दार्चुलाको बाक्लो जनसंख्या रहेको बजार क्षेत्रमा पेट्रोल पम्प नहुँदा उपभोक्ताहरु मारमा

दार्चुला- दार्चुला जिल्ला सदरमुकाममा एउटा पनि पेट्रोल पम्प छैन् । बाक्लो जनसंख्या रहेको बजार क्षेत्रमा पेट्रोल पम्प नहुँदा उपभोक्ताहरु मारमा परेका छन् । जिल्ला सदरमुकाम खलंगाबाट ७२ किलोमिटर दूरीमा पर्ने गोकुलेश्वरमा मात्रै डिजेल र पेट्रोल पाउने पम्प छ ।

शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा रहेको बालिचन आयल स्टोरले गोकुलेश्वरदेखि खलंगा र मार्मा लटिनाथका सवारी साधनको माग पूर्ति गर्दै आएको छ । नेपाल आयल निगमबाट मान्यताप्राप्त पेट्रोल पम्प नहुँदा ईन्धनका सेवाग्राही मारमा परेका हुन् ।

जिल्ला सदरमुकामबाट तीन किलोमिटर टाढा महाकाली नगरपालिका–५ किम्तडीमा रहेको महादेव इन्टरप्राइजेज आयल स्टोरले भने डिजेल मात्रै बेच्ने गरेको छ । गोकुलेश्वरमा रहेको बालिचन आयल स्टोरले अहिले डिजेल प्रतिलिटर १६० रुपैयाँ ८० पैसा र पेट्रोल प्रतिलिटर १८० रुपैयाँ ८० पैसामा बिक्री गरिरहेको छ । डिजेल मात्रै बेच्ने महादेव ईन्टरप्राइजेज आयल स्टोरले २ रुपैयाँ बढी १६२ रुपैयाँमा डिजेल बिक्री गरिरहेको छ ।

पेट्रोलियम पदार्थको सहजता नहुँदा कालोबजारी

पेट्रोलियम पदार्थको कारोवार गर्न नेपाल आयल निगमको मान्यता चाहिन्छ । जिल्लामा पेट्रोलियम पदार्थ भण्डारणका लागि आधिकारीक पम्प नहुँदा कालोबजारी मौलाएको छ । जिल्लाभरी दुई दर्जन बढी व्यापारीहरू नियम विपरीत डिजेल र पेट्रोलको व्यापार गर्दै आएका छन् ।

जिल्ला सदरमुकाम क्षेत्रको बांगाबगर, घाटबजार, बीच बजार, बसपार्क र गल्फैमा दर्जन व्यापारीले खुला रुपमा पेट्रोलियम पदार्थको विक्री वितरण गर्छन् । यस्तै दत्तु, पस्ती, गोकुले नाइल, लटिनाथ लगायतका ठाउँमा व्यापारीहरुले बोतल तथा जर्किनबाट इन्धन विक्री गर्ने गर्छन । अवैध कारोबारीले पेट्रोल र डिजेल प्रतिलिटर २०० देखि २२० रुपैयाँसम्म बेच्दै आएका छन् ।

अवैध कारोबार गरिरहेका व्यापारीबाट गाउँपालिका र नगरपालिकाकाका कार्यालय, सरकारी कार्यालयहरूसहित अन्य उपभोक्ताले चर्को मूल्यमा पेट्रोलियम पदार्थ खरिद गर्दै आएका छन् । बजारमा चर्को मूल्यमा पेट्रोलियम पदार्थ उपलब्ध हुनेहुँदा सवारीसाधनहरुलेसमेत गाडी भाडा बढाएका छन् ।

अबैध कारोबारीलाई कारबाही गर्न चुनौती

पेट्रोलियम पदार्थको अवैध कारोबार गर्नेहरुलाई कारबाही गर्न चुनौती देखिएको छ । किनकी बजारको बढ्दो माग उनीहरुले पूर्ति गरिरहेका छन् । अधिकांश व्यापारीका आफ्नै सवारी साधन भएकाले कालोबजारी हुदैछ भन्न पनि सकिने अवस्था छैन । तर, यहाँका सवारीसाधनले भने उनीहरुबाटै डिजेल, पेट्रोल खरिद गरी संचालन गर्छन् ।

बजार अनुगमन गर्ने निकायसँग उनको जवाफ आफ्नै लागि हो भन्ने हुन्छ । अहिले अबैध रुपमा कारोबार भइरहेको भन्ने सूचना पाएपछि प्रहरीले जिल्ला सदरमुकामका विभिन्न पसलहरुमा छापा हानेको छ । प्रहरीको छापापछि पूर्ववत रुपमा विक्रीवितरण गरिरहेका व्यापारीहरुले अहिले पेट्रोलियम पदार्थको अभाव देखाउन थालेका छन् ।

दार्चुलाका अधिकांश व्यापारीहरुले आफ्नै सवारी साधनका लागि भन्दै पेट्रोलियम पदार्थ खपत गरी राख्ने गरेको पाइएकाले कारवाही गर्न पनि चुनौती देखिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनुभयो ।

पेट्रोलियम पदार्थको अभाव खड्किएको यो अवस्थामा प्रशासनले सहज रुपमा पेट्रोलियम पदार्थको उपलब्धताका लागि आयल स्टोरको पहल गर्न चाँसो दिएको छैन् ।

https://ujyaalonepalnews.com/archives/28171

Previous articleचितवनमा गैंडाको आक्रमणबाट एकजनाको मृत्यु
Next articleजिल्लामा ९५ प्रतिशत चापाकलको पानी सुकेपछि पर्सामा खोनेपानीको ठूलो समस्या
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।