Home Blog Page 98

लघुवित्त पिडितहरु सरकारविरूद्ध सशक्त आन्दोलनमा उत्रने

खैरहनी,पौष ९- लघुवित्त संस्था पिडितहरु सशक्त आन्दोलनमा उत्रने भएका छन। आइतवार चितवनको खैरहनीमा आयोजित पीडितहरुको भेलामा उनिहरुले आफूहरुको माग सम्बोधन नगरेको भन्दै सरकारविरूद्ध सशक्त आन्दोलनमा उत्रने बताएका हुन।

भेलाले सुधा पाठकको अध्यक्षतामा संघर्ष समिति पुनर्गठन गरेको छ । त्यस्तै,सचिवमा शिवकान्त चौधरी रहेको समितिमा अन्य पदाधिकारी र सदस्य पछि चयन गर्ने भेलाले निर्णय गरेको छ ।

भेलालाई सम्बोधन गर्दै संघर्ष समिति गण्डकी इन्चार्ज धनकुमारी विकले अब जिल्ला/जिल्ला एकजुट भएर केन्द्रमा दबाब दिन जरूरी भएको बताईन। उनले ‘हाम्रो आन्दोलन शान्तिपूर्ण भएको कारणले गर्दा माग पूरा भएन, आफुहरु चरम शोषणमा परेका छौँ ।रोडमा कराएर मात्र भएन, हाम्रो पीडा सरकारले बुझेन र न्याय दिन सकेन, अब कडा आन्दोलनको तयारीमा रहेका छौ ।’ सरकारले वार्तामा भएको सहमतिमा हामी चुप लागेर बसेको भन्दै उनले अब चुप लागेर बस्ने अवस्था नरहेको बताइन् ।

भेलामा बागमती प्रदेश संयोजक छत्रबहादुर मोक्तानले न्यायका लागि एकजुट भएर सरकारलाई दबाब दिन जरूरी रहेको बताए । पीडितले न्याय पाउनुपर्नेमा सरकारले हाम्रो गाँस, बास, कपास नै खोसेको उनले बताए । दिदीबहिनीहरुले लघुवित्तबाट केही कर्जा लिएर काम गर्छु भन्दा सरकार किन निरीह भएको र लघुवित्तको कारणले गर्दा भूमिहीन हुन बाध्य भएको भन्ने बारेमा मोक्तानको आक्रोश थियो ।

फागुन १ गतेबाट काठमाडौँकेन्द्रित आन्दोलनको तयारीमा रहेको उनले जानकारी दिए । अब लघुवित्तीय संस्था घरमा आउने, फोन गर्ने गरेमा एकजुट भएर त्यसको सामना गर्ने सहभागीको जोड थियो ।

भेलामा सहभागी पिडितहरुले लघुवित्तले आफुहरुलाई धम्की दिने,परिवार नै बाटोमा ल्याईदिने र आत्महत्या गर्न बाध्य बनाउने गरेको समेत बताए।

लामो समय देखि लघुवित्त पिडितहरु नवसामन्तीको रुपमा खोलिएका लघुवित्त संस्था खारेज हुनुपर्ने, आमगरिब किसानलाई निःशुल्क ऋण दिनुपर्ने, जनपक्षीय मौद्रिक नीति लागू गर्नुपर्ने, लघुवित्तीय संस्थाले लगाएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, कालोसूची तथा धितो लिलाम खारेज गर्नुपर्ने लगायतका माग राखेर आन्दोलित छन् ।

भीमोदयको स्वर्णमहोत्सवमा केपी ओली आउँदै

चितवन, ९ पौष । भीमोदय नमुना माध्यमिक विद्यालयको जारी स्वर्णमहोत्सव समापनमा नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपीशर्मा ओली आउने भएको छ । यस अघि राष्ट्रपति रामचन्द्र पौडेललाई विद्यालयले प्रमुख अतिथिको रुपमा निम्तो गरेको थियो ।

राष्ट्रपति पौडेलले समय व्यवस्थापनगर्न नसक्ने भएपछि प्रधानमन्त्री पुृष्पकमल दाहाल प्रचण्डलाई प्रमुख अतिथिको रुपमा निम्तो गरिएको थियो । प्रधानमन्त्री दाहालले निम्तो स्वीकार गरेपनि अन्तिम समयमा कार्यव्यस्तताका कारण कार्यक्रममा सहभागीहुन नसक्ने भएपछि प्रतिपक्षीदल नेकपा एमालेका अध्यक्ष ओलीलाई निम्तो गरिएको हो ।

