Home Blog Page 78

कालिकामा अजम्बरीको रक्तदान: ६२ युनिट रगत संकलन

रत्ननगर । कालिका नगरपालिका वडा नं ६ मा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६२ युनिट रगत संकलन भएको छ ।

अजम्बरी बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा कन्चन दुग्ध उत्पादक सहकारी संस्था लि. र सिराइचुली दुग्ध चित्स्यान उत्पादक सहकारी संस्था लि.को सहआयोजना भएको कार्यक्रम १४ जना महिला सहित ६२ जनाले रक्तदान गरेको अजम्बरीकी कोषाध्यक्ष निर्मला खड्काले जानकारी दिइन् ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा जुटपानीका सभापति राजन रेग्मी प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाले बार्षिक रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा लगातार पाँच पटक सम्म रक्तदान गर्ने भगवती अम्गाई, कमला घिमिरे, गोविन्द दुलाल, रुद्रलाल चौलागाईलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा वडा नं ६ का वडासदस्य लक्ष्मीनारायण चौलागाई र अजम्बरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र कँडेलले उनीहरुलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थियो ।

उद्घाटन कार्यक्रममा अजम्बरका संस्थापक अध्यक्ष कृष्ण भट्ट, पूर्व अध्यक्ष पासाङ, निर्वतमान अध्यक्ष गिरीराज केसी कँडेल लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा कन्चन दुग्ध उत्पादक सहकारी संस्था लि.का अध्यक्ष हरिप्रसाद दंगालले कार्यक्रमको उद्देश्यको बारेमा प्रकास पारेका थिए । अजम्बरीका अध्यक्ष कंडेलको अध्यक्षतामा भएको कार्यक्रम सचिव साजन थापामगरले सञ्चालन गरेका थिए ।

श्रीमतीले गम्भीर आरोप लगाएपछि बोले कथावाचक शीतलकृष्ण महाराज

काठमाडौँ । कथावाचक शीतलकृष्ण महाराजले सामाजिक सञ्जालमा आफूप्रति उठाइएका विभिन्न प्रश्नहरुप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रबार उनले आफूप्रति उठाइएका विभिन्न प्रश्नहरुप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

उनले करिब ९ महिना अघि आफू र आफ्नो श्रीमतीको आचारण र विचार नमिलेपछि श्रीमतीकै हितका लागि जिल्ला अदालत नवलपुरमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको बताएका छन् । शीतलकृष्णले जीवनमा मातापिता र श्रीमतीमध्ये एउटा रोज्नुपर्ने मोड आएको बताउँदै उनले संसारलाई मातापिताको उपदेश दिँदै आएको आफूले मातापिताको सेवा गर्ने बाटो रोजेको बताएका छन् ।

आफूले गृहस्थी चलाउन नसकेको प्रति भूल भएको भन्दै उनले क्षमा समेत मागेका छन् । उनले केही दिनअघि श्रीमतीले पत्रकार सम्मेलनमार्फत लगाएका आरोप निराधार र सत्य नभएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा राखेको भिडियोमा भनेका छन्- ‘केही दिनअघि श्रीमतीजीले पत्रकार सम्मेलनमा रिस र आवेगमा आएर लगाएका आरोप निराधार र सत्य नभएको यहाँहरु सबैलाई जानकारी गराउँदै सम्मानित अदालतमा यो केस चलिरहेको र म स्वयं पनि अदालतको अन्तिम फैसलाको प्रतिक्षामा रहेकोले यसप्रति अन्य टिकाटिप्पणी नगरिदिनुहुन हार्दिक अनुरोध गर्दछु । साथै भक्त सज्जनहरुलाई धैर्य गर्न पनि निवेदन गर्दछु ।’

कथाबाचक शीतलकृष्णप्रति उनकी श्रीमती सुकृति पौडेल भुसालले केही दिनअघि पत्रकार सम्मेलन गरी विभिन्न आरोपहरु लगाएकी थिइन् ।

आईपीएलमा चेन्नाइको विजयी सुरुआत

१० चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को पहिलो खेलमा चेन्नाइ सुपर किङ्ग्स (सीएसके) विजयी भएको छ ।

