प्रेमिकाको हत्या गरी फरार रहेका मिझार छ वर्षपछि पक्राउ

धादिङ- प्रेमिकाको हत्या गरेको आरोपमा सप्तरी काचन (साविक काचन गाविस–६) का ३५ वर्षिय अरुण कुमार मिझारलाई धादिङ प्रहरीले पक्राउ गरेको छ ।

मोरङ विराटनगर महानगरपालिका–५ की ३२ वर्षिय ललिता कुमारी रामको हत्या गरी फरार रहेका मिझारलाई छ वर्षपछि पक्राउ गरिएको हो ।

कर्तव्य ज्यान मुद्धाको प्रतिवादी मिझारलाई यहि असोज ५ गते सप्तरी काचन वोदेबर्साइन नगरपालिका–८ काचनबाट पक्राउ गरिएको पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

ललिता २०७४ भदौ २१ गते मोरङबाट काठमाडौ आएको परिवारले जानकारी दिए । धादिङको धुनीवेशी नगरपालिका–९ टायलघरस्थित पृथ्वी राजमार्ग अधेरीखोलामा २०७४ असोज १२ गते साँझ वेवारिसे दुर्गन्धित अवस्थामा उनलाई मृत भेटिएको थियो ।

प्रहरीका अनुसार लगाएको कपडा र चप्पल हेरेर उनका भाइले मृतक ललितालाई पहिचान गरेका थिए । मृतक ललिता पेशाले स्टाफ नर्स थिइन् । मृतकको मोवाइल तथा प्राविधिक अनुसन्धान पछि मृतक ललिता र प्रतिवादी मिझार प्रेम सम्बन्धमा रहेको एसपी मिश्रले जानकारी दिनुभयो ।

उनीहरुविचको सम्बन्धबाट मृतक ललिता गर्भवती रहेको खुलेको छ । उनीहरुबीच असमझदारीका कारण मिझारले हत्या गरेको पुष्टि भएको हो । कानुनबाट बच्न मिझारले देशै छाडेर बस्दै आएको एसपी मिश्रले बताउनुभयो । मलेसिया, दुवई, भारत लगायतका मूलुकहरुमा लुकिछिपी बस्दै आएका थिए ।

हाल नेपाल आएको समयमा प्रतिवादी मिझारलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा मकवानपुरको सहयोगमा सप्तरीबाट पक्राउ गरिएको हो । अहिले उनलाई धादिङ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भैरहेको छ ।

https://ujyaalonepalnews.com/archives/31692

Previous articleचाडबाड लक्षित सुरक्षा योजना बनाएर लागू गर्न प्रहरीको सर्कुलर
Next articleनेपाललाई सहुलियतपूर्ण वित्तीय लगानी उपलब्ध गराउन अर्थमन्त्री महतको आग्रह
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।