Home Blog Page 97

घिमिरे बन्धु प्रतिष्ठान रत्ननगरको अध्यक्षमा हरिभक्त घिमिरे

उज्यालो नेपाल, १४ पुष, रत्ननगर- घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रत्ननगर नगर समितिको अध्यक्षमा हरिभक्त घिमिरे चयन भएका छन् । रत्ननगरमा शनिबार अध्यक्ष कमलीकान्त घिमिरेको सभापतित्वमा सम्पन्न प्रतिष्ठानको दोश्रो अधिवेशनले घिमिरेको अध्यक्षतामा एघार सदस्यीय नगर समिति चयन  गरेको हो।

समितिको उपाध्यक्षमा बद्रीनाथ घिमिरे, सचिव श्रीकृष्ण घिमिरे, कोषाध्यक्षमा मिस्टरबाबु घिमिरे, सहसचिवमा विरन्जना घिमिरे र सदस्यहरुमा सन्तोषचन्द्र घिमिरे, पार्वती घिमिरे, जिवन घिमिरे, रामचन्द्र घिमिरे, कृष्णप्रसाद घिमिरे र देवीप्रसाद घिमिरे सर्वसम्मत चयन भएका हुन् ।

कार्यक्रममा घिमिरे बन्धु अध्ययन तथा कल्याण प्रतिष्ठान चितवनका अध्यक्ष बलभद्र घिमिरेको प्रमुख आतिथ्य रहेको थियो भने, विशिस्ट अतिथिको रुपमा घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान नेपालकाे केन्द्रीय सचिव अजय घिमिरेको उपस्थिति रहेको थियो ।

कार्यक्रममा रत्ननगर भित्र बसोबास गर्ने झन्डै ३०० घिमिरे बन्धुहरुको उपस्थिति रहेको नवनिर्वाचित सहसचिव बिरन्जना घिमिरेले जानकारी दिईन् ।

भीमोदयको स्वर्णमहोत्सव समापन: ओलीको विद्यार्थीलाई सन्देश ‘वि अनेष्ट’

उज्यालो नेपाल, पुष १३, चितवन- कालिका नगरपालिकाको वडा नं. ५ मा रहेको भीमोदय नमुना माध्यमिक विद्यालयको स्वर्णमहोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा शुक्रबार कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विद्यार्थीहरुलाई ईमान्दार बन्न आग्रह गरे । ईमान्दारीताले नै संसार जित्न सकिने बताउँदै ओलीले ईमान्दारिता नै हरेक सफलताको कडीको रुपमा रहेको बताए । भीमोदय चितवनकै उत्कृष्ट शैक्षिक गन्तव्य रहेको प्रति प्रशंसा गर्दै ओलीले विद्यालयको शैक्षिक उन्नयनमा योगदान दिने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे ।

अध्यक्ष ओलीले शिक्षाको गुणस्तरीयताले मात्र देश विकास सम्भव हुने बताए । प्राविधिक शिक्षामा जोड दिँदै ओलीले  उद्योग, कलकारखाना, कृषि क्षेत्रको विकास गरी आबश्यक जनशक्ति उत्पादन गर्दै बेरोजगारी समस्याको समाधान गर्नुपर्ने आवश्यकता औंलाए  ।

विद्यालयलाई आवश्यक सरसहयोग गर्न स्थानिय जनप्रतिनिधिहरुलाई आग्रह गर्दै ओलीले केन्द्रबाट गर्नुपर्ने कुनै काम भए आफुले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा ओलीले नवनिर्मित स्वर्णद्वारको उद्घाटन, स्वर्ण स्तम्भको अनावरण र स्वर्ण स्मारिका बिमोचन गरे ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी उपस्थित थिईन् । त्यस्तै कार्यक्रममा पुर्व सांसद कृष्णभक्त पोखरेल, मेयर विनोद रेग्मी, उपमेयर विमला तामाङ, अन्य निर्वाचित जनप्रतिनिधि, विद्यालय संस्थापक लगायतको आतिथ्य रहेको थियो ।

