सुपा देउरालीको महिमा र लाहुरे टाँसिएको भीरको कथा ( भिडियो सहित)

धेरै वर्ष अगाडीको कुरा हो ” एकजना युवकले, हे सुपादेउराली माता, मेरो रक्षा गर्नुहोस, म रोजगारीको लागी मुग्लान पस्दैछु, परदेशमा मलाई राम्रो रोजगारी दिलाईदिनुहोस, यदि मैले राम्रो रोजगारी पाएँ भने, यदि मैले पैसा कमाए भने म हजुरको चरणमा कालो बोको र सुनको सिक्री चढाउने छु भनि भाकल गरेर मुग्लान पसेछ !

सुपादेउराली संग आशिर्वाद लिएर हिंडेको युवक हेर्दै खाईलाग्दो थियो, पहाडको चिसोपानी संगै सिस्नो र धेँदो खाएर हुर्केको त्यो युवक  हेर्दै बलियो थियो !  जागिर खोज्दै भारत पुगेको युवक भारतिय सेनामा भर्ती भएछ र  लाहुरे बनेछ ! लाहुरे बनेपछि पहिलो पटक गाउँ फर्कदै गरेको युवकले सुपादेउराली संग आफुले गरेको भाकल नबुझाउने सोच बनायो! सुपादेउरालीलाई सुनको सिक्री र कालो बोका चढाउनु त के म त्यो बाटो जाँदा पनि जान्न भन्दै युवक मन्दिरको बाटो छलेर मन्दिर माथिको जंगलको बाटो हुँदै घर जान लागेछ !

माता सुपा देउरालीले त्यो कुरा थाहा पाउनुभयो र आफुलाई ढाँटछल गरेको क्रोधमा आफ्नो शक्तिले त्यो लाहुरेलाई आफ्नो झिटी गुन्टा सहित नजिकैको भीमकाय पहरोको भित्तामा लगेर टाँसीदिनुभयो ! त्यो लाहुरे त्यहि विलिन भयो !

आदरणीय दर्शक माहानुभावहरु नमस्कार, आज हामीले यस भिडियोमा सुपादेउराली माताको उत्पती कसरी भयो र लाहुरे टाँसीनुको रहस्य के हो भनेर जानकारी दिनेछौं !  कृपया भिडियोलाई अन्तिमसम्म हेर्नुहोला, तपाई सबै घरपरिवारको सुपादेउराली माताले कल्याण गर्नुहुनेछ !

पुर्व पश्चिम राजमार्गको गोरुसिंङ्गे बाट दरबारे डांडा, डोहोड़े, सितगंगा, अमराई, सितापुर , देउराली हुँदै ४७ किलोमिटर यात्रा गरेपछि सुपा देउराली मन्दिर पुग्न सकिन्छ ।अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ७ मा पर्ने यो मन्दिर महाभारत पर्वत श्रृङ्खला अन्र्तगत पहाडको खोँचमा रहेको छ ! प्राकृतिक रुपमा अत्यन्त रमणीय, शान्तियुक्त स्थानमा रहेको   यो मन्दिरको दर्शन गर्न नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत भक्तजनहरु आउने गर्दछन् !

आफुले कामना गरेको भाकल पूरा भएपछि भक्तजनहरु मन्दिरमा पूजा गर्न आउने  गरेका छन् । नवविवाहित दम्पतीहरुपनि आफ्नो सफल दाम्पत्य जीवनको कामना गर्न सुपा देउराली पुग्ने गर्दछन । अन्य दिनको तुलनामा यस मन्दिरमा शनिवार भक्तजनहरुको व्यापक भिड लाग्दछ । २०४२ सालमा मात्र मन्दिर स्थापना भएपनि  परापुर्व कालदेखि नै पुजाआजा चल्दै आएको शक्तिपिठको रुपमा यो मन्दिर प्रख्यात छ ! यस मन्दिरमा आफ्नो मनोकामना पूरा होस भन्दै नरिवल, परेवा, जिन्सी समानहरु मन्दिरमा चढाउने चलन रहेको छ ।

