंका बडिगार्ड राजकुमार धिमाल हतियार सहित पक्राउ परेका थिए ।

सर्वोच्चले मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा १३१ को उपदफा (१) मा खास किसिमका हतियार प्राप्त गर्न नहुने शीर्षक अन्तर्गत देहाय (घ) मा जुनसुकै प्रकारको राइफल तथा त्यसको खरखजाना समावेश गरी त्यस्ता हतियार राख्ने इजाजत प्राप्त गर्न नसकिने गरी नकारात्मक सूची राखेको उल्लेख गरेको छ । यस्ता हतियार सुरक्षा निकायका अधिकारीबाहेक सर्वसाधारण नागरिकले राख्न नपाउने सर्वोच्चले बताएको छ ।

बरामद भएको वर्गको हतियार राख्न इजाजत प्राप्त गर्न नै नसक्ने स्थिति देखिएकोमा इजाजतपत्रवाला दुर्गाप्रसाद प्रसाईंले जिल्ला प्रशासन कार्यालय झापाबाट उक्त हतियार राख्न पाउने गरी लिएको इजाजतपत्र मिति २०७९–०९–०७ मा के कसरी नवीकरण भएको हो ?’ सर्वोच्चको आदेशमा भनिएको छ, ‘सो सम्बन्धमा आवश्यक छानबिन गर्न तथा अदालत, न्यायिक निकाय वा अन्य संवेदनशील क्षेत्रमा कुनै पनि हतियार लिई प्रवेश गर्न नपाउने सम्बन्धमा अविलम्ब आवश्यक कानुनी व्यवस्था गर्नु भनी विपक्षी गृह मन्त्रालयको नाममा यो आदेश जारी गरिएको छ ।’

प्रसाईंका बडिगार्ड धिमालबाट अर्मेरिया पारिन एसएलआर–इटाली राइफल गन २२ एलआर–मेड इन जमर्नी लेखिएको स्वचालित हतियार बरामद भएको थियो । त्यस्तै १०० राउण्ड गोली लोड भएका म्यागजिन समेत प्रसाईंका बडिगार्डबाट बरामद भएको थियो ।

हतियारसहित धिमाल पक्राउ परे पनि हतियार बोक्ने लाइसेन्स भने प्रसाईं र अर्का बडीगार्ड दीपक खड्कासँग थियो । त्यसैले प्रहरीले उनीहरु दुबैलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो । तर उनीहरुको परिवारका सदस्यले दिएको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै सर्वोच्चले रिहा गर्न आदेश दिएको छ ।

कालिकामा ४५ दिने व्युटिपार्लर तालिम

रत्ननगर, चैत्र १३ । गरिवी निवारणका लागि लद्यु उद्यम विकास कार्यक्रम अन्तर्गत कालिका नगरपालिकाको आयोजनामा सञ्चालित ४५ दिने आधारभूत व्युटिपार्लर तालिम मंगलवार सम्पन्न भएको छ ।

कालिका नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष टिकाराम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख विनोद रेग्मी प्रमुख अतिथि रहेका थिए ।

नगर प्रमुख रेग्मीले तालिमलाई सहि रुपमा उपयोग गर्न सके महिलाहरु आत्मनिर्भर बन्न तालिम महत्वपूर्ण सावित हुने बताए । बेरोजगारीको समस्याले दिनहु विदेशिने तथा स्वरोजगार बन्न व्युटी पार्लर तालिम महिलाहरुको लागि उपयोगी हुने बताए ।

नगर प्रमुख रेग्मीले भने, ‘तालिम आफ्नो घर भित्र सिमित नभई आय आर्जनमा मद्धत पुर्याउने खालको भएकोले यस किसिमको तालिम लिएपछि आफैले पार्लर चलाउन आग्रह गर्दछु ।’

सीप सिकेपछि त्यसको उपयोग गरेर आत्मनिर्भर बन्न सकिने भएकोले अबसरको सदुपयोग गर्न सुझाव दिए ।

नगर उप प्रमुख बिमला तामाङले तालिमले महिलाहरुलाई सिप सिकाएर आय आर्जनमा मद्धत पु¥याउनुको साथै संवेदनशील पेशा भएको बताइन् । पछिल्लो समय महङगो पैसा तिरेर महिलाहरुले सहरी क्षेत्रमा व्युटिपार्लर सम्वन्धी तालिम लिईरहेको अवस्थामा गरिवी निवारणका लागि लद्यु उद्यम विकास कार्यक्रम अन्तर्गत नगरपालिकाले निःशुल्क प्रदान गरेकोले तालिमलाई महिलाहरुले सदुपयोग गर्नुपर्ने सुझाव दिइन् ।