सप्ताहव्यापी रुपमा संचालन स्वर्णमहोत्सव कार्यक्रममा विज्ञान तथा प्रविधि प्रदर्शनी, शैक्षिक सामाग्री तथा फोटो प्रदर्शनी, जिल्ला स्तरिय शिक्षक भलिबल प्रतियोगिता, शिक्षक विद्यार्थी क्रिकेट प्रतियोगिता, हाजिरीजवाफ र भाषणकला प्रतियोगिता, रक्तदान, स्वास्थ्य शिविर, घैटो फुटाई, नृत्य प्रतियोगिता, निबन्ध लेखन प्रतियोगिता, प्रभातफेरी, शैक्षिक बहस र विभिन्न विधामा सम्मान लगायत कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमको पाँचौ दिन सम्ममा झन्डै पौने करोड चन्दासहयोग संकलन भएको र कार्यक्रम अवधीको आयव्यय केहि दिन भित्रैमा सार्वजनिक गरिने समारोह मूल आयोजक समिति संयोजक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमृत श्रेष्ठले जानकारी दिए ।

स्वर्ण महोत्सव कार्यक्रमको यहि पौष ६ गते मेयर विनोद रेग्मीले उद्घाटन गरेका थिए ।

क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

क्रिकेटर सन्दीप लामिछाने नाबालिक बलात्कार मुद्दामा दोषी ठहर भएका छन् । यद्यपि सजाय निर्धारण हुन बाँकी रहेकाले अर्को पेसी पुस २५ गतेलाई तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले शुक्रवार यस्तो आदेश सुनाएको हो ।​

शालाको एक होटलमा लगेर जबरजस्तीकरणी गरेको भन्दै भदौ २१ गते एक किशोरीले प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएकी थिइन् ।

जाहेरी पर्दा लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमैका पुगेका थिए । त्यसपछि असोज २० गते नेपाल फर्किएका सन्दीपलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।

शुरूमा काठमाडौं जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा पठाइएका लामिछाने उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका थिए ।

उच्च अदालतले विदेश जान रोक लगाएकोमा सर्वोच्च अदालतले क्रिकेट खेल्न अनुमति लिएर विदेश समेत जान सक्ने आदेश गरेको थियो ।

काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको करिब १४ महिनापछि आदेश आएको हो ।

रत्ननगर महोत्सवको तयारी तीब्र: कृषि र पर्यटनलाई प्राथमिकता

रत्ननगगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित टिकौलीचौरमा यही पौष २६ गतेबाट सुरु हुने रत्ननगर महोत्सव २०८० को तयारी तीब्र पारिएको छ ।

रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको सो महोत्सवमा यस बर्ष कृषि उत्पादन र पर्यटन विकासलाई प्राथमिकता दिइएको छ ।

रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सवको १२औं संस्करण पौष २६ गते उद्घाटन भएर माघ ८ गते सम्म चल्ने छ । संघले शुक्रबार सौराहामा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको उद्देश्य र तयारीको बारेमा जानकारी दिएको हो ।

विगत दुई दशकदेखि प्रत्येक दुई दुई वर्षमा आयोजना हुने यस महोत्सवले समग्र जिल्ला तथा विशेष गरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार, व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादनलाई जोड दिइएको संघका अध्यक्ष तथा महोत्सव मुल व्यवस्थापन समितिका संयोजक शंकर गिरीले जानकारी दिए ।

कोरोना महामारीको कारण सिर्जित स्वास्थ्य र आर्थिक संकटबाट तंग्रिन नभ्याउदै देशमा सुरु भएको चरम आर्थिक मन्दीले देशको औद्योगिक एबं व्यवसायिक क्षेत्र अभुतपूर्व संकटबाट गुज्रिरहेको भन्दै अध्यक्ष गिरीले महोत्सव मार्फत उद्योग, कृषि र पर्यटन मार्फत आर्थिक गतिविधिलाई चलायमान गराउन महोत्सव गरिएको बताए ।

महोत्सव २०८० मा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ४५० स्टलहरु रहने छन् ।

