प्रेस युनियन नेपाल टेलिभिजनको अध्यक्षमा ममता कोइराला

काठमाडौँ- नेपाल प्रेस युनियन नेपाल टेलिभिजन प्रतिष्ठान शाखाको पाँचौ अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ।

अधिवेशनबाट ममता कोइरालाको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन भएको छ ।

अधिवेशन उद्घाटन समारोहमा अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले आगामी वर्षको बजेट लोकप्रियताको पछि लागेरभन्दा पनि लोकप्रिय बजेट ल्याउन सफल भएको बताउनुभएको थियो ।

मन्त्री महतले देशको अर्थतन्त्रको अवस्था र स्रोत साधनलाई मध्य नजर गर्दै आगामी वर्षको बजेट ल्याइएको बताउनुभएको हो । उहाँले समग्र देशको आर्थिक स्थितिको बारेमा बताउनुहुँदै नेपाल टेलिभिजनलाई समयनुसार डिजिटल प्रविधियुक्त चल्न सुझाव दिनुभयो ।

कार्यक्रममा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाहले राष्ट्रिय टेलिभिजनको दायित्व निर्वाह गर्दै आइरहेको नेपाल टेलिभिजनले सोही अनुरुप सार्वजनिक भूमिकालाई थप प्रभावकारी र गतिशील बनाउँदै लगेको  बताउनुभयो ।

त्यस्तै टेलिभिजनका महाप्रबन्धका फूलमान वल तामाङले संस्थानलाई अघि बढाउन व्यावसायिक दक्षता, कार्यकुशलता, प्रभावकारिता र गुणस्तरको खाँचो पर्ने हुँदा सबै कर्मचारी एकजुट हुनुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल प्रेस युनियनकी सल्लाहाकार अनिता बिन्दुले देशमा परेको आर्थिक मन्दीले आमसञ्चार, पत्रकारिता व्यवसायिकतामा नै ठुलो धक्का पुगेको चिन्ता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष गजुरधन राईले कुनैपनि कार्यमा अघि बढ्दा मानिसको जात धर्म पार्टीभन्दा पनि उसको कार्यशैलिअनुसार प्रस्तुत हुनुपर्नेमा जोडदिनुभयो ।

त्यस्तै मिडिया कर्मचारी संघ युनिमीका राष्ट्रिय अध्यक्ष गोविन्द धितालले संस्थानलाई अघि बढाउन एक कर्मचारी, एक व्यवस्थापक मात्र नभई सबैको दायित्व रहनेमा जोड दिनुभयो ।

नेपाल प्रेस युनियन नेपाल टेलिभिजन प्रतिष्ठान शाखाका निर्वतमान अध्यक्ष, दिपकजंग हमालले सरकारको बजेट वक्तव्यमा आमासञ्चारमाध्यमलाई पनि केहि राहातस्वरुप स्थान दिनुपर्ने भन्दै सरकारलाई सुझाव दिनुभएको थियो ।

त्यस्तै नेपाल प्रेस युनियनका उपाध्यक्ष जिवन भण्डारी र महासचिव दिलिप पौडेलले नेपाल टेलिभिजनले सरकारको आवाजलाई मात्र नभई जनताको आवजलाई पनि बुलन्द पार्नुपर्नेमा जोड दिनुभयो ।।

 

 

https://ujyaalonepalnews.com/archives/28554

Previous articleसाफ च्याम्पियनसिप फुटबल: नेपाल र भारत प्रतिस्पर्धा गर्दै
Next articleबेपत्ताको शव नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।