भ्रष्टाचारको नाङ्गो रुप देखियो: अध्यक्ष नेपाल

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली समाजमा चर्को रुपमा भ्रष्टाचारको नाङ्गो रुप देखिएको बताउनुभएको छ ।
समाजवादी प्रेस सङ्गठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उहाँले राजनीति विकृत हुनाका कारण भ्रष्टाचारले काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा बिना पैसाको कुनै काम नहुने अवस्था आएको छ, पैसामा लोभिने, जनतालाई पीडा दिने र शोषक सामन्त, जाली फटाहा अझै दलाल पुँजी हाबी हुन पुग्ने, इमान्दार र असल पाखा पर्नुपर्ने स्थिति विद्यमान छ ।”
उहाँले अहिले पुनः प्रतिगामी शक्ति सल्बलाएको र वंशको शासनलाई फर्काउने दुष्प्रयास भइरहेको समेत आरोप लगाउनुभयो । अहिले नेपाली समाजमा भ्रष्टाचारको पनि नाङ्गो रुप आएको बताउँदै अध्यक्ष नेपालले थप भन्नुभयो, “भूटानी शरणार्थी प्रकरण होस् वा कुनै पनि काम बिना पैसाको नहुने अहिलेको प्रवृत्ति होस्, मिटरब्याजीको पैसाले पीडित बनाएको होस्, गलत प्रवृत्तिको बिरुद्धमा जुध्नुपर्नेछ ।”
सोही कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले यथास्थितिमा बजेट पास हुन नदिने बताउनुभएको थियो । उहाँले आफूहरु सत्ता पक्षकै भए पनि यथास्थितिमा बजेट पास हुन नदिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “यही अवस्थामा, यही स्थितिमा बजेट पास हुँदैन, हामी प्रतिपक्षको सांसद भएर होइन, सत्ता पक्षकै भएर पनि यथास्थितिमा यो बजेट पास हुन दिँदैनौँ ।” भौतिक पूर्वाधारको धेरै बजेट शीर्ष नेता र अर्थमन्त्रीको जिल्लामा छुट्याइएको आरोप लगाउँदै उहाँले बजेट पक्षपातपूर्ण भएको उहाँको बताउनुभयो ।
आजदेखि सुरु भएको समाजवादी प्रेस सङ्गठनको पहिलो केन्द्रीय अधिवेशनबाट सङ्गठनको नयाँ नेतृत्व चयन गरिने प्रमुख ‘एजेन्डा’ रहेको सङगठनका अध्यक्ष शम्भु श्रेष्ठले जानकारी दिनुभयो । उक्त केन्द्रीय अधिवेशनमा देशभरबाट करिब चार सय पत्रकार प्रतिनिधि सहभागी रहेको समाजवादी प्रेस सङ्गठनले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/28086

Previous articleकरका दर वैज्ञानिक रुपमा प्रस्ताव गरिएको छ: अर्थमन्त्री डा महत
Next articleराष्ट्रपतिसँग बेलायती राजदूतको बिदाइ भेट
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।