देशकै तेश्रो पर्यटकीय गन्तव्य स्थल चितवन सौराहाको मुलद्धार रत्ननगरमा हुने यस महोत्सवले विशेष सामाजिक एवं सांस्कृतिक महत्व बोकेको भन्दै अध्यक्ष गिरीले समग्र आर्थिक क्रियाकलापमा गतिशिलता ल्याउन, स्वदेशमा उत्पादित बस्तु तथा सेवाहरुको बजार पहिचान गरी नव व्यवसायी र व्यवसायिक क्षेत्रको प्रबद्र्धनलाई प्रोत्साहन गर्नुका साथै उद्योग एवं व्यापार प्रवद्र्धनको लागि स्थानीय तथा स्वदेशी औद्योगिक उत्पादनहरुको प्रदर्शन, प्रवद्र्धन, प्रचार प्रसारको लागि समेत त्यतिकै महत्व राख्ने बताए ।

यस पटकको महोत्सवमा तीन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब २५ करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको छ ।

चितवनवासीहरुले गौरव र पर्वको रुपमा मान्दै आएको रत्ननगर महोत्सव व्यापार र व्यवसायको जगतमा उत्कृष्ट र अनुपम नमुनाको रुपमा रहेको छ ।

चितवन कृषि उत्पादनको हिसाबले अब्बल जिल्लाको रुपमा सावित हुँदै आएको छ । महोत्सवमा कृषि उत्पादनलाई जोड दिएका छौं ।

महोत्सव परिसरमा बृहत व्यवसायिक कृषि प्रर्दशनी तथा मकैवाली विशेषमा मकैका नयां प्रविधि, मकैका परिकार, ताजा तरकारी, थोपा सिंचाई प्रविधि, केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसंगै चितवनमा प्रबल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिएको संघका बरिष्ट उपाध्यक्ष निराजन खनालले जानकारी दिए ।

स्थानीय स्तरमा उत्पादित अन्नवाली मकैवाली, ताजा तरकारी, फलफुल, दुग्ध जन्य पदार्थ, पोल्ट्री लगायत कृषि व्यवसायसंग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल विउ विजनहरु महोत्सवमा प्रदर्शन र बजारीकरणको व्यवस्था गरिने उनले जानकारी दिए ।

महोत्सव अवधिभर कृषिसंग सम्बन्धित, पूर्वी चितवनमा बढ्दो सवारी दुर्घटनालाई न्यूनिकरण गर्न सरोकारवालसंग जिल्ला ट्राफिक र प्रदेश ट्राफिक संग समन्वय गरी दुर्घटना न्यूनिकरण सम्वन्धी अन्तरक्रिया कार्यक्रम, चितवनको आर्थिक विकास र उन्नयनका लागि विशेष आर्थिक क्षेत्रको स्थापना र चुनौती विषयक गोष्ठी सञ्चालन गरिने संघका महासचिव उपेन्द्रशर्मा आचार्यले जानकारी दिए ।

महोत्सवमा आर्थिक मन्दीका कारण धरासायी बन्दै गएका व्यवसायीहरुको सुुरक्षाका लागि छलफल र बहस गरी सरकारलाई नीतिगत सुधारका लागि सुझाब पेश गरिने छ ।

रत्ननगर नगरपालिका, सौराहाका पर्यटन व्यवसायी तथा संघको त्रिपक्षीय सहकार्यमा नगर भित्रका धार्मिक तथा अन्य पर्यटकीय स्थलहरुको अबलोकन गरी प्रबद्र्धनको काम सुरु भइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

विगतमा जस्तै महोत्सव अन्र्तगत पौष २९ देखि ४ गते सम्म ५ दिन रत्ननगरको सौराहाचोक वसपार्कमा विभिन्न जनजातीहरुको विशेष खाना, उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन उपभोगका लागि विशेष परिकार सहित पाँचौं रत्ननगर सांस्कृतिक खाना महोत्सव आयोजना गरिएको संघका पूर्व अध्यक्ष तथा खाना महोत्सवका संयोजक ज्ञानबहादुर विसुरालले जानकारी दिए ।