सुपा देउराली मन्दिर नजिकै एउटा ठुलो पहरो छ ! त्यसलाई लाहुर टासीएको भीरको नामले पुकारिन्छ ! यस भीरको नाम यस्तो रहनुमा सुपादेउराली संग सम्वन्धित एउटा किम्वदन्ती छ !  परापुर्व कालमा जागिरको लागी  एक जना युवक भारतिय सेनामा भर्ती हुन जाँदै थिए ! सुपा देउराली कै बाटो हुँदै मुग्लान पस्न लागेका युवकले सुपा देउराली संग हात जोड्दै “म सेनामा भर्ती हुन पाऊँ, पहिलोपटक छुट्टीमा फर्की आउँदा भेटी चढाउनेछु भनी भाकल गरेर मुग्लान पसे । देविलाई गरेको भाकल अनुसार ऊ भर्ती पनि भयो । तालिम सक्किएपछी लाहुरे बनेको त्यो युवक छुट्टीमा फर्कियो ।

तर उसले सुपा देउराली संग गरेको भाकल अनुसारको भेटी नचढाई मन्दिरको बाटो छलेर मन्दिर माथिको जंगलको बाटो  जान घर लाग्दा देवीको शक्तिका कारण लाहुरे आफैँ भीमकाय पहरोको भित्तामा टाँसिएको किंवदन्ति छ । मन्दिर नजिकको पहरामा छत्री लगाएको र पछाडी गुन्टा बोकेको लाहुरे जस्तै आकृति देख्न सकिन्छ । सो स्थानमा अहिले ‘लाहुरे टाँसिएको भिर भनेर मन्दिर संरक्षण समितिले होर्डिङ बोर्ड नै राखेको छ ।

यस सुपादेउराली मन्दिर परिसरमा भगवान् राम कि पत्नी सितामाताले बनाएको चुल्हो, जाँतो, विभिन्न शिला समेतले यस शक्तिपिठको अस्तित्व त्रेता युग देखि नै भएको विश्वास गरिन्छ !

पुरानो किम्बदन्तीका अनुसार बाइसे चौबिसे राज्यका समयमा खाँचीकोट राज्यका राजकुमारी र भारतको बलराम पुरकी राजकुमारबीच विवाह गरी घरतर्फ ल्याउँदा बाटोमा केही कुरा ढाँटछल गरी विवाह गरेको हल्ला दुलहीले सुनिछन् । डोलीमा बोकेर ल्याएकी दुलहीलाई हालको मन्दिर भएको स्थानभन्दा करीब ५० मिटर दक्षिणमा ल्याई पु¥याउँदा रगतको थोपा झरेछ । अनि सुपा देउराली मन्दिर रहेको ठाउँमा आई डोलीमा हेर्दा दुलही मृतावस्थामा थिइन् ।

सो घटनापछि खाँचीकोटमा विभिन्न रोगव्याधी महामारी फैलियो ।पछि एकजना खनाल थरका ज्योतिषीले धामीझाँक्री गर्दा त्यहाँ दैवी शक्ति उत्पत्ति भएको र कालो पाठी बलि दिनुपर्छ भने पछि  त्यही समयदेखि हालसम्म त्यस राज्यका राजा ठकुरी (शाह) राजाका रजौटा खड्का, कब्दार र नेवार थरका समुदायले कूल पूजा गर्दै आएको पाइन्छ ।मन्दिरमा मनकामना पूरा होस् भनी भाकल गर्नेले विभिन्न जिन्सी सुन, ध्वजा, वस्त्र, रातो फूलमाला चढाउने र पाठापाठीको बलि पूजाका साथै परेवा उडाउने प्रचलन छ ।

ऐतिहासिक तथा धार्मिक महत्व बोकेको यस मन्दिरमा आन्तरिक तथा भारतिय पर्यटकहरुको आगमन बढ्दै गएको छ ! आदरणीय दर्शकमाहानुभावहरु आजको यो भिडियो तपाईलाई कस्तो लाग्यो ? कृपया कमेन्ट गर्न नभुल्नुहोला ! माता सुपा देउरालीको बारेमा तपाईले थाहा पाउनुभएका अझ धेरै कुरा छन् भने कमेन्टमा बताउनुहोला ! हामी सबैको सुपादेउराली माताले कल्याण गरुन, जय सुपा देउराली

भिडियो

 

https://ujyaalonepalnews.com/archives/28563

Previous articleनेपालगञ्ज उपमहानगरको बजेट १ अर्ब ६७ करोड
Next articleआइसिपी भन्सार वीरगन्जद्वारा ११ महिनामा १ खर्ब ४२ अर्ब राजस्व असुली
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।