पिठुवा स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना

उज्यालो नेपाल- रत्ननगरको वडा नं. १६ पिठुवामा रहेको पिठुवा स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना गरिएको छ । प्रयोगशाला कक्षको आज एक कार्यक्रमका बीच मेयर प्रलाद सापकोटाले उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर सापकोटाले नागरिकको स्वास्थ्य नै आफ्नो प्राथमिकता भएकोले स्वास्थ्य क्षेत्रमा लगानी बढाएको बताए । नगरपालिका भित्रै प्रदेश स्तरीय अस्पताल भएता पनि नागरिकको सेवासुविधाको लागी वडावडामा प्रयोगशाला स्थापना गर्ने कार्यक्रम बमोजिम पिठुवा स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना गरिएको उनले जानकारी दिए ।

सो अवसरमा सापकोटाले गत आर्थिक वर्षमा नगर भित्रका ३२०० घरपरिवारको नि:शुल्क स्वास्थ्य बिमा गराईएको, विपन्न नागरिकको नि:शुल्क उपचारको लागी रत्ननगर बकुलहर अस्पतालमा ३० लाख रकमको ‘विपन्न नागरिक उपचार कोष, स्थापना गरिएको र दशैँ लगत्तै प्रत्येक वडामा गर्भवती महिलालाई नि:शुल्क भिडियो एक्सरे सेवाको तयारी भईरहेको जानकारी दिए । त्यस्तै ज्येष्ठ नागरिकको मुटुको समस्या जांच गर्नको लागी वडावडामा ईसीजी सेवा उपलब्ध गराउने तयारी भईरहेको पनि उनले जानकारी दिए ।

कार्यक्रममा वडाध्यक्ष हेमराज थापाले स्वास्थ्य प्रयोगशालाको व्यवस्थाले स्वास्थ्य परीक्षण गर्न टाढा जानुपर्ने झन्झटबाट स्थानीयबासी मुक्त हुने बताए। ‘स्वास्थ्य परीक्षण गराउन टाँडी पुग्नुपर्ने बाध्यता थियो। अब आफ्नै वडामा स्वास्थ्य प्रयोगशाला स्थापना भएको छ,’ उनले भने, ‘छिमेकी वडा १४ र १५ लाई पनि पायक पर्ने भएको छ। पहिले स्वस्थ परीक्षण गराउन टाढा जानुपर्दा घण्टौं समय बिताउनु पथ्र्यो ।’ स्वास्थ्य परीक्षण प्रयोगशालामा अपांग र ज्येष्ठ नागरिकलाई निःशुल्क तथा अरू सेवाग्राहीहरूलाई न्यून शुल्कमा सेवा पुर्‍याउने उनले बताए ।

वडाध्यक्ष हेमराज थापालाई डेंगु परिक्षण किट हस्तानान्तरण गर्दै मेयर प्रलाद सापकोटा

स्वास्थ्य परीक्षण प्रयोगशालामा खकार, जण्डिस, टाइफाइड, मधुमेह, युरिक एसिड, रगत आदिको परीक्षण हुने स्वास्थ्य चौकी प्रमुख विदुर बस्ताकोटीले जानकारी दिए । सिमित साधनश्रोतका बाबजुत वडाबासीलाई सेवा पुर्याउन पाउँदा आफु नै हर्षित भएको उनले बताए । स्थापना भएको २८ वर्ष वित्दापनि अहिलेसम्म स्वास्थ्य चौकीको आफ्नै भवन नहुँदा सेवाप्रबाहमा समस्या रहेको उनले  गुनासो गरे ।

नवनिर्मित प्रयोगशालामा रक्तपरिक्षण गराउंदै वडाध्यक्ष हेमराज थापा

प्रयोगशाला उद्घाटन कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख माधव पौडेल, विभिन्न संघसंस्था तथा राजनैतिक दलका प्रतिनिधिहरु, टोलविकासका प्रतिनिधि लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो । स्वास्थ्य चौकी प्रमुख विदुर बस्ताकोटीले संचालन गरेको कार्यक्रममा वडासदस्य सरिता गुरुङले स्वागत मन्तव्य राखेकी थिईन् ।

https://ujyaalonepalnews.com/archives/30551

Previous articleरुसको कुर्स्क क्षेत्रमा ड्रोन आक्रमणमा पाँच जना घाइते
Next articleमाओवादी अभियान : अध्यक्ष प्रचण्ड सुलिकोट–८ मा सहभागी हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।