‘टोखा–छहरे सुरुङ मार्ग’ निर्माणमा चिनियाँ सहयोग जुटाउने छौँ : अर्थमन्त्री डा महत

नुवाकोट- अर्थमन्त्री डा प्रकाशशरण महतले काठमाडाँैको टोखाबाट नुवाकोटको छहरेसम्मको सुरुङ मार्ग निर्माणमा चीन सरकारको सहयोग जुटाइने बताउनुभएको छ ।

नेपाली कांग्रेस नुवाकोटले आज विदुरमा आयोजना गरेको तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सुरुङ मार्ग निर्माणले चीनसँगको व्यापारिक गतिविधिमा उल्लेख्य योगदान पुग्ने भएकाले चीन सरकारसँग सहयोग माग्न लागिएको बताउनुभएको हो ।

“प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा माग गरिने सहयोगको कार्यक्रममा सुरुङ मार्ग निर्माणको प्रस्तावलाई अर्थ मन्त्रालयबाट प्राथमिकतामा राखेका छौँ”, उहाँले भन्नुभयो, “योजना सम्पन्न गर्न करिब रु ५० अर्ब लाग्ने अनुमान छ, यो वर्ष नेपालले रु एक अर्ब बजेट विनियोजन गरेर सुरुवात गरेकाले चीनको सहयोग भित्र्याएर योजना सम्पन्न गर्नेमा केन्द्रित हुनेछौँ ।”

नेपाल–चीनको व्यापारिक नाका रसुवागढी हुँदै राजधानी काठमाडौँ आउजाउ गर्न सबैभन्दा छोटो दुरीमा पर्ने नुवाकोटको सडकलाई सुरुङ मार्गमार्फत काठमाडौँमा जोड्नसके दुई देशीय व्यापारको ढुवानीमा अहिलेको भन्दा आधा खर्च कम गर्न सकिने अर्थमन्त्री डा महतको भनाइ छ ।

सुरुङ मार्ग निर्माणका लागि विभिन्न चरणका प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले निर्माण हुन्छ भन्नेमा ढुक्क हुन आग्रह गर्दै त्यसका लागि धैर्य गर्न उहाँले आग्रह गर्नुभयो ।

अहिले प्रारम्भिक अध्ययन पूरा भएर वातावरणीय अध्ययनको काम अन्तिम चरणमा पुगेको छ । अबको एक–दुई दिनमा नै तयार भएपछि चीन भ्रमणको क्रममा उक्त प्रतिवेदनका आधारमा आर्थिक सहयोगको प्रस्ताव लैजाने अर्थमन्त्री डा महतले बताउनुभयो ।

“चीनको केरुङ हँुदै काठमाडौँसम्मको अन्तर्राष्ट्रिय नाका सञ्चालनमा चीन सरकारको प्राथमिकतामा परेकाले सुरुङ मार्ग निर्माणमा नेपालको प्रस्तावलाई चीनले सकारात्मक रुपमा लिनेछ भन्ने विश्वास छ”, उहाँले भन्नुभयो, “धादिङको गल्छी हुँदै त्रिशूलीबाट रसुवागढीसम्म विस्तार भइरहेको अन्तर्राष्ट्रिय राजमार्गमा चीन सरकारको सहयोग भएकाले सुरुङ मार्गमा पनि दुई पक्षीय सहमति हुनेछ ।”

भारतीय नाकाबन्दीको समयमा मन्त्रिपरिषद्को विशेष निर्णयअन्तर्गत निर्माण थालिएको धादिङको गल्छीबाट नुवाकोटको त्रिशूली हुँदै चीनसँगको सीमा रसुवागढीसम्मको अन्तर्राष्ट्रिय राजमार्ग निर्माणको काम नेपालको लगानीमा आधाभन्दा बढी सम्पन्न भइसकेको छ ।

उक्त सडकमा चीन सरकारले रसुवाको स्याफ्रुबेसीँदेखि रसुवागढीसम्मको १७ किलोमिटर सडक निर्माणको जिम्मेवारी लिए पनि काम सुरु गर्न भने बाँकी छ ।

https://ujyaalonepalnews.com/archives/31197

Previous articleसदियौँदेखि कायम एकता भाड्नेदेखि सचेत रहनुपर्छ: अध्यक्ष ओली
Next articleकेहि दिनका लागि मौलाकाली केवलकारको समय परिवर्तन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।