चेन्नाइले आफ्नै मैदानमा भएको खेलमा रोयल च्यालेञ्जर बैंग्लोर (आरसीबी)लाई ६ विकेटले पराजित गर्दै आईपीएलमा विजयी सुरुआत गरेको हो ।

आरसीबीले दिएको १७४ रनको लक्ष्य चेन्नाइले १८.४ ओभरमा ४ विकेट गुमाउँदै भेटाएको हो ।

चेन्नाइका लागि ओपनरद्वय रितुराज गायक्वाडले १५, रचिन रवीन्द्रले ३७ रन, अजिङ्क्य रहाणेले २७ र डेरेल मिचेलले २२ रनको योगदान गरेर आउट भए । शिवम दुवेले ३४ र रविन्द्र जडेजाले २५ रनमा अविजित रहे ।

बैंग्लोरका लागि क्यामरुन ग्रीनले दुई तथा यश दयाल र कर्ण शर्माले समान एक/एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनाएको थियो । बैंग्लोरका लागि ओपनर फ्याप डु प्लेसिसले ३५ रन बनाए भने विराट कोहलीले २१ रन बनाए । रजत पटिदार र ग्लेन म्याक्सवेल शून्य रनमा आउट भए पनि त्यसपछि आएर क्यामरुन ग्रीनले १८ रन बनाए । अनुज रावतले उत्कृष्ट पारी खेल्दै ४८ रन बनाए । उनलाई साथ दिएका दिनेश कार्तिक २८ रनमा अविजित रहे ।

चेन्नाइका लागि मुस्तफिजुर रहमान एक्लैले ४ विकेट लिए भने दीपक चहरले एक विकेट लिएका थिए ।

आईपीएलमा आज दुई खेल हुनेछन् । पहिलो खेल दिउँसो ३ : ४५ मा पन्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच मल्लानपुरमा हुनेछ भने दोस्रो खेल साँझ कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबीच हुनेछ ।

सौराहाको गैंडा स्थानान्तरण प्रति रत्ननगरका मेयर सापकाेटाकाे आपत्ती

रत्ननगर, चैत्र ९ । चितवन राष्ट्रिय निकुञ्जबाट काेशीमा गैंडा स्थानान्तरण गरिएकाेप्रति रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकाेटाले आपत्ती जनाएका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले साैराहाकाे बस्तीमा हुर्किएकाे भाले गैंडा काेशीमा स्थानान्तरण गर्ने निर्णय गरेकाे थियाे । उक्त गैंडा आजै काेशी लैगिदै छ । मेयर सापकाेटाले साैराहाकाे पर्यटनलाई असर गर्ने गरि गैंडा अन्त लैजान लागिएकाे भन्दै आपत्ती जनाएका हुन ।

‘साैराहाले हुर्काएकाे गैंडा थपक्क उठाएर अन्त लैजाने अधिकार कसैलाई छैन्’ उनले भने, ‘याे कार्यप्रति मेराे पूर्ण असहती छ ।’

गैंडा स्थानान्तरण गर्दा स्थानीय सरकारसंग समन्वय नगरिएकाे भन्दै उनले आर्थिक मन्दीमा कारण पर्यटन व्यवसाय सुस्ताएकाे बेला गैंडा स्थानान्तरण गरिनु गलत भएकाे उनकाे भनाई छ ।

‘साैराहामा गाउँमै गैंडा हेर्न पाईन्छ, पर्यटकले गैंडालाई स्पर्श गर्ने साैभाग्य प्राप्त गरेका छन् मेयर सापकाेटाले भने, पर्यटक रमाउने गैंडालाई अन्त लैजानु दुर्भाग्य हाे’ ।

मेयर सापकाेटाले स्थानान्तरण राेक्न प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जापुनलाई आग्रह समेत गरेका छन् ।

इण्डो–नेपाल टी–२० च्याम्पियनसीपः लखनउ र सुदूरपश्चिम प्रदेशको विजयी सुरुवात

चितवन, चैत ९– चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगितामा भारतको पीएसआर ग्रुप लखनउँ र सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको पहिलो खेलमा लखनउँले घरेलु टोली भरतपुर मेयर्स ११ लाई ८६ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