नेकपा एमालेका नेता एवम वागमती प्रदेश सासंद कृष्ण सिलवाल कालिका नगर इन्चार्ज टिकाराज रिजाल लगायतका नेताहरु निम्तो बोकेर काठमाण्डौं पुगेका थिए । काठमाण्डौं स्थित ओलीको निवास पुगेर प्रमुख अतिथिका लागि निम्तो दिएका थिए । पौष १३ गते स्वर्णमहोत्सव समापनको लागि निम्तो दियौं वागमती प्रदेश सासंद समेत रहनुभएका एमाले नेता सिलवालले भन्नुभयो –‘ हाम्रो निम्तो उहाँले स्वीकारगर्नभयो, पक्का आउने निधो भयो ।’ पौष १३ गते १ बजे विद्यालय आइपुग्ने कार्यक्रम रहेको एमाले कालिका इन्चार्ज टिका रिजालले बताउनुभयो ।

अन्तको कार्यक्रम रद्द गरेर भएपनि उहाँ भीमोदयको स्वर्ण महोत्सवमा सहभागी हुने उहाँले जानकारी दिनुभयो । समापनको दिन बाजागाजा सहित विभिन्न जातजातिका झाँकी निकाल्ने, २५ हजार भन्दाबढी चन्दादिने दाताहरुलाई सम्मानगर्ने कार्यक्रम रहेको विद्यालयका प्रधानाध्यापक इन्द्रनाथ पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालय संस्थापक, संस्थापक शिक्षक, पूर्व अध्यक्षहरु, पूर्व प्रधानाध्यापकहरुलाई समेत सम्मानगर्ने कार्यक्रम छ । यस्तै विद्यालयमा निर्माण स्वर्णद्धारा उद्घाटन, स्वर्ण स्मारिका विमोचन, स्वर्ण स्तम्भ अनावरण लगायतको कार्यक्रम छ ।

सप्ताहाव्यापी रुपमा स्वर्ण महोत्सव मनाउने अभियान जारी छ । भोली पौष १० गते कालिका नगरपालिका विद्यालयस्तरीय समुहगत नृत्य प्रतियोगिता आयोजना हुँदैछ । यस्तै भोली नै अन्तर समुह अभिभावक भौलिक लोकगीत तथा नृत्य प्रतियोगिता आयोजना हुँदैछ । यस्तै भोलीनै जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगिता आयोजना हुने स्वर्णमहोत्सव मूल समारोह समितिले जनाएको छ ।

यस्तै पौष ११ गते पूर्व शिक्षक, पूर्व विद्यालय व्यवस्थापन समितिलाई सम्मानगर्ने कार्यक्रम छ । यस्तै पूर्व अक्षयकोषदाताहरुलाई सम्मानगरिने कार्यक्रम छ । पौष ११ गतेनै २४ हजार सम्मका चन्दादाताहरुलाई सम्मानगर्ने कार्यक्रम छ ।यस्तै पौष १२ गते विहान ८ बजे प्रभातफेरी निकाल्ने कार्यक्रम छ । प्रभातफेरी कार्यक्रम पछि विहान ११ बजेपछि पूर्व विद्यार्थी पुर्ननिमलन कार्यक्रम आयोजना हुँदैछ ।

यस अघि जिल्ला स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी प्रतियोगिताको आयोजना भइसकेको छ । यस्तै शिक्षकहरुबीच मैत्रीपूर्ण भलिवल प्रतियोगिता आयोजना भएका छ । आज आइतवार मात्रै रक्तदान तथा निशुल्क स्वास्थ्य परीक्षण शिविर समेत आयोजना गरिएको थियो ।

पौडी खेल्ने क्रममा डुबेर रत्ननगरमा एक बालकको ज्यान गयो

उज्यालो नेपाल, पुष ९- रत्ननगरमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ । रत्ननगरको वडा नं. ९ ढिकुवा स्थित खगेरी खोलामा पौडी खेल्ने क्रममा कालिका नगरपालिका वडा नं. ११ स्थायी घर भएका जंगलाल चेपाङको छोरा बिकास चेपाङको डुबेर ज्यान गएको हो ।