रत्ननगर महोत्सवमा प्रवेशका लागि अबलोकनकर्ताले खरिद गरेको टिकटबाट मौलाकालिका केबुलकारमा ५० प्रतिशत छुट दिने व्यवस्था मिलाइएको छ । महोत्सवको टिकट लिएर जानेलाई माघ १५ गते सम्म सो सुविधा प्राप्त गर्न सक्ने संघले जनाएको छ ।

पत्रकार सम्मेलनमा रत्ननगर नगरपालिकाका संस्थापक मेयर नारायण वन, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठ सहित संघका पदाधिकारी,पूर्वअध्यक्षहरु तथा कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

ललितपुरमा मन्त्री ज्वालाको गाडीमाथि आगजनी

काठमाडौं । ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी भएको छ।रोजगार अनुमति प्रणाली (इपिएस) लाई लिएर आन्दोलन गरिरहेकाहरूले रिङरोडमा शुक्रबार दिउँसो मन्त्री ज्वालाको गाडी आगो लगाएका हुन्।

मन्त्री ज्वालालाई गाडीबाट निकालेर आगो लगाइएको थियो। आगलागीबाट बा २ झ ५८६१ नम्बरको गाडीमा क्षति पुगेको छ।मन्त्री ज्वालाले आन्दोलनकारीले आफू चढ्ने गाडीमा आगो लगाइदिएको बताए।‘आन्दोलनकारीले पहिले गाडीको हावा खुस्काए। अनि केहीबेरमा आगो लगाए। म र दुई जना पिएसओ कसोकसो उम्कियौं,’ उनले भने।

बालकुमारी क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। आन्दोलनकारीले सडकबाट ढुंगा प्रहार गरेका छन्। रिङ रोडको बालकुमारी क्षेत्रमा सवारी साधन सञ्चालन हुन सकेको छैन।महानगरीय प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको बताए।

भीमोदय स्वर्णमहोत्सवको आज समापन: पुर्वप्रधानमन्त्री ओली प्रमुख अतिथि

चितवन,१३ पुष-  विभिन्न कार्यक्रम गर्दै सप्ताहव्यापी रुपमा स्वर्ण महोत्सव मनाईरहेको भीमोदय नमुना माध्यमिक विद्यालय पदमपुरले आज शुक्रबार विशेष समारोहबीच स्वर्ण महोत्सव कार्यक्रमको समापन गर्दैछ ।

स्वर्ण महोत्सवको समापन कार्यक्रममा पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीको प्रमुख आतिथ्य रहने स्वर्ण महोत्सव मूल समारोह समितिका संयोजक एवं विद्यालय व्यबस्थापन समितिका अध्यक्ष अमृत श्रेष्ठले जानकारी दिए ।

स्वर्ण महोत्सवको मूल समारोहमा प्रमुख अतिथि ओलीबाट नवनिर्मित स्वर्णद्वारको उद्घाटन, स्वर्ण स्तम्भको अनावरण, स्वर्ण स्मारिका बिमोचन, अक्षयकोष तथा चन्दादातालाई सम्मान गर्ने कार्यक्रम रहेको विद्यालयका प्रधानाध्यापक ईन्द्रराज पौडेलले जानाकारी दिए ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा हुने भनिएको कार्यक्रम प्रधानमन्त्रीको व्यस्तताको कारण समय व्यवस्थापन गर्न नसकिने भएपछी ओलीको प्रमुख आतिथ्यमा हुन लागेको हो ।

भीमोदय स्वर्ण महोत्सव: एकहत्तर लाख बढी सहयोग संकलन

उज्यालो नेपाल, पुष १२-  कालिकाको भीमोदय नमुना माध्यमिक विद्यालयको जारी स्वर्णमहोत्सवको छैटौं दिन सम्म एकहत्तर लाख बढी सहयोग संकलन भएको छ । विद्यालयले स्वर्ण महोत्सव मनाउन तथा विभिन्न पूर्वाधार निर्माणको लागी सहयोग आव्हान गरे अनुरुप चन्दा सहयोग संकलन भएको हो ।

विद्यालयका पुर्व विद्यार्थी, कर्मचारी, अभिभावक लगायत चन्दादाताले सो मात्राको सहयोग प्रदान गरेका हुन् । यसै गरि कालिका नगरपालिकाबाट पूर्वाधार निर्माण र कार्यक्रमको व्यवस्थापकीय खर्चको लागी ४० लाख प्राप्त हुने विहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