लखनउँले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याएको भरतपुर ९ विकेटको क्षतिमा १२५ रन मात्रै बनाउन सक्यो । घरेलु टोलीका लागि कप्तान दिपेश श्रेष्ठले सर्वाधिक ३२ रन बनाए भने रोशन झाले ३१ र विकल कुमार गुप्ताले २१ रन बनाए ।
लखनउँका लागि कार्तिक यादवले ४ ओभरमा ८ रन मात्रै खर्चिदै २ विकेट लिए भने शरिमले ४ ओभरमा १३ रन खर्चिदै २ र प्रिन्स साहीले ४ ओभरमा २५ रन खर्चिदै २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पीएसआर ग्रुप लखनउँले २ खेलाडीको अर्धशतकको मद्धतमा ९ विकेट गुमाउँदै २११ रनको विशाल योगफल तयार पारेको थियो । लखनउँका लागि निखिल रावले ६९ रनको विष्फोटिक अर्धशतकीय पारी खेलेका थिए । उनले २९ बलमा ५ छक्का र ७ चौका प्रहार गरेका थिए ।

उनी नयन प्रधानको बलमा रोशन झाबाट समातिन पुगेका थिए । कप्तान तथा विकेटकिपर सहिन हसनले ५५ रनको अर्धशतकीय पारी खेलेका थिए । सौगात ढकालबाट क्याचआउट हुनुअघि हसनले ४१ बलमा ७ चौका र एक छक्का प्रहार गरेका थिए । समीर अन्सारीले २४, अमित शर्माले १२ रन बनाए ।

लखनउँका ३ खेलाडी शून्यमा आउट भएका थिए । लखनउँले १३५ रन बनाउँदा ५ विकेट गुमाई सकेको थियो भने छैठौं विकेटको लागि सर्वाधिक ५५ रनको साझेदारी भएको थियो । लखनउँले अन्तिममा २०४ रन बनाउँदा लगातार ३ विकेट गुमाउन पुगेको थियो ।

भरतपुरका लागि नयन प्रधानले ५ विकेट लिए । उनले ४ ओभरमा मात्र २६ रन खर्चिएका थिए भने १३ डट बल फालेका थिए । उनी एकै खेलमा ह्याट्रिकसहित ५ विकेट लिने पहिलो खेलाडी बनेका छन् । कप्तान दिपेश श्रेष्ठले ४ ओभरमा ४८ रन खर्चिदै २ विकेट लिए भने गौतम केसी र सौगात ढकालले समान एक विकेट लिए ।

यसैबीच आज भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई ४७ रनले पराजित ग¥यो । सुदूरपश्चिम प्रदेशले लिएको दिएको १८४ रनको लक्ष्य पछ्याएको मधेश ९ विकेटको क्षतिमा १३६ रन मात्रै बनाउन सक्यो । मधेशका लागि ओपनर साहिल पटेलले सर्वाधिक २५ रन बनाए ।

२० बल खेलेका साहिलले ३ चौका प्रहार गरे । निरज यादवले २४ र रोशन वि.क.ले २३ रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा मेधश पराजित हुन पुग्यो । ३३ रनमा पहिलो विकेट गुमाएको मधेश त्यसपछि सम्हालिन नसक्दा लक्ष्य भेट्टाउन सकेन ।

सुदूरपश्चिमका लागि दीपक बोहोराले ४ ओभरमा २२ रन खर्चिदै ३ विकेट लिए भने युवराज खत्रीले २ ओभरमा १५ रन र भोजराज भट्टले ४ ओभरमा १८ रन खर्चिदै समान २ विकेट लिए । नरेन साउद र बसन्त खत्रीले एक–एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ६ विकेटको क्षतिमा १८३ रन बनाएको थियो ।

उसका लागि बसन्त कार्कीले सर्वाधिक ४३ रन बनाए । २७ बल खेलेका कार्कीले ३ चौका र २ छक्का प्रहार गरे । टेक रावतले २४ बलमा ३४ रन, खडक बोहोराले १६ बलमा ३१ रनको विष्फोटक पारी खेले । ओपनर दिपक बोहोराले २३ बलमा २७ रनको पारी खेले । बसन्त कार्की र टेक रावतले ५५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