आईतबार ११ बजेको समयमा पौडी खेल्न खोलामा पसेका चेपाङ पानीमा डुबेर बेपत्ता भएका थिए । उद्दारको लागी स्थानीयले खबर गरेपछि घटनास्थल पुगेको ईलाका प्रहरी कार्यालय रत्ननगरको टोलीले उनलाई मृत अवस्थामा फेला पारेको प्रदेश प्रहरी कार्यालय बागमतीले जानकारी दिएको छ ।

मृतकको शवलाई पोष्टमार्टमको लागी भरतपुर अस्पताल पठाईएको छ ।

 

भरतपुरका १४७ जना स्काउट पारिजात स्कुलमा दिक्षित

भरतपुर,पौष ९- भरतपुर महानगरपालिका १४४ जना स्काउट विद्यार्थीहरु दिक्षित भएका छन।

आइतवार भरतपुर -६ चोक बजारस्थित पारिजात ईङ्ग्लिस बोर्डिङ्ग स्कुलद्वारा आयोजित शितकालिन क्याम्प तथा दिक्षान्त समारोहमा स्काउट विद्यार्थी दिक्षित भएका हुन।

विद्यालयका प्राचार्य एवं ट्रुप अध्यक्ष अरविन्द प्रताप राणाको अध्यक्षता रहेको सो कार्यक्रममा भरतपुर महानगरपालिकाका उप-प्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथिको रुपमा रहेका थिए।

कार्यक्रममा भरतपुर-६ चोकबजार स्थित पारिजात ईङ्ग्लिस बोर्डिङ्ग स्कुल,भरतपुर-१२ स्थित मोहन माध्यमिक विद्यालय र भरतपुर-९ स्थित स्टेप बाई स्टेप ईङ्ग्लिस बोर्डिङ्ग स्कुलका स्काउट विद्यार्थीहरुको सहभागीता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी अधिकारीले सम्वृद्ध समाज निर्माणमा स्काउट भाइ बहिनिहरुको मह्त्वपुर्ण भुमिका रहदै आएको बताउनुभयो साथै उनले स्काउटिङ्गको अभियानमा महानगर सदैव सकारात्मक रहेको बताए।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा भरतपुर महानगरका शिक्षा शाखा प्रमुख महेन्द्र प्रसाद पौडेल विशिष्ट अतिथीको रुपमा रहेका थिए। त्यस्तै ,अतिथीको रुपमा नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक एवं संचारकर्मी सन्तोष बस्ताकोटी,सहायक राष्ट्रिय प्रशिक्षक शिव प्रसाद बराल,स्काउटर ईश्वर गुरुङ्ग,गणेश थापा,अशोक ढकाल,शिक्षक कृष्ण भट्ट,सरस्वती भण्डारी ,विद्यालय संचालक समितीका अध्यक्ष बिष्णु तिवारी लगायत रहेका थिए।

कार्यक्रममा स्काउटर उपेन्द्र घिमिरे र सरस्वती भण्डारीले स्काउट विद्यार्थीलाई दिक्षान्त गराउनुभएको थियो।

एक रात दुई दिनको सो कार्यक्रममा स्काउट विध्यार्थीहरुका लागि नेपाल स्काउटको ईतिहास,लर्ड बेडेन पावेल,लेडि बेडेन पावेलको जिवनी र संघर्ष,गाँठो सम्वन्धी ज्ञान साथै क्याम्प फायरको अर्थ,व्यवस्थापन र नियम सम्बन्धी जानकारी मुलक कक्षा संचालन भएको थियो। त्यस्तै, सोही कार्यक्रममा साँस्कृतिक कार्यक्रम साथै क्याम्प फायर,धर्मसभा लगायतका स्काउटिङ्ग गतिविधिहरु संचालन भएको थियो।

सो कार्यक्रममा चितवन स्मार्ट स्काउट क्र्युले सहजीकरण गरेको थियो। कार्यक्रम विद्यालयका स्काउट माष्टर उपेन्द्र घिमिरेले संचालन गर्नुभएको थियो।

पिडितको काँधमा टेकेर प्रसाई व्यवस्थाको विरुद्धमा लागे

उज्यालो नेपाल, चितवन- लघुवित्तीय संस्था विरुद्ध संघर्ष समितिका केन्द्रिय सचिव रमेश तमाङले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई वित्तीयसंस्था पिडितको काँधमा टेकेर राज्य व्यवस्था विरुद्ध लागेको आरोप लगाएका छन्। संघर्ष समितिको चितवन जिल्ला भेलाको पुर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनलाई सम्वोधन गदै तामाङले यस्तो आरोप लगाएका हुन्।

