सुनकाण्डका एक आरोपीसँग भेटियो तीन देशको नागरिकता

११ भदौ, काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा समातिएका एक व्यक्तिको साथमा तीन वटा मुलुकको नागरिकता फेला परेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धानका क्रममा १ भदौमा पक्राउ गरेका चिनियाँ नागरिक याओ पुचेङसँग भारत र नेपालको नागरिकता पनि फेला परेको हो ।

ब्यूरो स्रोतका अनुसार, पक्राउ परेका बेला उनीसँग भारतको आधार कार्ड भेटिएको थियो । उनले हरियानाको गुरुग्रामबाट आधार कार्ड बनाएको फेला परेको थियो ।

हालै उनको काभ्रेबाट जारी भएको नेपाली नागरिकता पनि फेला परेको अनुसन्धानमा संलग्न एक अधिकृतले अनलाइनखबरलाई बताए । ‘त्यसको आधारमा उनले राहदानी बनाएको पनि फेला परेको छ’, ब्यूरो स्रोतले  भन्यो, ‘उनी खासमा चिनियाँ नागरिक हुन्, उनको चिनियाँ सरकारी कागजात पनि भेटिएको छ ।’

प्रहरीले उनको नागरिकताको विवरण माग्दै जिल्ला प्रशासन कार्यालय, काभ्रेलाई पत्राचार समेत गरेको थियो । तर, काभ्रे प्रशासनले रेकर्ड फेला नपरेको जवाफ फर्काएको छ ।

अरु थप ३ चिनियाँ नागरिकले पनि लिएको नागरिकताबारे पनि सबै विवरण प्रशासनले उपलब्ध नगराएको स्रोतले अनलाइनखबरलाई बतायो । स्रोतका अनुसार, केही विवरण प्रशासनबाटै गायब छन् ।

प्रकरणमा हालसम्म चिनियाँ नागरिक सउतेन भनिने डिङ सेग फा, अली र ली समेत भनिने ली वेन टी सुङ, स्टेप्स र रोजर पनि भनिने ली नेङकाई, एलेक्स भनिने याओ पुचेङ, भारतीय नागरिक टासी भनिने थुप्नेत छिरिङ र बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परेका छन् ।

उनीहरुको अन्तरदेशीय कनेक्सन फेला परेपछि प्रहरीले अनुसन्धानमा इन्टरपोल समेत सहयोग लिँदैछ । ब्यूरोका एसएसपी दिनेश आचार्यलाई हङकङ पठाउने तयारी समेत भइरहेको छ ।

https://ujyaalonepalnews.com/archives/30828

Previous articleएसिया कप आजबाट पाकिस्तानमा सुरु हुँदै, नेपालले पहिलो पटक पाकिस्तानसँग खेल्दै
Next articleआजदेखि एमसिसी कार्यान्वयनमाः पाँच वर्षमै पूरा हुनेमा प्रशस्त आशंका
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।