मधेशका लागि प्रदीप पासवानले २ विकेट लिए भने प्रतिभ यादव, भुलन सहनी, अभिषेक तिवारी र अरनिको यादवले समान एक विकेट लिए । पहिलो जितसंगै प्रतियोगितामा लखनउँ नेटरनरेटको अधारमा शीर्ष स्थानमा रहेको छ भने सुदूरपश्चिम पहिलो जितसंगै २ अंकका साथमा दोस्रो र २ खेलमा एक जित र एक हारका साथ घरेलु टोली भरतपुर समान २ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

प्रतियोगितामा नेपालका भरतपुर मेयर्स ११, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश तथा भारतका दुईवटा क्षेत्रीय टोली तालतला इन्स्टिटाइट कोलकाता र पीएसआर ग्रुप लखनउ सहभागि छन् । प्रतियोगिताको फाइनल खेल चैत १८ गते हुनेछ ।

कृष्णबहादुर महरा हाजिरी जमानतमा छुटे

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन्।

महराको बयान सकिएपछि उनलाई हाजिरी जमानतमा छाडिएको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।

प्रहरी कपिलवस्तुबाट महरालाई ५ चैतमा पक्राउ गरेर काठमाडौं ल्याएको थियो । अदालतमा म्याद थप गर्न हाजिर गएका बेला उनको स्वास्थ्य स्थितिलाई ख्याल गर्दै अस्पतालमा राख्न आदेश भएको थियो ।

सरकारी वकिलमार्फत प्रहरीले उनलाई ७ दिन हिरासतमा राख्न अनुमति मागेपनि अदालतले ४ दिन मात्र स्वीकृति दिएको थियो ।

अदालतले चार दिन म्याद थप गर्न दिएको अनुमतिसम्बन्धी आदेशमा उनलाई टीबी, युरिक एसिड, प्रोस्टेटको समस्या रहेको उल्लेख छ । अनुसन्धान अधिकृतहरुका अनुसार, कमजोर स्वास्थ्यका कारण उनलाई बयानका लागि ल्याउन, लैजान पनि कठिनाइ भएको थियो ।

स्वास्थ्य अवस्थालाई ख्याल गर्दै बयान भइसकेकाले बाहिरै राखेर पनि थप अनुसन्धान गर्न मिल्ने भएकाले सरकारी वकिलको कार्यालयमार्फत उनलाई हाजिरी जमानतमा छोडिएको अधिकृतहरु बताउँछन् ।

महराको चिनियाँ तस्कर गिरोहका एक मुख्य पात्र दावोजिन वाङसँग सम्बन्ध देखिएको थियो ।

चितवनमा आजदेखि आदिवासी जनजाति साँस्कृतिक महोत्सव सुरु हुदैँ

चितवन : नारायणी नदी किनारमा आजदेखि आदिवासी जनजाति सांँस्कृतिक महोत्सव सुरु हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिषद् चितवनको आयोजनामा आजदेखि चैत १८ गते सम्म महोत्सव हुने भएको हो ।

महोत्सवको उद्घाटन पूर्व शुक्रबार बिहान नारायणगढको क्याम्पाचौरबाट झाँकीसहितको बृहत् ¥याली निकालिने महोत्सव मूल आयोजक समितिका संयोजक महेन्द्र दुराले जानकारी दिए । उनका अनुसार नारायणी नदी किनारमा मध्यान्न १२ बजे महोत्सवको उद्घाटन हुने छ ।

महोत्सवमा विभिन्न जातजातीका घरहरु निर्माण गरिएको छ । नदी किनारमै बनाइएको गाउँमा चितवनका ११ वटा आदिवासी जनजाति समुदायको जातीय पहिचानसहितको गाउँ निर्माण गरिएको हो। नदी किनारको गाउँमा गुरूङ, दुरा, थारू, चेपाङ, भुजेल, कुमाल, राई, दराई, मगर, बोटे र तामाङ समुदायले घर बनाएका छन्।

चितवन जिल्लामा १७ वटा आदिवासी जनजाति समुदाय संगठित भए पनि हाललाई ११ वटा जातिले घर निर्माण गरेर नारायणी नदी किनारमै आदिवासी जनजाति समुदायको साझा गाउँ बनाएको संयोजक दुराले बताए।

आदिवासी जनजाति समुदायको गाउँ प्रमुख आकर्षणको केन्द्र बन्ने उनको भनाई छ । उनले अगाडी भने, “एकै ठाउँमा सबै जातिको घरसहित संयुक्त गाउँ नै बनेको छ, जनजातीहरुको घर र आददिवासी जनजातीहरुले प्रयोग गर्ने परम्परागत सामाग्री तथा औजारहरु प्रमुख आकर्षण बन्ने छ ।”