प्रसाईको आन्दोलन पश्चगामी रहेको उल्लेख गर्दै तामाङले, “वित्तीय दलदलमा फसेका जनतालाई ऋण मुक्त गराउने आश्वासन देखाएर प्रसाई हिन्दुराष्ट्र र राजतन्त्रको वकालतमा लागेको बताए ।” वित्तीय संस्थाले दिएको दबाब र धाकधम्कीका कारण नागरिक आत्महत्याको बाटो रोज्न बाध्य भईरहेको बेला, ‘व्यवस्था विरुद्धको आन्दोलनमा उकासेर गरिबलाई देशद्रोहको मुद्दामा फसाउने षड्यन्त्र भईरहको उनको भनाई छ ।

सरकारी वार्ता टोलीसंग भएको चारबुँदे सहमती लघुवित्तले नटेरेको भन्दै तामाङले सहमतीको वातावरण निर्माण गर्न विगत तिन महिना देखि स्थगित आफुहरुको आन्दोलन पुन: सुरु भएको बताए । कर्मचारी तहको वार्ता समितिले काम गर्न नसकेको भन्दै उनले उच्च स्तरिय आयोग वा वार्ता समति गठन गरेर आफुहरुको माग सम्बोधन गर्न सरकारसंग आग्रह गरे ।

राष्ट्रबैंकको निर्देशिका विपरित एउटै व्यक्तिलाई दर्जन बढी लघुवित्तले लाखौँ रकम विना धितो लगानी गरेको बताउँदै तामाङले निर्देशिका विपरित काम गर्ने वित्तीय संस्थालाई पनि कारबाहीको दायरामा ल्याउन माग गरे । कारबाहीको डण्डा संधै गरिब र भुईमान्छे माथि मात्र चल्ने गरेको प्रति आक्रोश व्यक्त गर्दै तामाङले संघर्ष समिति अहिले राष्ट्रबैंक केन्द्रित आन्दोलनमा लागेको बताए ।

अर्थतन्त्र भित्रभएका विकृति र विसंगतीको उन्मुलनको लागी संघर्ष समिति ,अर्थव्यवस्था र अर्थनीति नै सुधार्नेगरी आर्थिक क्रान्तिको तयारीमा लागेको उनले जानकारी दिए  । खाएको ऋण तिर्न नसकेर आन्दोलन गरेको भ्रम फैलाईएको भन्दै उनले “गरिब किसानहरु खाएको ऋण तिर्न तयार रहेको तर अन्यायपूर्ण ऋण तिर्न असमर्थ रहेको”, उनले बताए ।

लघुवित्त संस्थाले गलत नीति अबलम्बन गर्दै अत्यधिक ब्याज असुल्ने, ऋण तिर्न नसक्दा विभिन्न गालीगलौज, धम्की दिने गरेपछि महिलाहरु भूमिहीन, सुकुम्बासी र  विस्थापित हुनेक्रम बढिरहेको संघर्ष समितिका बागमती प्रदेश संयोजक क्षेत्रबहादुर मोक्तानले बताए।

संघर्ष समिति कि चितवन जिल्ला अध्यक्ष सुधा पाठकले लघुवित्तका कर्मचारीले थर्काउने, धम्काउने, गालीगलौज गर्ने, घरमा भएका पशुचौपाया, जिन्सी, गरगहना समेत जबरजस्ती लैजाने गरेको बताईन् । “वेश्यावृति गरेर भएपनि ऋण नतिरी सुख पाउँदिनस्” भनेर लघुवित्तका कर्मचारीहरुले आफ्नो आत्मसम्मानमा चोट पुर्याएको पिडित महिलाहरुले बताए ।

मङ्सिर पाँच देखि सुरु भएको संघर्ष समितिको देशव्यापी कार्यक्रम अन्तर्गत चितवनमा जिल्ला भेला तथा पुनर्गठन कार्यक्रम आयोजना गरिएको हो । सरकारसंग वार्ताको वातावरण निर्माण गर्न केहि महिना देखि स्थगित आन्दोलनलाई पुनर्उठानको लागी जिल्ला भेला आयोजना गरिएको हो ।

