शिक्षकले विद्यार्थीलाई नमस्कार गर्दा …

तनहुँ- तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयका शिक्षकले प्रवेशद्वारमा बसेर विद्यार्थीलाई नमस्कार गर्दै स्वागत गर्नुहुन्छ ।

विशेषतः हाम्रो समाज र संस्कारमा नमस्कार आफूभन्दा मान्यजनलाई गर्ने गरिन्छ तर, यस विद्यालयमा विद्यार्थीलाई गुरुले नमस्कार गरेर सम्मान वा स्नेह प्रकट गर्दै स्वागत गरिन्छ । विद्यार्थीलाई संस्कारयुक्त शिक्षा प्रदान गर्ने उद्देश्यले यस्तो संस्कारको विकास गरिएको विद्यालयले जनाएको छ ।

शिक्षक, अभिभावक, आफूभन्दा ठूला, साना सबैले एक अर्कालाई सम्मान गर्नुपर्छ भन्ने भावना लोप हुन लागेकाले सिकाइका निम्ति प्रवेशद्वारमा बसेर विद्यार्थीलाई नमस्कार गर्न सुरु गरिएको व्यवस्थापन समितिका अध्यक्ष विकास रिजालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीभन्दा ठूला मान्छेले नै सिकाएको हुँदा हामीले नमस्कार गर्नुपर्छ भनेर विद्यार्थीले सिक्ने हुँदा अभियान चलाएका हौँ ।”

विद्यार्थीलाई बानी पार्ने र नमस्कार गर्ने एउटा शिष्टाचार हो भन्ने शिक्षा बुझाउन सजिलो भएको विद्यालयले जनाएको छ । वार्षिक परीक्षामा विद्यार्थी पास भए पनि जीवनको परीक्षामा असफल भइरहेकाले संस्कारयुक्त शिक्षा प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक चन्द्रमणि कोइरालाले बताउनुभयो ।

शिक्षकका अतिरिक्त व्यवस्थापन समितिका अध्यक्ष र सदस्य पालो लगाएर हरेक दिन बिहान ९ः३० बजे नै विद्यालयको प्रवेशद्वारमा आएर नमस्कार गर्न खटिने गरेका छन् । संसार बदल्ने हो भने पहिला आफू बदल्नुपर्छ भन्ने हेतुले शिक्षकले नै नमस्कार गरेर सुरुआत गरेको सहायक प्रधानाध्यापक घनश्याम गौतमले बताउनुभयो ।

व्यवस्थापन समिति र शिक्षकको बैठकले निर्णय गराएर अभियानको सुरुआत गरिएको पूर्वप्रधानाध्यापक तीर्थराज परियारले बताउनुभयो । विद्यार्थीलाई किताबको शिक्षा सिकाएर राष्ट्रलाई फाइदा नगर्ने हुँदा संस्कार सिकाउन थालिएको सो वडाका निवर्तमान वडाध्यक्ष तुलसीराम सापकोटाले बताउनुभयो ।

सुरुमा सरहरुले नमस्कार गर्दा आफूलाई अप्ठ्यारो लागेको भए पनि हाल सहज भएको कक्षा ९ मा अध्ययन गर्ने प्रमिला ढुङ्गानाले बताउनुभयो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर राम्रो नभएको गुनासोका बीच विद्यार्थीलाई अनुशासनको परिधिभित्र बाँध्न अभियानले सघाउने विद्यालयको विश्वास छ ।

https://ujyaalonepalnews.com/archives/30042

Previous articleसिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि पहिरो खस्दा तीनजना घाइते
Next articleडोल्पामा भेटिए अनौठो बालकः उमेर १४ बर्ष, विकास दुधे बालक जस्तै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।