झापामा अलगअलग घटनामा तीनजनाको मृत्यु

झापा- झापामा अलगअलग घटनामा आज बिहान तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हल्दिबारी गाउँपालिका–२ स्थित चिया बगानमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको र शिवसताक्षी नगरपालिकास्थित झिलझिलेमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो ।

भद्रपुर नगरपालिका–७ बस्ने ५३ वर्षीय गिरेन कर्मकारलाई आज बिहान महेन्द्र पोखरेलको चिया बगानमा जङ्गली च्याउ टिप्ने क्रममा हात्तीले कुल्चेर मारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताउनुभयो ।

यसैगरी पूर्वपश्चिम राजमार्गको शिवसताक्षी–९ स्थित भालुखोलामा पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र१–०२–००क ३८७९ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको प्र१–०१–००च ७४८२ नम्बरको कार एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कारमा सवार मोरङ उर्लाबारी नगरपालिका–६ बस्ने ४५ वर्षीय गुरुचन चौधरी र उहाँकै छोरी १८ वर्षीया कुमकुम चौधरी रहेको प्रहरीले जनाएको छ ।

गुरुचनको छोरा १० वर्षीय विवेक चौधरी, रतुवामाई नगरपालिाका–१० का १९ वर्षीय रिकेश न्यौपाने, उर्लाबारी–७ का ४० वर्षीया मुना साह घाइते भएको प्रहरी प्रवक्ता रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

https://ujyaalonepalnews.com/archives/28645

Previous articleबझाङमा पहिलो पटक रैथाने बाली खाद्य परिकार महोत्सव सञ्चालन
Next articleभाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।