नेम्वाङको पशुपतिमा अन्तिम संस्कार, प्रधानमन्त्रीबाट राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

राजकीय सम्मानसाथ गरिएको अन्त्येष्टिमा उहाँका दुई छोरा मिङसो नेम्वाङ र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । नेपाली सेनाको एक टुकडीले शोक कुनसहित स्वर्गीय नेम्वाङप्रति शोक धुन बजाएर सम्मान व्यक्त गरे ।

अन्त्येष्टि कार्यक्रममा अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहित दलका नेताहरू, एमालेका नेताहरू आर्यघाट पुग्नुभएको थियो । पूर्व सभामुखसमेत रहनुभएका नेता नेम्वाङको भदौ २६ गते मंगलबार बिहान १:५० बजे निधन भएको थियो ।

नेता नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो भने एमाले अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाउनुभयो ।

त्यसबखत प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासहित सरकारका मन्त्रीहरू, सांसदहरू, पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता थियो ।

https://ujyaalonepalnews.com/archives/31316

Previous articleसुन प्रकरणको अनुसन्धान नरोकिने
Next articleप्रधानमन्त्रीद्वारा १९औँ एसियाली खेलकुदमा भाग लिन जाने टोलीको बिदाइ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।