सौराहामा हुने हात्ती महोत्सवको तयारी अन्तिम चरणमा

चितवन – चितवनको सौराहामा हुने १७ औँ हात्ती महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । पर्यटकीय नगरी सौराहामा यही पुस १० देखि १४ गतेसम्म सन्चालन हुने हात्ती महोत्सवको तयारी अन्तिम चरणमा पुगेको हो ।

उक्त महोत्सवको उद्घाटन गर्न अर्थमन्त्री डा.प्रकाश शरण महत आउने भएका छन्। १० गते बिहान ११ बजे नेस्नलपार्कबाट ४० देखी ५० वटा हात्तिको लस्कर सहित विभिन्न जातजातिका झाकी, बाजागाजाको साथमा महोत्सव उद्घाटन गर्ने तयारी भएको छ ।

हरेक अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्न भन्दै पर्यटकीय नगरी सौराहामा हात्ती महोत्सव हुँदै आएको छ । कोरोनाका कारण स्थगन गरिएको हात्ती महोत्सव चार वर्षपछि पुनः सुरु गर्न लागिएको हो ।

हालसम्म महोत्सवको तयारी ९५ प्रतिशत सम्पन्न भईसकेको क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको अध्यक्ष गंगा गिरीले बताए । अहिले महोत्सव अन्तर्गत स्थान व्यवस्थापन, प्रचारप्रसार, हात्तीलाई अभ्यास लगायत अन्य आन्तरिक तयारीको काम भईरहेको उनले बताए ।

यस बर्षको १७ औँ हात्ती महोत्सवलाई “हात्ती तथा पर्यटन महोत्सव” को नामाकरण गरिएको छ । लामो समयदेखि रोकिएको महोत्सव यसपटकदेखि नयाँ ढङ्गले गर्न लागिएको छ । पहिला गरिँदै आएको छावाको फुटबल, पोलो, हात्ती दौडजस्ता गतिविधिले हात्तीलाई दुःख हुने गरेको गुनासो बढेपछि यसवर्ष त्यस्ता गतिविधि नगर्ने उनले बताए ।

यसपटक हात्तीको वनभोज, हात्ती सुन्दरी प्रतियोगिताहरु गर्न लागेको उनको भनाई छ । हात्ती महोत्सवको मुख्य आकर्षण भनेको हात्ती सुन्दरी प्रतियोगिता भएको भन्दै उनले हात्तीको सरसफाइ, स्वास्थ्य र सजावटको मूल्याङ्कन गरी हात्तीलाई सुन्दरीको उपाधि दिइनेछ ।

महोत्सवमा विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमहरु पनि हुने छन् भने महोत्सवमा आउने पाहुनाले थारु आदिबासीले बनाएका विभिन्न परिकारका खानेकुराहरु खान पाउने छन् । त्यस्तै पर्यटकलाई बस्न खान समस्या नहोस् भन्ने उदेश्यले पुर्वी चितवनका होटलहरुमा व्यवस्था गर्न लागिएको उनले बताए ।

यसपटक चित्रसारीको चौरमा महोत्सव गर्न लागिएको हो । यसअघि बाघमारा मध्यवर्ती सामुदायिक वनमा हात्ती महोत्सव हुँदै आएको थियो । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजना गरिने महोत्सवले स्वदेशीसँगै विदेशी पर्यटक थप आकर्षित हुने छन् ।

उक्त महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटक आउने हुँदा सौराहा र वरपर क्षेत्रका व्यवसायीलाई अर्थतन्त्रमा थप सहयोग पुग्ने विश्वास गरिएको गिरिले बताए । महोत्सवमा दैनिक १० हजार पर्यटक आउने अनुमान गरिएको छ । महोत्सव अवलोकन गर्न आउने दर्शकलाई शुल्क राखिएको छैन ।

महोत्सव बिह्नान ११ बजे शुरु भई बेलुका ८ बजे सम्म सन्चालन हुने छ । महोत्सव सन्चालनका लागि करिब १ करोड १० लाख रकम खर्च लाग्ने अनुमान गरिएको उनले बताए ।

 