लक्ष्मी देपकोटाले प्रशिक्षण दिएको तालिममा सहभागी २५ जनालाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । कार्यक्रममा तालिममा सहभागिका तर्फबाट सफल लद्यु उद्यमी समुहका सदस्य शर्मिला पन्त, प्रशिक्षक लक्ष्मी देपकोटा लगाएतले मन्तव्य राखेका थिए ।

कालिका वडा नं. ६ का वडा अध्यक्ष रेग्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कालिकाका प्रमुख प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतम, शाखा अधिकृत प्रकाश चन्द्र पाैडेल लगाएतको सहभागिता रहेको थियो ।

 

आदिवासी जनजाति साँस्कृतिक महोत्सव : नदीकिनारमा ओइरिए दर्शक

नारायणगढ । सोमबार नारायणी नदी किनारमा दर्शक ओइरिएका छन्। चर्चित दोहोरी गायिका ज्योति मगर मञ्चमा आउने भएपछि दर्शकको घुइँचो लागेको हो। साँझपख पानी परे पनि ज्योति मगरको प्रस्तुतिमा दर्शकको कमी भएन। ‘सोल्टी मुसुक्कै, पैसा भुसुक्कै’ भन्दै मञ्च उक्लिएकी ज्योतिले केही थान नयाँ, पुराना गीत गाएर मनोरञ्जन प्रदान गरिन्।

फागु पर्वको दोस्रो दिन भएकोले पनि दर्शकको उपस्थिति राम्रो थियो। त्यसमाथि ज्योति मगरको लोकप्रियताका कारण पानी परे पनि हज्जारौँ दर्शक महोत्सवस्थलमा बसे। आधा दर्शक पानी परेकै कारण ज्योति नआउँदै बाहिरिसकेका थिए। पानी परेपछि आयोजकलाई दर्शक नहुने चिन्ता थियो। तर, ज्योति मगर मञ्चमा उक्लिएपछि थामिनसक्नुको भीड भयो। र, ज्योतिले ‘चोरी खान पल्केको यो सेक्सी बिरालो’, ‘चानचुने त कहाँ हो र जिम्माल बाउकी छोरी’, ‘दोहोरीमा र्‍याप’लगायतका गीत गाएर करिब डेढ घण्टा समय धकेलिन्।

त्यसअघि गायक रवि रिमालले पनि विभिन्न गीत गाएर मनोरञ्जन दिलाए। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल चितवन शाखाका कलाकाहरू जीवी सुनार, जुना डिसीलगायत स्थानीय कलाकारहरूले प्रस्तुति दिए। अन्य साँस्कृतिक कार्यक्रममार्फत आदिवासी जनजाति समुदायको पहिचान झल्किने गीतमा नृत्यसमेत भएको थियो।

कार्यक्रममा सोमबार पनि दश हजारभन्दा बढी दर्शक भित्रिएको आयोजकले जनाएको छ। यही क्रममा आज मङ्गलबार भने एलिना चौहान, दिनेश काफ्लेलगायतका ख्यातिप्राप्त कलाकारहरू महोत्सवमा उपस्थिति हुने महोत्सवको साँस्कृतिक कार्यक्रम संयोजक ईश्वर रानामगरले जानकारी दिए। साथमा दोहोरी गीत प्रतिष्ठान तथा स्थानीय कलाकारहरूको प्रस्तुतिले निरन्तरता पाउने उनले बताए।

दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

१२ चैत, काठमाडौं । सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ ।

न्यायाधीशहरू डा. कुमार चुँडाल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्‍याएको भए बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो ।

‘रिट निवेदनमा जे मागदावी थियो, अहिले इजलासले गरेको आदेश हेर्दा रिट जारी भएको देखिन्छ’ सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले भने, ‘आदेशको प्रति हामीले पाइसकेका छैनौं । निवेदन बमोजिम रिट जारी भएको भनेकाले त्यही अर्थ लगाउन सकिन्छ । विस्तृत विवरण त संक्षिप्त आदेश वा फैसलाको पूर्णपाठ प्राप्त भएपछि थाहा होला ।’

मेडिकल व्यवसाय हुँदै राजनीतिक कनेक्सन बनाएका दुर्गा प्रसाईंले खोलेको उक्त मेडिकल कलेजको सम्बन्धनलाई लिएर लामो समयदेखि विवाद जारी थियो ।