स्वर्णमहोत्सवको सन्दर्भमा विद्यालयमा हाल निर्माणाधीन गार्ड आवास सहितको एउटा स्वर्णद्वार, अर्को अतिरिक्त प्रवेशद्वार, विद्यालय कम्पाउण्ड, स्वर्ण स्तम्भ र स्वर्ण बाटिका निर्माणको काम अन्तिम चरणमा पुगेको र ति सबै काम सम्पन्न गर्नको लागी झन्डै ७० लाख खर्च हुने अनुमान गरिएको मूल आयोजक समिति संयोजक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमृत श्रेष्ठले जानकारी दिए ।

त्यस्तै कार्यक्रमको व्यवस्थापकीय कार्यको लागी १० लाख खर्च हुने र बचत भएको रकम अक्षयकोष बनाएर दिगो आम्दानी श्रोतको रुपमा प्रयोग गरिने उनले जानकारी दिए ।

हाल शिक्षक कर्मचारीको सेवासुविधाको लागी निजिश्रोतबाट मासिक आठ लाख बढी रकम जुटाउनुपर्ने अवस्था रहेकोले बचत रकमबाट बन्ने अक्षयकोषबाट तलब भुक्तानीको लागी सहजता आउने उनले बताए । यसबाट सधैको अभिभावक चन्दाको मारलाई अन्त्य गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

भोली शुक्रबार पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा महोत्सवको मूल समारोह सम्पन्न हुनेछ । त्यसअघि विभिन्न झाँकी तथा बाजागाजा सहित शोभा र्याली निस्कनेछ । महोत्सवको मूल कार्यक्रममा रु २५ हजार माथि सहयोग प्रदान गर्ने सहयोगदाता, विद्यालय संस्थापक, पुर्व व्यवस्थापन समिति अध्यक्ष, पुर्व प्रधानाध्यपक, शिक्षक, खेलाडी लगायतलाई सम्मान, स्वर्णद्वार उद्घाटन, स्वर्ण स्मारिका विमोचन, स्वर्ण स्तम्भ अनावरण लगायतको कार्यक्रम हुनेछन् ।

 

 

 

 

चितवन हात्ती महोत्सव : डुंगा दौडमा खैरहनी नगरपालिका प्रथम

रत्ननगर । चितवनको सौराहामा जारी १७औँ हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत विहीबार भएको डुंगादौर प्रतियोगितामा खैरहनी नगरपालिकाले प्रतिनिधित्व गरेको डुंगा प्रथम भएको छ । चितवनका सात वटा स्थानीय तहले भाग लिएको सो प्रतियोगितामा रत्ननगर नगरपालिका द्धितीय र माडी नगरपालिका तृतीय भएको महोत्सवको आयोजक संस्था क्षेत्रीय होटल संघ सौराहाका कोषाध्यक्ष माधव दुवाडीले जानकारी दिए । सौराहा स्थित राप्ती नदीको एक हजार ५०० मिटरमा डुंगादौड प्रतियोगिता गरिएको हो ।

निर्धारित दुरी १२ मिनेट ४५ सेकेण्डमा पार गरी खैरहनीको प्रतिनिधित्व गरेका होमबहादुर कुमालले चलाएको डुंगा प्रथम, १२ मिनेट ४६ सेकेण्डमा निर्धारित दुरी पार गरी रत्ननगरको प्रतिनिधित्व गरेका आइते तामाङले चलाएको डुंगा द्धितीय र १२ मिनेट ४७ सेकेण्डमा निर्धारित दुरी पार गरी माडीको प्रतिनिधित्व गरेको दीपक बोटेले चलाएको डुंगा तृतीय भएको संघका महासचिव गुणराज थपलियाले जानकारी दिए ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई महोत्सव समापन समारोहमा शिल्ड र नगद पुरस्कार प्रदान गरिने छ । महोत्सव अन्तर्गत बुधबार हात्ती सुन्दरी प्रतियोगिता गरिएको छ । प्रतियोगितामा भाग लिएका अन्य छ वटा हात्तीलाई पछि पार्दै सेल्फी कलीले हात्ती सुन्दरीको ताज पहिरीन सफल भएकी हो । हात्ती सुन्दरी प्रतियोगितामा सेल्फिकली सहित समृद्धिकली, लक्ष्मीकली, बिजुलीकली, रानीमायाकली, चम्पाकली र रिमझिमकलीले सहभागिता जनाएका थिए । प्रतियोगिताको निर्णय आँखाको सुन्दरता, हिँडाई, शरीरको बनावट, माउतेले भनेको मान्ने, नमान्ने र रौँको अवस्था नङ फुटे नफुटेको, हिँडाइ लगायतका बारेमा मूल्यांकन गरिएको थियो ।