चितवन राष्ट्रिय निकुञ्जका चार भाले हात्ती आक्रामक, स्थानीय त्रासमा

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा समूहबाट अलग भएका चारवटा भाले हात्ती यतिबेला बढी आक्रामक बनेका छन् । निकुञ्जमा रहेका ध्रुवे, गोविन्दे, रोनाल्डो र मकुना हात्तीले निकुञ्ज र आसपासका बस्तीमा त्रास बढाएका छन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जमा रहेका यी हात्तीमध्ये ध्रुवेले जगतपुर, माडी र निकुञ्जको पश्चिम क्षेत्रमा त्रास बढाएको छ । गोविन्दे, रोनाल्डो र मकुनाले पूर्वी क्षेत्रमा त्रास बढाएको उनले बताए ।

‘ध्रुवे माडी र जगतपुर क्षेत्रमा छ भने अन्य तीन हात्ती सौराहा क्षेत्रमा रहेका छन्’, तिवारीले भने, ‘सौराहा क्षेत्रमा हात्ती प्रजनन् केन्द्र खोरसोर क्षेत्र तथा पोथी हात्ती यहीँ क्षेत्रमा भएकाले तीन हात्तीलाई यस क्षेत्रमा केन्द्रीत गराएर राखिएको हो ।’

निकुञ्जमा रहेका भाले हात्तीको सक्रियता बढेसँगै निकुञ्ज प्रशासनले स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । उनले भने, ‘जङ्गली हात्ती समुदायमा पस्ने र फर्कने क्रम जारी छ । सबै सजग रहनुहोला ।’

अहिले समुदायमा पस्ने, टहरा भत्काउने, अन्नबाली नष्ट गर्ने लगायतका काम गरिरहेको भन्दै तिवारीले निकुञ्ज आसपासका बस्तीका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको बताए । समय समयमा यी हात्ती बस्ती पस्ने गरेको भन्दै उनले सबै सजग भइरहन र सामुदायिक वन क्षेत्रमा घाँस दाउरा गर्न जाँदासमेत सजगता अपनाउन अनुरोध गरिएको बताए ।

एक्लै भएका बेला यी हात्तीले समुदायमा पसेर मानवीय क्षति गर्न सक्ने भएको भन्दै सूचना अधिकारी तिवारीले हात्ती देखिएमा निकुञ्ज प्रशासन वा नजिकैको सुरक्षा पोष्टमा खबर गर्नसमेत अनुरोध गरिएको जानकारी दिए ।

क्रिसमस पर्वको पूर्व सन्ध्यामा सौराहामा सांस्कृतिक झाँकी

रत्ननगर, पुष ८ । क्रिसमस पर्वको पूर्व सन्ध्यामा पर्यटकीय नगरी सौराहामा सांस्कृतिक झाँकी निकालिएको छ । रेष्टूरेण्ट एण्ड वार एसोसियसन सौराहाको आयोजना र क्षेत्रिय होटल संघ नेपाल चितवनको सह आयोजनामा झाँकी निकालिएको हो ।

सौराहामा रहेका क्रिसमस पर्व मनाउने विदेशी पर्यटकलाई लक्षीत गरि सौराहाको संस्कृति चिनाउने उद्देश्यले झाँकी निकालिएको रेवानका अध्यक्ष नरेश गिरीले बताए ।

झाँकीमा आदिवासी जनजाती समूदाय सांस्कृतिक पहिरन सहित सहभागी गराइएको रेवानका महासचिव सूर्य रिमालले जानकारी दिए ।

र्‍यालीमा क्षेत्रीय होटल संघका अध्यक्ष गंगा गिरी,साना पर्यटन ब्यवसायी समुहको अध्यक्ष सुना रिजाल स्थानिय होटल ब्यवसायी लगायतको सहभागिता रहेको थियो ।

कारको टायर पड्किएर भएको दुर्घटनामा कालिकामा एकजनाको ज्यान गयो

चितवन । चितवनमा टायर पड्किदा कार अनियन्त्रित भएर पल्टिदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार कालिका नगरपालिका वडा नम्वर १ लंकालाइनमा भरतपुरबाट खोलेसिमलतर्फ जाँदै गरेको बा ११ च ८७८९ नम्वरको कारको टायर पड्किदा अनियन्त्रित भई नालीमा पल्टिएको थियो ।

दुर्घटनामा घाइते कार चालक कालिका नगरपालिका ५ का बिष्णु क्षेत्रीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता बिजयराज पण्डितले जानकारी  दिए।

