होमस्टे महासंघको चौथो राष्ट्रिय सम्मेलन चितवनको माडीमा आयोजना गरिँदै

चितवन : देशैभर सञ्चालित घरबास (होमस्टे)का सञ्चालकहरुको संगठन होमस्टे (घरबास) महासंघको चौथो राष्ट्रिय सम्मेलन चितवनको माडीमा असोज २५ गतेदेखि २७ गतेसम्म आयोजना गरिने भएको छ । होमस्टे महासंघले भरतपुरमा पत्रकार सम्मेलन गरी माडीमा हुन आयोजना गरिने राष्ट्रिय सम्मेलन एवम् होमस्टे कार्यशालाको सम्बन्धमा जानकारी गराएको छ ।

‘ग्रामीण पर्यटन एवम् संस्कृति हाम्रो पहिचान, जैविक विविधता संरक्षण हाम्रो अभियान’ भन्ने मूल नारा तय गरिएको उक्त सम्मेलनमा देशभरका होमस्टेबाट प्रतिनिधिका रूपमा झन्डै छ सय जना सहभागी हुने महासंघका महासचिव कृष्ण चौधरीले पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतिनिधिहरुको बस्ने, खाने व्यवस्था माडीमा रहेका छ वटा सामुदायिक होमस्टेहरूमा गरिने बताइएको छ ।

चितवनको दक्षिणी क्षेत्र माडीमा विभिन्न जातजातीले अलग–अलग होमस्टे चलाएका छन् । सबैभन्दा बढी जातीले चलाएको होमस्टेहरु माडीमा मात्रै छन् । सम्मेलनमा आउने प्रतिनिधिलाई होमस्टेमा अट्नेहरुलाई होमस्टेमा र नअटाउनेहरुलाई विभिन्न फार्म हाउसहरुमा राख्ने गरी तयारी गरिएको होमस्टे महासंघ बागमती प्रदेशका सल्लाहकार एवम् माडीका स्थानीय श्रीप्रसाद दवाडीले जानकारी दिए । प्रतिनिधिहरु २५ गते साँझ नै माडी आइपुग्ने कार्यक्रम रहेको छ ।

‘प्रतिनिधिहरुलाई सचिवालयमार्फत इन्ट्री गरेर सम्बन्धित होमस्टेमा पुर्‍याउँछौं, २६ गते बिहान ८ बजेदेखि उद्घाटन सत्र सुरु हुन्छ,’ महासंघका महासचिव चौधरीले भने, ‘देशभरका जातजातीले सञ्चालन गरेका होमस्टेहरुको पहिचान झल्कने गरी झाँकी प्रदर्शनी तथा नाचगान र संस्कृति देखाउने काम पनि हुन्छ ।’ माडी आएका प्रतिनिधिहरुलाई हरेक दिन २/२ घण्टा साइट सिन भिजिटका लागि माडीका पर्यटकीय गन्तव्यहरूमा लैजाने योजना रहेको होमस्टे महासंघ बागमती प्रदेशका सल्लाहकार दवाडीले जानकारी दिए । प्रत्येक पाँच होमस्टे बराबर १ जना प्रतिनिधि सम्मेलनमा सहभागी हुनेछन् । निजीस्तरबाट चलेका होमस्टेका प्रतिनिधि पनि सम्मेलनमा सहभागी हुनेछन् । हरेक ४/४ वर्षमा हुने सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।

ग्रामीण पर्यटयनको मुख्य आधारको रुपमा स्थापित होमस्टेलाई थप प्रभावकारी बनाउँदै समुदायको आर्थिक समृद्धि गर्ने, युवाहरु विदेशिनबाट रोक्ने, गाउँको उत्पादन गाउँमै खपत गर्न सक्ने गरी कार्ययोजना बनाएर सम्मेलनमा छलफल गरिने महासंघका अध्यक्ष प्रेमशंकर मर्दनियाले जानकारी दिए ।

निजी र सामुदायिक होमस्टे इकाइलाई महासंघको सदस्यको रुपमा आवद्ध गराउन सकिने व्यवस्था अनुसार नेपालका ६८ जिल्लाका १५ सय गाउँमा रहेका निजी र सामुदायिक होमस्टेहरु महासंघमा आवद्ध छन् । १५ सय गाउँका सात हजार घरमा होमस्टेहरु रहेका र ती होमस्टेमा एक रातमा २८ हजार बस्न सक्ने क्षमता रहेको जानकारी दिइयो ।

सम्मेलनमा मौलिक कला संस्कृति, खानपान, ज्ञान सिप, प्रविधि प्रदर्शनी, मिश्रित पराम्परामा आधारित साँस्कृतिक कार्यक्रम र देशैभरीका होमस्टे गाउँको पर्यटकीय प्रोडक्ट्सहरुका बारेमा जानकारी गराउने कार्यक्रम छ । होमस्टे सेवाले रोजगार र स्वरोजगारका माध्यमबाट ग्रामीण भेगको पर्यटन र आयआर्जनलाई टेवा दिएकाले यसको अलग्गै महत्व रहेको होमस्टे महासंघका अध्यक्ष एवम् अमलटारी होमस्टेका अध्यक्ष प्रेमशंकर मर्दनियाले जानकारी दिए ।

उनले सन् २०२४ मा भरतपुर भ्रमण वर्ष मनाउने तयारीमा रहेको भरतपुर महानगरपालिकाले समेत होमस्टे महासंघको राष्ट्रिय सम्मेलनलाई प्रचारप्रसारको एउटा अवसरको रुपमा लिन सक्ने बताए । माडीको पर्यटन प्रवद्र्धन र होमस्टेहरुको विकासमा सम्मेलन फलदायी सावित हुने महासंघका महासचिव चौधरीले बताए ।

 

https://ujyaalonepalnews.com/archives/31990

Previous articleनक्कली भुटानी शरणार्थी प्रकरण : थुनामुक्त हुन दर्ता गरिएको निवेदनमाथि सुनुवाइ स्थगित
Next articleमावि शिक्षक लाइसेन्सको नतिजा प्रकाशित, ५० प्रतिशत विद्यार्थी फेल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।