महोत्सव रत्ननगर नगरपालिका–७ मैनाहाको चित्रसारी पुलनजिक चौरमा महोत्सव आयोजना गरिएको छ । क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसरमा पर्यटकलाई सौराहा आउने वातावरण बनाउने उद्देश्यले सन् २००४ मा हात्ती दौड कार्यक्रमको थालनी गरिएको थियो । कोरोनापछि लगातार तीन वर्ष रोकिएको यो कार्यक्रम यसपालि फेरि सुरु गरिएको संघका अध्यक्ष गंगा गिरीले बताए ।

क्षेत्रीय होटल संघ चितवन सौराहाले गर्दै आएको महोत्सवको मुख्य सहआयोजकमा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेष्टुरेण्ट एण्ड बार एसोसिएशन चितवन छन् । कोरोना महामारी र आर्थिक मन्दीको चपेटामा परेको सौराहा सहित चितवनको पर्यटनलाई पुरानै अबस्थामा फर्काउन हात्ती महोत्सवका गतिविधिलाई परिमार्जन गरी हात्ती तथा पर्यटन महोत्सव गरिएको संघका उपाध्यक्ष तथा महोत्सवका संयोजक ओम पाण्डेले बताए ।

स्वर्णमहोत्सवको पाँचौ दिनमा भीमोदय: विद्यालयमा योगदान पुर्याउने ५०७ जना सम्मानित

उज्यालो नेपाल, चितवन- कालिकाको पदमपुरमा रहेको भीमोदय माध्यमिक विद्यालयको स्वर्णमहोत्सव कार्यक्रम जारी छ । स्थापनाको ५३ औं वर्ष पुगेको अवसरमा आयोजित स्वर्णमहोत्सव कार्यक्रम यहि पौष छ गतेदेखि सुरु भएको हो । कार्यक्रमको पाँचौ दिन बुधबार विद्यालयमा विभिन्न समयमा योगदान दिने ५०७ जनालाई सम्मान गरिएको छ ।

सम्मानित हुनेहरुमा पुर्व अक्षयकोष दाता ७ जना, पुर्व शिक्षक १०६ जना, पुर्व विद्यालय व्यवस्थापन समिति सदस्य ३७ जना, पुर्व विद्यालय कर्मचारी ७ जना र २५००० सम्म सहयोग प्रदान गर्नुहुने ३५० जना गरि ५०७ जना छन् ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशी, सभाध्यक्ष  स्वर्णमहोत्सव मूल आयोजक समिति संयोजक एवम्  विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमृत श्रेष्ठ, प्रधानाध्यापक इन्द्रराज पौडेल, वडा नं. ५ का वडाध्यक्ष दिपकबहादुर भट्टराई लगायतले सम्मानित हुनेहरुलाई खादा लगाएर सम्मानपत्र प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री जोशीले सरकारले लगानी गरे बमोजिम सामुदायिक विद्यालयले नतिजा निकाल्न नसक्दा चिन्ता थपिएको बताए । शिक्षक कर्मचारीको सेवा सुविधा र भौतिक निर्माणको लागी सरकारले ठुलो लगानी गरेको भएतापनि संस्थागत विद्यालय संगको प्रतिस्पर्धामा सामुदायिक विद्यालय निक्कै पछाडी रहेको उनले बताए ।