सयौं वर्षदेखि फलामको बलियो सिक्रीले बाँधेर राखिएको भगवानको कथा

बाघमारा सामुदायिक वनको १९औं बार्षिक साधारण सभा : संरक्षणकर्मीलाई सम्मान

रत्ननगर, पुस ७ । चितवनको पर्यटकीय नगरी सौराहामा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनले एक बर्षमा दुई करोड बढी आम्दानी गरेको छ । शनिवार सम्पन्न सो वनको १९औं बार्षिक साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा आर्थिक बर्ष २०७९/८० मा दुई करोड २४ लाख ८१ हजार रूपैया आम्दानी गरेको हो ।

दुई करोड २४ लाख ८१ हजार आम्दानी गरेको सो वनले आम्दानी भन्दा बढी दुई करोड ३० लाख ६९ हजार खर्च गरेको छ । चालू आर्थिक बर्षको आम्दानीबाट गत आबको ऋण चुक्ता गर्ने गरि खर्च गरिएको वनका अध्यक्ष जीतु तामाङले जानकारी दिए ।

सौराहाको पर्यटनलाई मुख्य आम्दानीको स्रोत बनाएको सो सामुदायिक वनले आम्दानीको अधिकांस हिस्सा वन संरक्षण र उपभोक्ताको गरिबी निवारणमा खर्च गर्दै आएको अध्यक्ष तामाङले बताए ।

हात्ती सफारीबाट ३९ लाख १० हजार, डुंगा सयरबाट १ करोड २६ लाख, नेपाली प्रवेशबाट २५ लाख १२ हजार, सरसफाई शुल्क ६ लाख ३९ हजार, मचानबाट १ लाख २४ हजार, डिभिजन वन कार्यालयबाट आम्दानी १४ लाख १४ हजार, वन बीचको साझेदारी आम्दानी ६ लाख १० हजार, नगरपालिकाबाट आम्दानी २ लाख लगायतका शीर्षकमा दुई करोड २४ लाख ८१ हजार आम्दानी गरेको हो ।

सो वनले वन व्वयवस्थापन कार्यक्रम, सामुदायिक विकास कार्यक्रम, संरक्षण शिक्षा कार्यक्रम, आयआर्जन तथा विपन्न बर्ग उत्थान कार्यक्रम, उपभोक्ता समितिको संस्थागत विकास,अन्य कार्यक्रम, पर्यापर्यटन विकासमा दुई करोड ३० लाख ६९ हजार खर्च गरेको हो ।

साधारण सभाको अबसरमा भूमाफियाको कब्जाबाट वन जोगाउने २१ जनालाई सम्मान गरिएको छ । भूवनेश्वर चौधरी, शिव प्रसाद आचार्य ,विश्वनाथ पौडेल, स्व. कान्छा लोप्चन, स्व. ठगुवा महतो, रामकृष्ण महतो, सोमला राउत, जनुवा राउत, स्व. जनुवा राउत, स्व. छनुवा राउत, झगरु महतो, स्व. कानुन महतो, शंकर महतो, पाण्डु महतो, विष्णु प्रसाद अर्याल, प्रकाश ढकाल, गिरीधारी चौधरी, ढुण्डीराज सिलवाल, रामु रिजाल, रामकाजी अधिकारी, रुकमिणी रिमाललाई सम्मान गरिएको थियो ।

त्यसैगरी राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका रेन्जर ऋषिराम सुवेदी सहित अन्य संरक्षणकर्मी र कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल बहादुर पुर्जापुन प्रमुख अतिथि रहेको सो कार्यक्रममा वनका अध्यक्ष जीतु तामाङले भावी कार्ययोजना तथा प्रगति प्रतिवेदन, कोषाध्यक्ष आशमान लामाले आर्थिक प्रतिवेदन तथा लेखा संयोजक विनोद खनालले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका संस्थापक मेयर नारायण वन, वडा नं ६ का वडाध्यक्ष किरण महतो, वडा नं ७ का वडाध्यक्ष सजना महतो, चितवन निकुञ्ज सौराहा सेक्टर प्रमुख शान्ताबहादुर मगर, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरे, चित्रसेन मध्यवर्ती सामुदायिक वनका अध्यक्ष पुष्षराज श्रेष्ठ, क्षेत्रीय होटल संघका उपाध्यक्ष ओम प्रकाश पाण्डे, युनाईटेड हात्ती सञ्चालन सहकारीका अध्यक्ष दीपेन्द्र खतिवडा, लगायतले मन्तव्य राखेको थियो ।