महोत्सवको प्रवेशद्वार नजिकै बनाइएको मिनी चितवनमा प्रवेश गरिसकेपछि मौलिक घरमात्र नभई आदिवासी जनजाति समुदायले प्रयोग गर्ने सरसामान समेत राखिएको छ। यसले समग्रमा महोत्सवलाई नै आदिवासी जनजाति समुदायको साँस्कृतिक सङ्ग्रहालयको परिचय दिनेमा आयोजक समिति विश्वस्त छ।

नेपालमै पहिलोपटक यो तहको महोत्सव आयोजना गरेर चितवनका आदिवासी जनजाति समुदायले इतिहास कायम गर्ने प्रयास गरिएको संविधानसभाका सदस्य एवम् नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले बताए । यस महोत्सवले आदिवासी जनजाति समुदायका मौलिक परम्परा हराउँदै गएको अवस्थामा नयाँ पुस्तालाई आफ्नो जाति र समुदायबारे परिचित गराउने उनको भनाई छ ।

फिफा विश्वकप छनोटमा नेपाल बहराइनसँग ५–० काे फराकिलाे अन्तरले पराजित

काठमाण्डाै – फिफा विश्वकप छनोटअन्तर्गत नेपालले घरेलु टोली बहराइनसँग फराकिलो हार बेहोरेको छ । बहराइन राष्ट्रिय रङ्गशालामा भएको खेलमा बहराइन ५–० गाेलले विजयी भएको हो ।

बहराइनले पहिलाे हाफमा ३ गाेल गर्दा दाेस्राे हाफमा थप २ गाेल गर्‍याे । बहराइनका लागि महदी अल हुमाइदान, सायद बाकेर, अली मदान, इब्राहिम अल खताल र इस्माइल अब्दुललातिफले १/१ गोल गरे ।

योसँगै समूह ‘एच’ मा ३ खेल खेलेको नेपाल अङ्कविहीन छ । बहराइन ३ खेलमा ६ अङ्कसहित दोस्रो स्थानमा छ । समूहमा नेपाल र बहराइनसहित यमन र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । यूएई ३ खेलमा ३ जितसहित शीर्ष स्थानमा छ । तीन खेलमा १ जितसहित यमन तेस्रो छ । नेपालले अब बहराइनसँग दाेस्राे लेगमा आउँदाे मङ्गलवार चैत १३ गते खेल्नेछ ।

भरतपुरमा इण्डो नेपाल टी–२० च्याम्पियनसीप सुरु, उद्घाटन खेलमा भरतपुर मेयर्स ११ विजयी

चितवन, चैत ८– चितवनको भरतपुरमा आज (बिहीबार)देखि इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगिता सुरु सुरु भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैद्यानमा सुरु भएको प्रतियोगिताको समुद्घाटन भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले गरिन् ।

सो क्रममा बोल्दै प्रमुख दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुरा काम द्रुत गतिमा निर्माण हुने बताइन् । उनले आगामि सन् २०२७ मा हुन लागेको यू–१९ महिला विश्वकपको खेल यही रंगशालामा खेलाउने गरी निर्माणको सम्पन्न गर्ने प्रतिवद्धता जनाइन् ।

‘फागुन १७ गते टेण्डर आह्वान भएको छ, उनले भनिन्, ‘रंगशाला निर्माण हुन्छ कि हुँदैन भन्ने आशंका पनि हट्यो । महानगरले द्रुत गति रंगशाला निर्माणको नेतृत्वदायी भूमिका निर्वाह गर्छ ।’ यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गराउनका लागि नेपाल क्रिकेट संघ, खेलकुद मन्त्रालय र खेलकुद परिषदलाई अनुरोध गरिएको उनको भनाई छ ।