अर्को प्रसंगमा मन्त्री जोशीले कालिकाको नगर अस्पताल स्तरोन्नतिको लागी प्रदेश सरकारले केहि रकम विनियोजन गरेको र उपकरण खरिदमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुले नृत्यकला समेत प्रस्तुत गरेका थिए । स्वर्णमहोत्सव कार्यक्रम यहि पौष १३ गते सम्म जारी रहनेछ । भोली ८:०० बजे प्रभातफेरी, पुर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम, शैक्षिक बहस लगायतका कार्यक्रम रहनेछन् ।

छैटौ दिनको तस्विरहरु डाउनलोड गर्नको लागी यँहा क्लिक गर्नुहोला वा तल दिइएको क्युआर कोड स्क्यान गर्नुहोला !!

रत्ननगर खानेपानीको तेर्हौ वार्षिक साधारण सभा : एक बर्षमा दुई करोड मुनाफा

रत्ननगर । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले एक बर्षमा पाँच करोड बढी आम्दानी गरेको छ । मंगलबार सम्पन्न १३ औ बार्षिक साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवदन अनुसार आर्थिक बर्ष २०७९÷८० मा सो संस्थाले पाँच करोड ८ लाख २ हजार रूपैया आम्दानी गर्न सफल भएको हो ।

१९ शीर्षकमा आम्दानी गरेको सो संस्थाले पानी महसुलबाट मात्र ४ करोड ६६ लाख १ हजार रूपैया आम्दानी गरेको हो । ५ करोड ८ लाख २ हजार आम्दानी गरेको सो संस्थाले २ करोड ९९ लाख ३४ हजार खर्च कटाएर २ करोड ८ लाख मुनाफा गर्न सफल भएको छ ।

सो संस्थाले ५२ शीर्षकमा २ करोड ९९ लाख ३४ हजार खर्च गरेको आर्थिक प्रतिवेदनमा उल्लेख गरेको छ । २०५८ सालमा स्थापना भएको सो संस्थामा २०८० जेठ ४ गते बछौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्था समायोजन गरी सेवा क्षेत्र विस्तार गरिएको थियो ।

१३ हजार ३३ उपभोक्ता रहेको सो संस्था अन्तर्गत संस्थागत धारा १५८, सामुहिक धारा २५६, विपन्न वर्ग धारा ८५५, निजी धारा ११ हजार ७६४ धारा संख्या रहेको छ । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थामा अध्यक्ष माधवप्रसाद अर्यालले चालू आर्थिक बर्षको नीति तथा कार्यक्रम भावि कार्ययोजना, सचिव प्रताप डल्लाकोटीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष सरस्वती लामाले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक जीवनलाल नगरकोटीले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष अर्यालले खानेपानीको न्यूनतम महसुल ११० वटा घटाएर ८० रूपैया कायम गरिएको र मर्मत शुल्क १० रुपैया लिने निर्णय गरिएको जानकारी दिए ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका उपमेयर यादवप्रसाद पाठक, संस्थापक मेयर नारायण वन, निवर्तमान उपमेयर विमला दुवाडी, नेपाली काँग्रेसकी नगर सचिव अनिता अर्याल, एमालेका नगर अध्यक्ष ईश्वरी अर्याल, माओेवादी केन्द्रका नगर अध्यक्ष श्याम बराल, एकीकृत समाजवादीका उपाध्यक्ष रामहरि अधिकारी, वडा नं ६ का वडाध्यक्ष किरण महतो, वडा नं ८ का वडाध्षक्ष कृष्ण चौधरी, वडा नं ९ का वडाध्यक्ष अनन्त अधिकारी, संस्थाका निवर्तमान अध्यक्ष भीष्मराज पौडेल लगायतले मन्तव्य राखेका थिए ।

संस्थाका उपाध्यक्ष कृष्णप्रसाद सापकोटा स्वागत मन्तव्य राखेको सो कार्यक्रम सचिव प्रताप डल्लाकोटीले सञ्चालन गरेका थिए । कार्यक्रममा पूर्व अध्यक्षहरु, सल्लाहाकार तथा संस्थाको संस्थागत विकासमा योगदान गरेकाहरुलाई सम्मान गरिएको थियो ।