आफूले सबै पूर्वाधार तयार गर्दा पनि सम्बन्धन नपाएको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग लगायतका निकायलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

त्यही रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले आदेश जारी गरेको हो ।

समृद्ध कालिका निर्माणको लागी प्रधानमन्त्री प्रचण्ड र मेयर रेग्मीबीच भेटवार्ता

रत्ननगर, चैत्र १२ । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले शक्तिखोर औधोगिक क्षेत्र स्थापना, त्रिशुली डाईभर्सन, नगरमा रोकिएका बजेट विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी छलफल गरेका छन् ।

सो अबसरमा मेयर रेग्मीले प्रधानमन्त्री प्रचण्डसँग कालिका नगरपालिकाको समग्र विकास निर्माण, नगरमा रोकिएका बजेट, शक्तिखोर औधोगिक क्षेत्र स्थापना, अपाङ्गता भएका बालबालिका सहज तरिकाले पढ्न पाउनुपर्ने समावेशी विद्यालय स्थापना, त्रिशुली डाईभर्सन तथा विभिन्न विषयमा छलफल भएको जानकारी दिए ।

साथै, सोमवार मेयर रेग्मीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमान पुन, राष्ट्रिय बहिरा महासंघका पूर्व अध्यक्ष केपी अधिकारी, डा. बाबुराम ढुङ्गानासंग पनि भेटवार्ता गरेकाछन् ।

भेटमा प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री पुनले नगरको समग्र विकास निर्माण, नगरमा रोकिएका बजेट लगाएतका विषयमा सकारात्मक प्रतिक्रिया दिएको मेयर रेग्मीले जानकारी दिए ।

होली खेल्ने क्रममा ग्याङ फाइट, २ जनाको मृत्यु

१२ चैत, काठमाडौं । ललितपुरमा होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा दुई जना युवाको मृत्यु भएको छ ।

आइतबार राति ललितपुरको धोलाहिटीमा दुई समूहबीच झडप भएको थियो । झडपमा परी पाँचथर र सुनसरी घर भई धोलाहिटी बस्ने दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार मृत्यु हुनेमा पाँचथर घर भई धोलाहिटी बस्ने २८ वर्षीय रोबर्ट राई र सुनसरी घर भई धोलाहिटी बस्ने ३० वर्षीय पुजन राई रहेका छन् ।

पूजनको शव सुमेरु अस्पताल र रोबर्टको पाटनमा राखिएको छ । ग्याङ फाइट हुँदा दुई जनाको मृत्यु भइसकेपछि प्रहरीले खबर पाएको एसपी सुवेदीले बताए ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १८ जनालाई नियन्त्रणमा लिएको छ । घटनास्थलबाट धारिलो हतियार पनि बरामद भएको प्रवक्ता सुवेदीले बताए । घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

कालिकाको सुरक्षा र समृद्धिको लागी मेयर रेग्मीको दौडधुप; गृहमन्त्री सँग भेटवार्ता

कालिका । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले नगरको समग्र शान्ति सुरक्षा तथा विकास निर्माणका विषयमा गृहमन्त्री रवि लामिछानेसँग भेट गरी छलफल गरेका छन् ।

सिंहदरबारस्थित गृहमन्त्रालयमै पुगेर उनले गृहमन्त्री लामिछानेसँग भेट गरी शान्तिसुरक्षाको लागि प्रहरी कार्यालय स्थापना र विकास निर्माणमा सहयोगी भूमिका खेल्न आग्रह गरेका छन् ।

सो अबसरमा मेयर रेग्मीले गृहमन्त्रीसँग आफुले कालिका नगरपालिकाको समग्र सुरक्षालगायत विकास निर्माण तथा विभिन्न विषयमा छलफल भएको जानकारी दिए ।

भेटमा उनले नगरपालिकामा प्रहरी निरीक्षक (ईन्सपेक्टर) सहितको दरबन्दी रहने गरी प्रहरी कार्यालय स्थापना गर्न पनि माग गरेका छन् ।

उनले उक्त विषय समेटेर गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र समेत बुझाएका छन् । ध्यानर्कषणपत्र बुझेपछि गृहमन्त्री लामिछानेले स्थानीय सरकार प्रमुखले राखेको प्रहरी कार्यालय स्थापना तथा विकास निर्माणको विषयमा सकारात्मक प्रतिक्रिया दिएका छन् ।