भरतपुरमा क्रिकेट खेलाडी उत्पादनका लागि विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको सुरु गरि सकेको भन्दै त्यसलाई निरन्तरता दिइने बताए । उद्घाटन सत्रमा बोल्दै नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशन सिंहले पूर्वाधार निर्माण गरिए गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामै विश्वकप गराउने गरि तयारी गरिने प्रतिवद्धता जनाए ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले ठूला प्रतियोगिता गराउन पूर्वाधारलाई मुख्य प्राथमिकतामा राख्ने भएकाले सोही अनुसार पूर्वाधार निर्माणको काम हुनुपर्नेमा जोड दिए । कार्यक्रममा संघका केन्द्रीय सदस्य एवं नुवाकोटका अध्यक्ष दुर्गाराज पाठकलगायतले मन्तव्य व्यक्त गरे ।

उद्घाटन सत्र चितवन क्रिकेट संघका अध्यक्ष सुदिप पियाको अध्यक्षतामा सम्पन्न भएको थियो । यसैबीच प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर मेयर्स ११ ले विजयी सुरुवात गरेको छ । भरतपुरले बागमती प्रदेशलाई ८ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

भरतपुरले दिएको १५३ रनको लक्ष्य पछ्याएको बागमती प्रदेश ७ विकेटको क्षतिमा १४४ रन मात्रै बनाउन सक्यो । उसका लागि शुभ कंसकारले ८८ रनको विष्फोटक अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन् । रविन जोशीले २० रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । भरतपुर मेयर्स ११ का लागि सौगात ढकालले ४, दिपेश श्रेष्ठले २ र गौतम केसीले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले व्याटिङ गरेको भरतपुर मेयर्स ११ ले ८ विकेटको क्षतिमा १५२ रनको बनाएको थियो । एक समय निकै खराब अवस्थामा रहेको भरतपुरलाई कप्तान दिपेश श्रेष्ठ र गौतम केसीले विष्फोटक पारी खेल्दै सम्मानजनक अवस्थामा पु¥याएको थियो । गौतमले १५ बलमा ४ छक्का र एक चौकाको मद्धतमा ३४ रन बनाएर रामनरेश गिरीबाट बोल्ड आउट भए भने दिपेशले २३ बलमा २९ रन बनाए । प्रतिक श्रेष्ठले २० रन बनाए ।

बागमतीका लागि रामनरेश गिरीले ३, तिलकराज भण्डारीले २ र मनोज यादव, अभिषेक कोइराला र सुमन सुनुवारले समान एक विकेट लिए । प्रतियोगितामा नेपालका भरतपुर मेयर्स ११, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश तथा भारतका दुईवटा क्षेत्रीय टोली तालतला इन्स्टिटाइट कोलकाता र पीएसआर ग्रुप लखनउ बीचको रोमाञ्चक खेल हुनेछ ।

मोरङको बेलबारीमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

७ फागुन, विराटनगर । मोरङको बेलबारीमा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् ।

मंगलबार राति करिब १ बजे बेलबारी नगरपालिका- १ भेडाटोलमा बस्दै आएका बमबहादुर लिम्बूले पत्नीको हत्यापछि आत्महत्या गरेका हुन् । उनका छोरा भने भागेर बाँचेका छन् ।

प्रहरीका अनुसार राति करिब १ बजे ६० वर्षीय बमबहादुरले ४५ वर्षीय पत्नी गीता लिम्बूलाई धारिलो हतियार (दाउ)ले प्रहार गरेका थिए । गीताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

लगत्तै बमबहादुरले त्यही दाउले आफ्नो घाटी रेटेर आत्महत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले बताए ।

मृतकहरु निर्मला राईको घरमा चार वर्षदेखि डेरामा बस्दै आएका थिए । मंगलबार राति करिब २ बजे प्रहरीलाई घटनाको जानकारी आएको थियो, लगत्तै पुगेको प्रहरीले गीतालाई मृत अवस्थामा फेला पारेको थियो ।

गम्भीर अवस्थामा रहेका बमबहादुरलाई उपचारका लागि नोबेल मेडिकल कलेज पठाएको थियो । अस्पताल पुगे लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।

प्रहरीका अनुसार पत्नीलाई दाउले प्रहार गरेका लिम्बूले सोही दाउले आफ्नो घाटी पनि रेटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

उनले छोरालाई पनि आक्रमण गर्न खोजेको तर छोराले भने भागेर ज्यान जोगाएका थिए ।

‘पहिले पनि झगडा भइरहने रहेछ, घर झगडाकै कारण घटना भएको देखिन्छ’, डीएसपी दाहालले भने ।